Thursday, August 27, 2015

प्रेमको तस्बिर नियालेपछि

गजल आयातीत बिधा हो । फारसी, उर्दु, हिन्दी हुँदै नेपाली भाषामा प्रवेश पाएको गजल अहिले नेपाली पन लिएर हुर्किरहेको छ । त्यसैले गजललाई अब आयातीत बिधा भनिरहनु पर्ने अवस्था छैन ।
गजल लेख्ने निश्चित सिद्धान्त छ । ती सिद्धान्तहरुलाई बेवास्ता गरेर गजल लेख्न सकिन्दैन, लेखिए पनि गजल हुँदैन । गजलको मुटु काफिया हो भने लय ढुकढुकी । जसरी परिस्थिति अनुसार मुटुको चाल ढिलो छिटो हुन्छ त्यसरी नै गजलको लय एकरुपको हुँदैन ।
तर गजलका महारथी ठान्ने केही बुज्रुकहरु मीर र गालिबले कुन बहरमा गजल लेखे त्यही बहरमा लेखिएको गजल नै गजल हो । म्हेदी हसन, गुलाम अली र जगजित सिंहले जुन प्रकारको गजल गाए त्यही प्रकारको मात्र गजल हो भन्ने नमिठो भ्रममा बाँची रहेका छन् । र, त्यही भ्रममा अल्झिएर आफूले लेखे बाहेक अरुले लेखेको गजल नै होइन भन्दै हिंडिरहेका छन् । यी शास्त्रीय मान्यता बोक्ने भिरुहरु कै कारण गजल लेख्न चाहने कतिपय नव सर्जकहरु गजलप्रति बितृष्णाको भाव ओकली रहेका छन् । स्वयं म पनि पछिल्लो क्रममा गजलबाट उति सन्तुष्ट हुन सकेको छैन । संग्रह निकाल्न पुग्दो गजलहरु लेखिसके पनि संग्रह निकाली हाल्ने उत्साह गायब छ ।
तर फेसबुकमा भेटिएर फेसबुकमै चिनिएकी बहिनी चन्द्रा चाम्लिङको भरखरै प्रकाशित गजल संग्रह "प्रेमको तस्बिर" को भने नजानिन्दो गरि पर्खाईमा थिएँ । साहित्यकार दिलिप राई 'सगर' ले चन्द्रा चाम्लिङ र उनको गजल संग्रह बारे सुनाउनु भएको प्रशंगले संग्रह भित्रको तस्बिर दिमागमा आई नै सकेको थियो, परन्तु त्यसको प्रत्यक्ष अनुभूति चाहान्थे । गत ९ अगस्टमा मलेसियाको जोहोरमा सम्पन्न विश्व आदिवासी दिवसको अवसरमा साहित्यकार मित्र राज आङ्देम्बे 'सहयात्री' को हातबाट "प्रेमको तस्बिर" प्राप्त गरिसकेपछि त्यो हुटहुटी मेटियो । तर "प्रेमको तस्बिर" का भित्री पेजहरुमा नजर डुलाई सकेपछि भने फेरि चुप रहन सकिन र लेख्ने बसें फेसबुकमा ।
"प्रेमको तस्बिर" सुन्दर, लयात्मक, प्रेमिल, कोमल र सम्भावना बोकेका गजलहरुको तस्बिर हो । जहाँ बढी मात्रमा प्रेमाशक्ति र समर्पणका भावहरु पोखिएका छन् भने बिछोडका पीडाहरु, धोकापछिको छट्पटी, निराशा, आक्रोश आदि पनि सघन रुपमा छरिएका छन् । देश, माटो र प्रकृतिप्रेमको आवाज मधुरो भए पनि सु-स्पष्ट छ । सबै गजलहरु लयवद्ध, नियमसँग बाँधिएका, शास्त्रीयताबाट मुक्त तर नयाँ सम्भावना खोज्न उन्मुख छन् ।
काफियाहरु पूर्ण, आँशिक र एकाक्षरी तीनै थरिका छन् । कुनै गजलमा लामो रदिफको प्रयोग भटिन्छ भने कुनै-कुनै गजल, बिना रदिफको पनि लेखिएका छन् । एउटा गजलमा प्रयुक्त "चन्द्रा चाम्लिङ" लाई रदिफ मात्र मान्ने हो भने तखल्लुसको प्रयोग कुनै पनि गजलमा भएको छैन । तखल्लुस आफैमा गजल लेखनको अनिवार्य सर्त भने होइन तर कतिपय सन्दर्भमा तखल्लुसको प्रयोगले गजलको स्वादमा बेग्लै मादकता भर्छ । "मिसरा ए उला" र "मिसरा ए सानी" को तालमेल प्रायः सबै गजलमा भेटिन्छन् । गजलहरु कुनै सास्त्रीय बहरमा नबाँधिए पनि लयचेत मज्बुत छ । भाव पक्ष स्वरै काल्पनिक नभै स्वभाविक लाग्छन् । शब्द छनौटलाई उत्कृष्ट नै भन्न नसकिए पनि नराम्रो भने छैन ।
केही-केही गजलमा बिचार बाझिएको भने अनुभूति गर्न सकिन्छ । खासगरी धर्म, भगवान, कलियूग जस्ता शब्दहरुको प्रयोगमा बैचारिक अडान प्रष्ट नभएको हो कि भन्ने लाग्छ । आफू र आफ्नो परिवेशलाई गज्जबसँग पकड्न सक्नु "गजल गो" को सफलता हो । मातृभाषामा लेखिएका केही गजलले झनै सुनमा सुगन्ध थपेको छ । त्यसैले भन्न सकिन्छ "प्रेमको तस्बिर" गजल गो चन्द्रा चाम्लिङको भविश्यको पनि तस्बिर हो । अब चन्द्राले बिसंगती, राजनीतिक चेत, साँस्कृतिक बिशिष्टता, ईतिहास, दर्शन आदितर्फ कलम चलाउनु पर्छ । शुभकामना चन्द्रा बहिनीलाई ।

No comments:

Post a Comment