Tuesday, March 22, 2016

रामप्रसाद राईको चिहानसँग डराई रहेका नेपाली शाषकहरु

२००७ सालको क्रान्तिमा संलग्न भएकाहरु मध्ये कसैलाई जननायक नै मान्नुपर्छ भने ती निर्विवाद ब्यक्ती हुन् रामप्रसाद राई । तर तिनै महान योद्धा राज्यद्वारा षड्यन्त्रपूर्वक मारिएर गुमनाम बनाइए ।
नारदमुनी थुलुङसँग मिलेर भोजपुरबाट स्वतस्फूर्त राणाविरोधी अभियान थाल्ने रामप्रसाद राईको कमाण्डमा रहेको मुक्ती सेनाले पूर्वी पहाडका अधिकांस भू-भाग कब्जा गरिसकेपछि काठमाण्डौमा आक्रमण गर्ने अन्तिम तयारी गरिरहँदा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको चलाकीपूर्ण कदमबाट धोकापूर्ण दिल्ली सम्झौता हुन गयो । जसको कारण पूर्ण प्रजातन्त्र प्राप्त गर्ने र स्वतन्त्र देशको सार्वभौम नागरिक भएर बाँच्ने रामप्रसाद राईको सपना तुहियो ।

नेपाली काँग्रेसको नेतृत्वमा बिरगञ्ज माथि हमला हुँदा मुक्तिसेना प्रमुख थिरबम मल्ल मारिए र मुक्तिसेनाले बिरगञ्ज कब्जा गर्न सकेनन् । मुस्किलले दोश्रो पटकको आक्रमणमा बिरगञ्ज कब्जा भयो । केही समयपछि बिराटनगर कब्जा गर्नु भन्दा अर्को सफलता बिपीको नेतृत्वमा रहेको मुक्ती सेनाले पाएको इतिहास छैन । बरु कृष्णप्रसाद भट्टराईको नेतृत्वमा उदयपुर कब्जा हुँदा भोजपुरे मुक्तिसेनाको उल्लेखनीय सहयोग रहेको इतिहासमा सुरक्षित छ ।

भोजपुरमा रामप्रसाद राई र नारदमुनी थुलुङहरुले बिना रक्तपात राणाप्रशासनलाई कब्जा गरे । लगत्तै खोटाङ र दिंलाको छोटी अड्डा समेत कब्जा गरियो । भोजपुर कब्जा भएको सन्देश बोकेर र हतियार सहयोग माग्ने हेतुले केही भोजपुरे योद्धाहरु बिपीलाई भेट्न जोगबनी गएका थिए । तर बिपीले उनीहरुलाई रित्तो हात फर्काइदिए । नेपाली काँग्रेसको कुनै सहयोग नभए पनि भोजपुरे योद्धाहरु रोकिएनन् उनीहरुले पूर्व तर्फको धनकुटा, चैनपुर लगायतका अड्डाहरु कब्जा गरे भने पश्चिमतर्फको ऐसेलुखर्क, ओखलढुंगा, रामेछाप, चरिकोट, सिन्धुली कब्जा गर्दै काभ्रे र सिन्धुपाल्चोक आइपुग्दा धोकापूर्ण दिल्ली सम्झौता हुन पुग्यो
उसबेला काठमाण्डौका सर्वसाधरण मानिसहरु माझकिरातबाट डरलाग्दा मान्छे खाने किरातीहरु काठमाण्डौ हान्न आउँदैछ भनेर त्राहिमाम भएको प्रशंगहरु धेरै ठाउँमा पढ्न र सुन्न पाइन्छ। प्रसंग राम्रो होस् वा नराम्रो होस्, तर भोजपुरे योद्धाहरु प्रति राणाशासन कति त्रसित थिएछ भन्ने कुरो यसैबाट प्रमाणित हुन्छ । यदि २००७ साल फागुन ४ गते दिल्लीमा धोकापूर्ण सम्झौता नभएको हुन्थ्यो भने भोजपुरे मुक्ती योद्धाले काठमाण्डौ कब्जा गरेरै छोड्ने थिए । धोकापूर्ण दिल्ली सम्झौता स्वाभिमानी भोजपुरे योद्धाको लागि स्वीकार्य हुने कुरै भएन ।

२००७ साल फागुन ७ गते पछि पनि पश्चिममा डा. के आई सिहले संघर्ष जारी राखे । भोजपुरे योद्धाहरुमा पनि व्यापक असन्तुष्टी थियो । कुनै पनि बेला भोजपुरे योद्धाहरुले बिद्रोह गर्ने सम्भावना थियो । के. आई. सिंहलाई भारतीय सेना परिचालन गरेर पक्राउ गरियो भने रामप्रसाद राई लगायतलाई पनि षड्यन्त्रपूर्ण तरिकाले पक्राउ गरेर केन्द्रीय जेलमा राखियो । जेलमै डा. के. आई. सिंह र रामप्रसाद राई बीच चिनजान भयो र भित्र भित्रै बिद्रोह गर्ने तयारी थालियो । बिद्रोहको लागि डा. के. आई. सिंहका मानिसहरु राजधानीमा उपलब्ध थिएनन् तर धेरै भोजपुरे मुक्ति योद्धाहरु राजधानी मै थिए । तिनै भोजपुरे मुक्ती योद्धाहरुको सहायताले बिद्रोह गरियो । डा. के.आई. सिंह र रामप्रसाद राईलाई जेल मुक्त गराईयो भने सिंहदरबार कब्जा गरेर केही मन्त्रीहरुलाई बन्दी बनाइयो । तर आपसी बिवाद र मुक्तियोद्धा बीचमा गलत सूचना पुग्नुको कारण अन्तिम सफलता हात पर्न सकेन । सयौं मुक्तीसेनाहरु पक्राउ परेपछि डा. के. आई. सिंह र रामप्रसाद राई भाग्न बाध्य भए । सँगै भागेर हिंडेका डा. के. आई. सिंह चीनमा शरण लिन पुगे भने रामप्रसाद राईको अवस्था हालसम्म अज्ञात छ । कतिपयले रामप्रसाद राई मारिएको संका गरेका छन् । तर डा. के.आई. सिंहको भनाई अनुसार भाग्दै गर्दा चीनको सिमाना आसपास रोगले थलिएर मरेका हुन् । तर डा. के. आई. सिंहले भनेको कुरोमा बिश्वास गर्न सकिने आधार छैन । त्यत्रो बिद्रोह गरेर चीन भासिएको मान्छे केही बर्षपछि नै बोलाईएर देशको प्रधानमन्त्री बन्नु पक्कै चानचुने कुरो होइन । बरु डा. के. आई. सिंह कै षड्यन्त्रको कारण काठमाण्डौ बिद्रोह असफल भएको हो भन्नेहरुको भनाईमा केही दम भेटिन्छ । र, रामप्रसाद राई गायब बनाईनुमा डा. के. आई. सिंहको पनि हात थियो भन्ने तर्कमा आशंका गर्ने ठाउँ छ ।

आज तिनै महान योद्धा रामप्रसाद राईको १०८ औं स्मृती दिवस काठमाण्डौमा सम्पन्न भएको छ । स्मृती दिवसमा वहाँकी छोरी प्राध्यापक लक्ष्मी राईले एउटा तितो सत्य खुलासा गर्नु भएको छ । रामप्रसाद राईको इतिहास लेख्छु भनेर परिवारसँग सुरक्षित रहेको फोटो र दस्तावेजहरु लिएर गायब गर्ने बद्मासी विगतमा डा. के. आई. सिंहले गरेका रहेछन् । डा. के. आई. सिंहको यो बद्मासीबाट पनि माथि गरिएको आशंकामा थप बल मिल्छ । अर्थात तात्कालिन राज्य सत्ता र डा. के. आई. सिंहहरुकै मिलेमतोमा सिंहदरबार बिद्रोह असफल बनाईयो र रामप्रसाद राईलाई बेपत्ता पारियो । त्यसैले मेरो दस कक्षासम्मका हेड सर शिक्षाविद गणेश अधिकारीले भन्नू भए जस्तै रामप्रसाद राई नेपाली संस्करणका चे ग्वे भारा नै हुन् । जसको चिहानसँग नेपाली शाषकहरु अझै डराई रहेछन् । नत्र किन चिहान देखाउने हिम्मत गर्दैनन् ?

No comments:

Post a Comment