Tuesday, March 22, 2016

सन्दर्भ माष्टर गड एञ्जलको : क्राइष्टको नक्कल कि मौलिकता ?

आधुनिक इसाई मतको जन्मदाता क्राइष्टको जन्म बारे अतिरञ्जित धारणा भेटिन्छ, जुन धारणा पश्चिमा जगतले नै हाल स्वीकार गर्दैन । उनको बाल्यकाल र अध्ययन बारे इसाई ग्रन्थहरु बोल्दैनन् । सबैभन्दा प्रमुख, मृत्युलाई मान्छन् उनको फलोअर्सहरु । तर मृत्युपछिको अवस्था फेरि अतिरञ्जित बनाईएको छ । जसलाई स्वीकार गर्न आधुनिक इसाईहरु नै तयार छैनन् ।

उसबेला अध्यात्मको केन्द्र भारतबर्ष थियो । जहाँ बेद, पुराण, रामायण, महाभारत लगायत ग्रन्थहरु लेखिसकिएका थिए । बौद्ध दर्शन देश-देशान्तर फैलिरहेको थियो । भनिन्छ, क्राइष्टलाई बाल्यकालमै इन्डिया ल्याईयो र आध्यात्मिक माहौलमा हुर्काईयो । क्राइस्टले हिन्दु भित्रको विभिन्न मत र बौद्ध दर्शनको गहिरो अध्ययन गरे । त्यसपछि आफ्नै जन्म स्थल फर्केर पश्चिमी र पूर्विय दर्शनको संयोजन गरि इसाई मतलाई अगाडि बढाए ।

निश्चितरुपमा नयाँ मान्यताको आगमनसँगै पुरानो मान्यता ध्वस्त हुन थाल्छ । त्यसबेला पुरानो मान्यताप्रति आस्थावानहरुले नयाँ मान्यता बिरुद्ध आक्रमण गर्नु अस्वभाविक होइन । क्राइष्टको जीवनमा पनि त्यही भयो । अन्ततः क्रुसमा टाँगिएर मारिनु पर्यो । क्राइष्ट क्रुसमा टाँगिएर मारिएको तीन दिनपछि ब्यूँतिएर केही दिन पृथ्वीमा बसी स्वर्ग फर्किएको कथा बाइबलमा पढ्न पाइन्छ । तर यहि कथालाई हुबहु मान्न आधुनिक इसाईहरु तयार छैनन् । उनीहरु नै भन्छन्-आफूले चलाएको मान्यतालाई व्यापक बनाउनको लागि क्राइष्ट बिरोधीहरुद्वारा मारिनु अनिवार्य थियो । जसरी करिब चार सय बर्ष अगाडि सुकरातलाई हेमलक बिष पिलाएर मारिएपछि उनको लोकप्रियता अझ बढेको थियो, क्राइष्टले त्यही बाटो रोजेका थिए । आफ्ना निकटका मानिसहरुद्वारा बिपक्षीहरुलाई उद्वेलित बनाएर क्रुसमा टाँग्न लगाईएको थियो । र, पछि निकटकाहरु बाटै सारा मानिसको दु:ख हरण गर्नको निम्ति क्राइष्ट क्रुसमा टाँगिनु भो भनेर प्रचार गरियो ।

प्रशंग मास्टर गड एञ्जलको
उदयपुर जिल्ला मैनामैनी गाविस वडा नं २ मा बि.सं. २०३७ चैत्र १७ गते जन्मिएका भक्तकुमार राई नै अहिलेका माष्टर गड एञ्जल हुन् । उनले प्रवचन र अन्तर्वार्ताहरु दिने क्रममा बाल्यकालमा आफ्नो नाम राखिएको थिएन भन्दै आएका छन् । उनी भन्छन्-नाम राख्ने दिन हावा-हुण्डरी आएर न्वारानको कार्य बिथोलिएकोले बाबू-आमाले नाम राख्न पाएनन् । तर बच्चैदेखि उनका आफन्त र साथीहरु उनलाई भक्तकुमार राईकै नामले चिन्थे/बोलाउँथे ।

उनी आफैले धेरै ठाउँमा भनेका छन्-मैले औपचारिकरुपमा पढेकै छैन । तर उनकै चेलाहरु भन्छन्, गुरु हजुरले तीनसम्म पढेर छोड्नु भएको हो । तर पूर्वाञ्चलका ख्यातिप्राप्त पत्रकार एवं राजनीतिक विश्लेषक भवानी बराल भन्छन्-उनी सम्पादक रहेको पत्रीकामा जागीर खाएका भक्तकुमार राईले एस.एल.सी. को प्रमाणपत्र पेश गरेका थिए ।

सायद २०६१ सालतिर हुनुपर्छ, उसबेला उनी बाल तपस्वी ओम नन्दको नामले चिनिन्थे । पोखराको दीपेन्द्र सभागृहमा उनको कार्यक्रम थियो । म त्यसबेला किरात सेवा समाज कास्कीको सचिव थिएँ । मलाई काठमाण्डौबाट किरात राई यायोक्खाका तात्कालिन महासचिव राजवहादुर राईले फोन गरेर उनको कार्यक्रममा गए पनि पोखरेली किरातीहरुलाई उनको पछि लाग्नबाट सजग गराउन अनुरोध गर्नु भएको थियो । त्यसबेलासम्म किरात दर्शनकै मान्यतामा ओमनन्द छ्न् भन्ने मेरो बुझाई थियो । पूर्वका नाम चलेका पोखरीको बीचमा पौडदै गएर लिङ्गो गाडेको हल्लाहरु प्रशस्त सुनेको थिएँ । धेरैले उनलाई फाल्गुनन्दको अवतार हुन् पनि भन्थे । उसबेला राजबहादुर राईले भन्नू भएको कुरो अझै पनि सम्झिरहेको छु-"ती भक्तकुमार राई भन्ने भाइ हुन्, पहिला किरात राई विद्यार्थी संघमा काम गर्थे । पछि किरात वर्कस पार्टीमा लागेका थिए । पार्टी छोडेर अहिले ओमनन्द भएका हुन् ।" राजवहादुर राईको कुरालाई आधार मानेर पनि भन्न सकिन्छ उनले मा.वि. वा त्यसभन्दा पनि माथिको शिक्षा लिएका हुन् ।

उनले आफूलाई शुरुमा बालतपस्वीको रुपमा चिनाए पनि धरानमा उनलाई चिन्नेहरु धेरै छन् । आफूहरुले निकाल्ने बिजयपुर साप्ताहिक पत्रीका बेच्ने काम भक्तकुमार राईले गरेका थिए भनेर अहिले पनि भवानी बरालले भन्दै आएका छन् । पूर्वकै अर्का चर्चित पत्रकार राजकुमार दिक्पालले आफूहरुले निकाल्ने न्यूज टाइम्स पत्रीका दुई-तीन सय थान भक्तकुमार राईले लिएर जान्थे भनेर समाजिक सञ्जालमै लेख्नु भएको छ । दिक्पालको अनुसार त्यो समय ०५३-५४ सालतिरको हो । जतिबेला अहिलेका एमाओबादी स्थायी समिती सदस्य गोपाल किरातीको लेख उक्त पत्रीकामा छपिन्थ्यो, भक्तकुमार राईले त्यो पत्रीका लानुको कारण गोपाल किराती कै लेख भएकोले हो भन्ने भनाई पत्रकार राजकुमार दिक्पालको छ। तर त्यो पत्रीका भक्तले कहाँ लान्थे भन्ने कुरोचाहिँ थाहा नभएको वहाँले प्रष्ट्याउनु भएको छ ।

भक्तकुमार राई, तात्कालिन किरात वर्कस पार्टी (पहिला खम्बूवान राष्ट्रिय मोर्चा) का कार्यकर्ता थिए भन्नेकुरो कतै छिपेको छैन । तात्कालिक किरात वर्कस पार्टीका प्रमुख गोपाल किरातीले सामाजिक सञ्जालमै त्यो कुराको पुष्टि गर्नु भएको छ । अझ किरातीले त भक्तकुमार राईलाई पैशा अपचलन गरेको भनेर आरोप समेत लगाउनु भएको छ । पत्रकार राजकुमार दिक्पालको अनुसार एमाले-माले हुँदै जनयुद्धकालमा माओबादी भएका धनवहादुर लिम्बू र भक्तकुमार राई मिलेर २०५९ सालतिर एक धार्मिक संस्था खोलेको र त्यसको अध्यक्ष भक्तकुमारलाई बनाएको बताउनु हुन्छ । केही समयपछि धनवहादुर लिम्बूले भक्तकुमार राईलाई हटाएको कुरो दिक्पालले सामाजिक सञ्जालमै उल्लेख गर्नु भएको छ ।

यसप्रकार नाम, अध्ययन र बाल्य-किसोरकालको बारेमा हाल भक्तकुमार राई उर्फ माष्टर गड एञ्जलले भन्दै आएको कुरो सरासर झुट देखिन्छ । जसरी क्राइष्टको जन्मलाई भ्रामक बनाइयो, बाल्य-किशोरकाल र अध्ययनलाई लुकाईयो, त्यही मनोविज्ञानले भक्तकुमार राई उर्फ माष्टर गड एञ्जललाई आफ्नो बिगत लुकाउन उत्प्रेरित गरिरहेको छ । र, क्राइस्टबाटै प्रभावित भएर आफूलाई कसैले हत्या गर्ने भविश्यवाणी सुनाईरहेका छन् ।
रत्नाकर डाकु वाल्मी
कि बने, रुखको टुप्पोमा बसेर फेद काट्ने कालिदास महाकवि बने भने हिजो विभिन्न ठाउँमा संलग्न हुँदै, छोड्दै गरेका भक्तकुमार राई किन, मास्टर गड एञ्जल हुन सक्दैनन् ? तर मास्टर गड एञ्जल हुनको लागि बिगतलाई अतिरञ्जित गर्नै पर्छ र ? भक्तकुमार राई उर्फ मास्टर गड एञ्जल र उनका प्रिय भक्तजनहरुले एक पटक बिचार गर्ने कि ?

No comments:

Post a Comment