Tuesday, March 22, 2016

शिव र पार्वती, पारुहाङ र सुम्निमा हुन् भन्ने भ्रम बारे

यस बर्षको स्वस्थानी व्रत सकिएको छ । नेपालका हिन्दु नारीहरुमा स्वस्थानीको ठूलो महत्व छ । खासगरी ग्रामिण भेगका हिन्दु नारीहरु एक महिनासम्म स्वस्थानीको व्रत बस्ने र हरेक दिन कथा श्रवण गर्ने गर्दछन् ।
स्वस्थानी व्रत कथाले शिव र पार्वतीको प्रेम सम्बन्धलाई केन्द्रमा राखेको छ । शिवलाई पति पाउनको निम्ति पार्वतीले गरेको त्याग- तपस्याको वर्णन र महादेवप्रति ऋषि पत्नीहरुको आकर्षण, जालान्धरसँग बिष्णुको युद्ध, "शिव ब्रम्हाण" को छलबाट आठ बर्षकी बालिका "गोमा" ले पाएको दु:ख, उनको छोरा "नवराज" ले प्राप्त गरेको लावण्य देशको राज्य, उनकी स्त्रीले स्वस्थानीको प्रसादलाई थु थु गर्दा आइलागेको विपद, बिछोडिएका "नाग-नगेनी" को पुनर्मिलन आदि जस्ता प्रशंगहरुले कथालाई रोचक बनाएको छ ।
स्वस्थानिको व्रत बस्दा र कथा सुन्दा मनोकामना पूरा हुने बिश्वास हिन्दुहरुमा छ । अविवाहिता हिन्दु नारीहरुले शिव जस्तै पति पाउन र विवाहिताहरुले पतिको दीर्घ जीवनको कामना गर्दै स्वस्थानीको व्रत बस्ने गर्दछन् ।

यहाँ स्वस्थानीको सम्पूर्ण कथा होइन किरातसँग जोडिएको प्रशंग बारे थोरै विमर्श गर्न गैरहेको छु । विमर्श गर्न यसकारण आवश्यक छ कि, किरातीहरुले आदिपूर्खाको रुपमा मान्ने पारुहाङ र सुम्निमा भनेकै शिव र पार्वती हुन् भन्ने एकप्रकारको भ्रम समाजमा छरिएको छ । स्वस्थानी व्रत कथाको प्रामाणिकता बारे बेग्लै बहस गर्न सकिन्छ तर यहाँ यही कथामै टेकेर शिव-पार्वती, पारुहाङ-सुम्निमा हुन् कि होइनन् भन्ने कुरामा केही विमर्श गरौं ।

स्वस्थानी व्रत कथा अनुसार लामो समयसम्म कैलासमा महादेव न आएपछि पार्वतीले ध्यान दृष्टीले हेर्दा महादेव त किरातीको भेष धारण गरेर किरातीहरुसँगै घुमिरहेको देख्छिन् तब पार्वती पनि किराती महिलाको भेषमा महादेव नजिक पुग्छन् । त्यो कुरा महादेवले थाहा पाउँछ । त्यसपछि दुवै जना किरातीकै भेषमा आनन्द लुट्दै केही समय ब्यथित गर्छन् र अन्ततः कैलास फर्कन्छन् ।

स्वस्थानी व्रत कथा अनुसार महादेव र पार्वतीले किरातीको भेष धारण गरेका हुन् अर्थात सक्कली होइन नक्कली किराती बनेका हुन् । कथाले नै सिधै भन्छ शिव र पार्वती किराती थिएनन् । अब बाँकी रह्यो नक्कल गरेको कुरा । नक्कल गर्नको लागि त्यो वस्तु वा ब्यक्ती अस्थित्वमा हुनैपर्छ । अर्थात किरातीहरु थिए र न शिव र पार्वतीले नक्कल गरेर किराती जस्तो बने । यसर्थ स्वस्थानी कथालाई सही नै मान्ने हो भने शिव-पार्वती कालभन्दा अगाडि बाटै यो धर्तिमा किरातीहरुको अस्थित्व थियो । अब किरातीहरुले सृष्टि कर्ता मानेका पारुहाङ र सुम्निमा कसरी शिव र पार्वती हुन सक्छन् ?

किराती मिथकहरुको खण्डन होला त्यो बेग्लै कुरो हो तर किराती दर्शन अनुसार पारुहाङ र सुम्निमा कुनै अलौकिक शक्ति होइनन् । पारुहाङ आकाश र सुम्निमा धर्तिको प्रतीक हुन् । आकाश र धर्तिको मेलपछि मात्रै पृथ्वीमा जीवन सम्भव भएको हो । त्यसैले पारुहाङ-सुम्निमालाई आफ्नो आदि पूर्खा मान्ने गर्छन् किरातीहरु ।
आस्थाहरु आ-आफ्नै हुन्छन् । आस्थाहरुसँग ती समुदायको जीवन दर्शन जोडिएको हुन्छ । त्यसले ती समुदायका ब्यक्तिहरुको स्वभाव लगायत अन्य कुराहरुमा पनि प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । जस्तो प्रकृतिप्रति सधैं कृतज्ञ रहने किरातीहरु रुख काट्दा चोट लाउनु अगाडि रुखलाई ढोग्ने गर्छन् र रुख ढली सकेपछि फेदमा माटो लगाउने गर्छन् । ढलेको रुखको फेदमा माटो लगाउँदा पुनः रुखका बिरुवा पलाउँछ भन्ने मनोविज्ञान किरातीहरुमा छ ।

हिन्दु समाजमा किरातेश्वर महादेवको महत्व छ । किरातेश्वर महादेव भनेको किरातीको रुप लिएका महादेव हुन्, किराती महादेव होइनन् । यसर्थ पारुहाङ र सुम्निमाको बारेमा हिन्दु समाज अलिक प्रष्ट हुने कि ?
(नोट: महाभारत अन्तर्गको किराताअर्जुनीयमा समेत शिवले किरातीको भेष धारण गरेर अर्जुनसँग युद्ध गरेको प्रशंग छ । अर्जुनसँग युद्ध गर्ने किराती नभै किरातको भेषमा बदलिएका शिव हुन्)
विश्राम : किरातेश्वर माहादेवको पूजा/नमन गर्नु भनेको किरातको रुप धारण गरेको शीवको पूजा/नमन गर्नु हो,,,,किरातीको होइन ।

No comments:

Post a Comment