Tuesday, March 22, 2016

किरात राईहरुको तीन चुला, महत्व र मनोविज्ञान

हरेक किरात राईहरुको घरमा तीनवटा ढुङ्गा ठड्याएर चुला निर्माण गरिएको हुन्छ । यस्तो चुला निर्माण गर्नको लागि आवश्यकता अनुसार भुइँको सतहभन्दा केही इन्च गहिरो चारपाटे खाल्डो खनिन्छ । सो खाल्डोमा चुला गाड्न समानान्तर रुपमा अरु तीन खाल्डो खनिन्छ । जहाँ लगभग गोलाई मिलेको लामो ढुङ्गालाई गाडिन्छ । चुला बलियो बनाउनको लागि जमिन भित्र गाडिने भाग र बाहिर निस्कने भाग झण्डै बराबर गरिएको हुन्छ । तीनैवटा चुलालाई छेकेर खाल्डोको वरिपरि च्याप्टो प्रकारको अरु ढुङ्गा पनि गाडिन्छ । चुलाको वरिपरि गाडिएको ढुङ्गाको उचाई भने भुइँको सतह बराबर वा थोरै माथि हुन्छ ।

किरात राईहरुको घरमा हुने यस्तो चुलालाई झट्ट हेर्दा खाना पकाउनको लागि प्रयोग गरिएको देखिनाले यसको प्रयोजन पकाउनकै लागि हो भन्ने लाग्नु अस्वभाविक होइन । हुन पनि हो पहिला-पहिला अधिकांस किरात राईहरुको घरमा यस्तै चुलामा खानेकुरा पाक्ने गर्दथ्यो (आजकाल गाउँघरमा खाना पकाउनको लागि बढी मात्रमा सुधारिएको चुला प्रयोग गरिन्छ) । त्यसबाहेक उधैली-उभौलीमा धामीले चुलामा जाँड खन्याएको र कुखुरा काटेको सायद किरातीभूमिका इतर समुदायले देखेको हुनुपर्छ । यी त चुलासँग जोडिएका बाहिरी आवरण मात्र हुन् । हरेक किरात राईसँग चुलाको गहिरो संस्कृति र मनोविज्ञान जोडिएको छ । त्यसबारे केही चर्चा गर्न गैरहेको छु ।

किरात राईहरुको घरमा चुला त्यतिकै गाडिन्दैन । घरमा वा अन्यत्र कहिँकतै केही प्रयोजनको लागि चुला गाड्नै परे माथी भने जसरी गाड्न हुँदैन । किनकि किरात राईहरुको मान्यता अनुसार चुला गाड्नु भनेको नयाँ घर बसाउनु वा भैरहेको घरमा नयाँ उत्तराधिकारी नियुक्ति गर्नु हो ।
अधिकांस किरात राईहरुको घरमा हुने मूलचुला कसै न कसैको नाममा गाडिएको हुन्छ । मूलचुला प्रायः बाबुको नाममा हुने गर्छ । बाबु हुँदै छोराहरु छिट्टिएर अलगअलग भएको खण्डमा छोराहरुले आ-आफ्नो नाममा चुला गाड्न सक्छन् । तर छोराहरुले चुला आफ्नो नाममा नगाड्दै बाबुको मृत्यु भएमा बाबुको नामको चुला उखेलेर जेठा छोराको नाममा गाड्ने गरिन्छ ।

यदि मृतकको छोरा छैन तर श्रीमती ज्यूँदै छिन् भने श्रीमानको नामको चुला उखेलेर श्रीमतिको नाममा गाड्ने गरिन्छ । छोरा छैन तर छोरीहरु अविवाहित छन् भने श्रीमान्-श्रीमति दुवै जनाको मृत्युपछि मृतकको नामको चुला उखेलेर उमेर अनुसार सबैभन्दा ठूलो छोरीको नाममा गाड्ने चलन छ । तर आफ्नो नाममा चुला भएको छोरीचेलीको बिवाहपछि भने त्यो चुला विधिपूर्वक उखेलेर फालिन्छ । यदि मृतकको छोरा र अविवाहित छोरीहरु छैनन् भने विधिपूर्वक उखेर फालिन्छ, फेरि कसैको नाममा गाडिन्दैन ।

चुला गाड्ने/उखेलेर फल्ने माथी उल्लेखित नियमहरुलाई हेरेर भन्न सकिन्छ कि, नयाँ चुला गाड्नु भनेको नयाँ घर बसाउनु र नयाँ उत्तराधिकारी नियुक्ति गर्नु हो । र, कसैको नामको चुला उखेलेर फाल्नु भनेको मृत्यु हुनु वा अर्को पाछा/सामै (थर/गोत्र) मा समाहित हुन जानू हो (किरात राई समुदायका केटीहरु विवाहपछि अर्को सामै/पाछामा समाहित हुन्छन्) ।

माथी नै भनियो कि, कुनै पनि किरात राईहरुको घरमा चुला गाड्दा ब्यक्तिको नाममा गाडिन्छ । जो ब्यक्तिको नाममा चुला गाडिने हो, अब उसको चुला नाम नयाँ जुराउनु पर्छ । ब्यक्तिको चुलानाम राख्ने काम नछुङ (धामी) को हुन्छ । चुलानामलाई चाम्लिङ भाषामा "मिच्नुङ" भनिन्छ । घरमा हुने सबै शुभ वा अशुभ कार्यहरु गर्दा चुलालाई साँक्षी राखेर गर्नुपर्छ । घरमा नयाँ बुहारी भित्र्याउँदा चुलामा लगाउनुपर्छ भने छोरी-चेलीको बिवाह गरेर पठाउँदा चुलाबाट निकाल्नुपर्छ । घर परिवारमा कुनै सदस्यको मृत्युु भएमा विधिपूर्वक उसलाई चुलाबाट निकालेर बाटो लगाउनुपर्छ । घरमा हुने चिन्ता (धामी बसेर कुलपित्रीको बल माग्ने काम) चुलालाई नै साँक्षी राखेर गरिन्छ । यतिसम्म कि देश-परदेशबाट कमाएर ल्याएको सम्पत्ति चुलालाई नदेखाई (बिधिसम्मत तरिकाले) घरमा हुल्नु हुँदैन । यदि गलत ढंगले सम्पत्ती आर्जन गरेर घरमा भित्र्याइयो भने त्यो सम्पत्तिले पिर्छ भन्ने मनोविज्ञान किरात राईहरुमा छ । किरात राईहरुमा कसम खाँदा प्रायः चुला छोएर नै कसम खाने/ख्वाउने चलन छ भने चुलालाई लत्याउन र त्यता फर्किएर थुक्नु हुँदैन भन्ने मान्यता पनि छ। अचानक चुला भाँचिए/हल्लिए त्यसको संकेत राम्रो होइन भन्ने मनोविज्ञान किरात राईहरुमा विद्यमान छ । यसर्थ किरात राईहरुमा विधमान संस्कृतीको केन्द्रविन्दु भनेको नै चुला हो । चुलाकै केन्द्रबिन्दुमा सम्पूर्ण संस्कार, संस्कृति र मनोविज्ञान निर्माण भएको देखिन्छ । चुलाले नै परिवार सञ्चालन गर्न र ब्यक्तिलाई अनुशासनमा रहन उत्प्रेरित गरिरहेको हुन्छ । चुला नभएसम्म किरात राईहरुको घरमा साँस्कृतिक-संस्कारजन्य कार्यहरु गर्न असम्भव छ । त्यसैले भन्न सकिन्छ, चुला नभएकाहरु किरात राई हुँदैनन् ।

No comments:

Post a Comment