Tuesday, March 22, 2016

गुँराशको सौन्दर्य र उत्तिसको आत्महत्या

बर्षको डल्लै दस महिना
भुँडी भ्यात्त फुलाएर
ढाड कुचुक्क कुप्राएर...
बीचैमा ठनक्क भाँचिएको दाउरे हातलाई
बनतरुलको लहराले बेह्रेर फनफनी
गलगाँड झुण्डिएको गलामा अड्याएर
अड्बाङ्गे नलिखुट्टा भरि उमारेर झ्याउ
कहिले सर्वाङ्ग नाङ्गै
कहिले ओढेर तुसारोको खास्टो
कहिले छोपेर बादलले मुख
माथि माथि लेकाली पाखामा उभिएको
कुरुप गुराँसको बोट यतिबेला
बैंसले धपक्कै बलेको छ ।

सायद त्यो घमण्डी उत्तिसले
सम्झेर बिगतको आफ्नो गल्ती
र, देखेर गुराँसको भर्जिन सौन्दर्य
गुराँसे पाखै मुन्तिरको पहिरोमा हाम फाली
आत्महत्या गरिसकेको हुनुपर्छ ।

No comments:

Post a Comment