Tuesday, March 22, 2016

नारथुङ्छा पाछा बारे एक चर्चा

किरात चाम्लिङ राईहरुको पाछा (थर) कतिवटा छन् र ती के के हुन् भन्ने कुरा अहिलेसम्म ठ्याक्कै भन्न सकिने अवस्था छैन । स्व. डा. स्वामी प्रपञ्नाचार्यदेखि एमाओवादी स्थायी समिति सदस्य गोपाल किरातीसम्म थुप्रै जनाले आफ्नो किताब/लेखमा चाम्लिङको पाछाहरु बारे उल्लेख भने गरेका छन् । तुलानात्मकरुपमा हेर्दा डा. प्रपन्नाचार्यले आफ्नो पुस्तक 'प्राचिन किरात इतिहास’ मा चाम्लिङ पाछाहरुको बारेमा बृहत खोजिगरेको देखिन्छ । प्रपन्नाचार्यले दुई सयभन्दा माथि चाम्लिङको पाछा टिपेका छन् । तर त्यो टिपाई यति भद्रगोल छ कि, एउटै पाछा दश ठाउँ दोहोरिएको भान हुन्छ । जस्तो कि "दाम्दीहोंछा", "दाम्दीहँछा", "दाम्दीहाङ्छा" अलगअलग पाछा होइन, उच्चारणको क्रममा थोरै फरक भएको मात्र हो । तर प्रपञ्नाचार्यले कुनै विश्लेषण नगरी अलगअलग पाछा भनेर लेखिदिएका छन्। डा. प्रपञ्नाचार्यले गरेको गल्तीमा गोपाल किरातीसम्म पनि तानिएका छन् । तर रमाईलो कुरो के भने एउटै पाछा धेरै पटक दोहोरिन्दा पनि मेरो पाछा नारथुङ्छा’ (नारथोंछा, नारथोंङछा) प्रपञ्नाचार्यदेखि गोपाल किरातीसम्मले छुटाएका छन् ।

विभिन्न भाषिक समूहमा बिभाजित किरात राईहरुले आफ्नो पहिलो पुस्ताको नाम 'भुसुरी’, वाछाप्पा’ र छोछाप्पा’लाई नै उल्लेख गरेको भेटिन्छ । सम्भवतः बसाइँसराईको क्रममा परिवारका साथ वर्तमान किरातभूमिमा आइपुगेका पहिलो पुस्ता हुन् 'भुसुरी’, वाछाप्पा’ र छोछाप्पा’ । "भुसुरी" का सन्तानहरु बर्तमान किरात चाम्लिङ राईहरु हुन् भन्ने बिश्वास गरिएको छ । त्यही भएर बंशावली निकाल्ने किरात चाम्लिङ राई भित्रका हरेक पाछाले "भुसुरी" लाई नै पहिलो पूर्खा भनेर उल्लेख गरेको भेटिन्छ ।

किरात चाम्लिङ राईहरुमा कुलकुटुम्ब छुट्टाउने तीन आधारहरु छन् । त्यो हो-"बोब्बी/बब्बी", "सामै/सामय" र "पाछा" । बोब्बीले बसिरहेको वा बसाइँ सर्दै आएको स्थान बारे संकेत गर्छ । जस्तो 'भुस्सिम’, 'राथोँ’, 'होर्लुङ' जस्ता विभिन्न "बोब्बी’ किरात चाम्लिङहरुमा विद्यमान छ ।

'पाछा’ भनेको थर हो । एउटै पाछामा विवाहवारी चल्दैन भने मरौपरौमा छाकजुठो लाग्छ । एकै बाबुको सन्तानहरु पुस्तान्तर हुँदै गएपछि कालान्तरमा ठूलो आकार लिन्छ । त्यसले विवाह आदिमा समस्या ल्याउँछ । त्यसैले उसैबेला पूर्खाहरुले सात पुस्तापछि 'पाछा’ फुटाउने र नफुटाए आठौं पुस्तामा गएपछि पुनः हाडनाता जोडिने नियम बनाएको देखिन्छ । यही नियममा टेकेर धेरै पाछाहरु फुटेको र कतिपय पाछाहरु जस्ताको तस्तै पनि रहेको भेटिन्छ । किरात चाम्लिङ राई भाषामा 'पा’ अर्थात 'पापा’ भनेको 'बाउ’ र 'छा’ भनेको सन्तान वा छोराछोरी हो । पाछाको खास अर्थ फलना नाम गरेको पूर्खाको सन्तानहरु भन्ने नै हो । अतः पाछाको नामाकरण पनि कुनै पूर्खाको नामबाटै भएको हुन्छ । जस्तो 'नारथुङ्’ नाम गरेका पूर्खाको सन्तानहरु नै 'नारथुङ्छा’ हरु हुन् ।

हरेक पाछाको आफ्नै 'सामै’ हुन्छ । 'सामै’ पनि पूर्खाहरुसँगै जोडिन्छ । तर पाछा कुनै एक पूर्खाको नामबाट नामाकरण गरिएको हुन्छ भने सामैमा दुई वा दुईभन्दा बढि पूर्खाको नामहरु जोडिएका हुन्छन् । त्यसैले 'सामै’ को नामाकरण गर्ने आधार ठ्याक्कै के थियो/हो भन्नेकुरा खुट्याउन गाह्रो भैरहेको छ । मेरो बुझाई के हो भने, अहिले कुनै पनि लिखतहरुमा तीनपुस्ते लेखाए जस्तै पाछा फुटाउने पूर्खाको तीन पुस्ते (दुई, चार, पाँच पनि हुन सक्छ) नै 'सामै’ हो । जस्तो कि, नारथुङ्छाहरुको 'सामै’-"भुसुरी लिम्तिम्बो दालाबुङ" हो । यसलाई हेर्दा 'नारथुङ’ नाम गरेका पुर्खाको बराजु-बाजे-बाबुको नाम क्रमशः भुसुरी, लिम्तिम्बो, दालाबुङ थिए भन्न सकिन्छ । त्यसैले 'नारथुङ’ को सन्तानले पाछा फुटाउँदा 'सामै’-"भुसुरी लिम्तिम्बो दालाबुङ" हुन पुग्यो ।

***नारथुङ्छा बारे***
माथि नै भनियो डा. स्वामी प्रपञ्नाचार्यदेखि गोपाल किरातीसम्मले खोजेको चाम्लिङ पाछाहरुमा 'नारथुङ्छा’ भेटिन्दैन । वहाँहरुले नारथुङ्छाप्रति कुनै पूर्वाग्रह पालेर लेखमा छुटाउनु भएको होईन, पाछाको नामै नसुनेको कारणले हो । पाछाको नाम नसुन्नुको पछाडि यस पाछाका मानिसहरु कम हुनुको संकेत पनि हो । साँच्चै भन्ने हो भने मूल थलोमा नारथुङ्छाहरु सिमित मात्र छन् । हिसाबै गर्ने हो भने मूल थलोमा हाल जम्माजम्मी ६ घरपरिवार मात्र नारथुङ्छाहरु छन् भन्दा फरक पर्दैन । यति थोरै संख्यामा नारथुङ्छाहरु हुनुले कतै अरु पाछाबाट भरखरै फुटेर बनेको त हैन भन्ने पनि लाग्छ । तर नारथुङ्छा भरखरै बनेको पाछा नभई किरात चाम्लिङ राईहरुमा भएको सबैभन्दा पूरानो पाछाहरुमा पर्छ ।

नयाँ र पुरानो पाछा छुट्टाउने आधार भनेको पनि 'सामै’ नै हो । माथि नै भनिएको छ कि, किरात चाम्लिङ राईले आफ्नो पहिलो पुस्ता भुसुरीलाई मान्ने गर्छन्। 'नारथुङ’ नाम गरेको पूर्खाका सन्तानहरु पाछा फुटाएर 'नारथुङ्छा’ बन्दा सामै’-"भुसुरी लिम्तिम्बो दालाबुङ" हुन पुग्यो । यसले यो संकेत गर्छ कि, किरातभूमिमा आईपुगेका चाम्लिङ राईहरुको पहिलो पूर्खा भुसुरीको छोरा लिम्तिम्बो, लिम्तिम्बोको छोरा दालाबुङ र दालाबुङको छोरा नारथुङका सन्तानहरु नै अहिलेका नारथुङ्छाहरु हुन् । तर पाछा फुटाउन ७ पुस्तापछि मात्र मिल्ने हुँदा नारथुङ्को सन्तानले पनि सातौं पुस्ता पछि मात्र पाछा फुटाएका थिए भन्न सकिन्छ । अर्थात भुसुरी, लिम्तिम्बो, दालाबुङ र नारथुङ पछिको ६ पुस्तापछि नारथुङ्छा पाछा बन्यो । भुसुरीबाट हिसाब गर्दा १० औं पुस्तापछि नारथुङ्छा पाछा बनेको देखिन्छ । प्रत्येक पुस्तालाई सालाखाला ५० बर्षको आयू दिंदा र अन्तिम तीन पुस्ता ज्यूँदै हुँदा पाछा बनेको कुरालाई मान्ने हो भने भुसुरीले वर्तमान किरातभूमि टेकेको ३५० बर्षपछि मात्र नारथुङ्छा पाछा बनेको हो भन्न सकिन्छ ।

सामै’ को अगाडि 'भुसुरी’ उल्लेख गरिएका अन्य थुप्रै पाछाहरु छन् किरात चाम्लिङ राई भित्र । कुनै कुनै पाछाले 'बुसुरी' 'बुसिरी' वा 'बुसुरु’ समेत लेखेको र भनेको देखिन्छ । तर 'भुसुरी’, 'बुसुरी’, 'बुसिरी' 'वा बुसुरु’ अलगअलग ब्यक्ति होईन भन्ने पंक्तिकारको दावी छ । एक ठाउँबाट अर्को ठाउँमा जाँदा उच्चारणमा थोरै बदलाव मात्रै आएको हो । एउटा चाम्लिङ गाउँ र अर्को चाम्लिङ गाउँ बीचमा भेटिने भाषिक असमानता जस्तै मात्र भएको हो । यसर्थ सामैमा भुसुरी, बुसुरी, बुसिरी वा बुसुरु आदि भेटिए ती पाछाहरु सबैभन्दा पुराना पाछाहरु हुन् । यसर्थ नारथुङ्छा पनि पुरानै पाछा भित्र पर्छ ।

कहाँ छन् नारथुङ्छाहरु
मूल थलो नछोडेका नारथुङ्छाहरु हाल खोटाङ जिल्लाको इन्द्राणीपोखरी र सिम्पानी गाविसमा मात्रै छन् । तर यस ठाउँबाट बसाइँ सरेर गएकाहरुमा उदयपुरको बेल्टार, सुनसरीको चक्रघट्टी, मोरङको पथरी र राजधानीमा समेत छन् । तर धेरै पहिला खोटाङको मूल थलोबाट पूर्व लागेकाहरु भने पाँचथरको च्याङथापुमा असी घरभन्दा बढि फैलिएर बसेका छन् भने च्याङथापुबाट झापा, सुनसरी, मोरङ र राजधानीसम्म फैलिएका छन् । यस पाछाको नाम लेख्दा वा उच्चारण गर्दा ‘नारथुङ्छा’ हुनुपर्ने पंक्तिकारको तर्क छ र यसरी नै लेखिरेको छु पनि । तर अरुले भन्दा 'नारथोंछा’, 'नारथोङ्छा’ समेत सुनिने गर्छ । तर माथि भनिए जस्तै उच्चारण गर्दा सामान्य फरक सुनिएको मात्र हो, अलगअलग पाछा भने होइन ।

1 comment: