Thursday, August 27, 2015

हिन्दु राज्यका लागि स्वतन्त्र राष्ट्रको धज्जी उडाउँदै


वाचन शिरोमणिको उपाधि पाएका स्व. पण्डित नारायण पोखरेल पुराण वाचन गर्ने साधरण पण्डित मात्र थिएनन्, उनी हिन्दु धर्मभित्रका गलत पक्षलाई सुधार्न चाहने सुधारक पनि थिए । उनले वाचन गर्ने पुराण त्यही थियो । कथा तिनै थिए तर शैली फरक थियो । र, फरक थियो उनले समाजलाई दिने सन्देश ।
उनी खुलेरै हिन्दु धर्मभित्रका गलत पक्षको खण्डन गर्थे । खासगरी जातीय छुवाछूतजस्ता अमानवीय संस्कारको उनी कट्टर विरोधी थिए । उनले पुराण वाचन गरिरहेको स्थानमा जान र भेटीपाती चढाउन कथित अछुतहरुलाई कुनै प्रतिवन्ध थिएन । धेरै ठाउँमा उनले दलितहरुलाई सँगै राखेर सहभोजको आयोजना समेत गरेका थिए । सबैभन्दा पहिला आफै दलितको हातबाट भोजन गरेर अरुलाई पनि सहभोजमा सामेल हुन आग्रह गर्थे ।
कुनै पनि ठाउँमा पुराण वाचन गरेवापत पण्डित नारायण पोखरेलले आयोजकहरुबाट एक लाखभन्दा ज्यादा लिँदैनथे । उनी भक्तजनहरुले व्यक्तिगत रुपमा दिएको भेटी समेत आयोजकहरुको कोषमा जम्मा गर्थे । पुराण लाउनुको उद्देश्य र लक्ष्यअनुसार रकम संकलन भए/नभएको अवस्था आदि हेरेर दिइएको एक लाखबाट समेत चन्दा दिन पछि पर्दैनथे ।
कसैले ‘गुरु किन त्यसो गर्नुभएको’ भनेर प्रश्न गर्दा उनी सहजै भन्थे- मेरोचाहिँ कर्तव्य छैन र ? पुराणको वाचन शैली, अन्धविश्वास र कुरितिलाई हटाएर हिन्दु समाजलाई सुधार गर्नुपर्छ भन्ने मान्यता, लोभ नगर्ने दानी चरित्र आदिका कारणले उनी सर्वसाधरणमा ज्यादै लोकप्रिय भए । जहाँ-जहाँ उनी पुराण वाचन गर्न पुग्थे, त्यहाँ-त्यहाँ पुराण सुन्ने मानिस र दान दिने दाताहरुको ओइरो लाग्थ्यो । तर त्यो कुरा कट्टरपन्थी हिन्दुहरुलाई पाच्य भएन ।
तत्कालीन शाही पार्श्ववर्ती भरतकेशर सिंहलगायतका कट्टपन्थी हिन्दुहरुले उनलाई “विश्व हिन्दु महासंघ”को महासचिवबाट बर्खास्त गरे । त्यसपछि उनले आफ्नै अध्यक्षतामा समानान्तर “विश्व हिन्दु महासंघ” गठन गरे र जिल्ला प्रशासन कार्यालयमा सो संस्था दर्ता समेत गराए । दुई वटा “विश्व हिन्दु महासंघ” भएकाले आधिकारिकताको प्रश्न उठ्यो । जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको हुँदा उनको अध्यक्षतामा गठन गरिको “विश्व हिन्दु महासंघ” आधिकारिक हो भन्ने विचार आयो । तर भरतकेशरहरुले धार्मिक संस्था दर्ता नहुने जिकिर गरे । त्यसबेला पण्डित पोखरेलले भरतकेशरहरुलाई उल्टै सोधे “के धर्म कानुनभन्दा माथि हुन्छ ?”
स्व. पण्डित नारायण पोखरेलले सबैभन्दा ठूलो दुश्मनी तत्कालीन राजा र दरवारसँग मोले । शाही पार्श्ववर्ती भरतकेशर सिहं यसै पनि तत्कालीन राजा ज्ञानेन्द्रका विश्वासपात्र थिए । उनै भरतकेशरको अगुवाइमा “विश्व हिन्दु परिषद्”ले ज्ञानेन्द्रलाई “विश्व हिन्दु सम्राट” घोषणा गर्दा पण्डित पोखरेलले ठूलो आपत्ति जनाए । उनको भनाइ थियो- “राजा धर्मभन्दा माथि हुनुपर्छ । हिन्दु सम्राट घोषणा गरेपछि अरु धर्मावलम्बीले राजा मान्ने कि नमान्ने भन्ने प्रश्नचिन्ह खडा हुन्छ । त्यसैले राजाले विश्व हिन्दु सम्राटको पदवी स्वीकार्नु हुन्न ।”
यसबारे तत्कालीन राजा ज्ञानेन्द्रसँग कुरा राखेको र कुरा राख्दा ज्ञानेन्द्रले सकारात्मक रुपमा लिएको उनी पटक-पटक सुनाउँथे । कतिपय अवस्थामा त उनी मञ्चबाटै पनि यस्ता कुरा बोल्थे । त्यस समयमा युद्धरत माओवादीप्रति पनि पण्डित पोखरेलको विचार सकारात्मक थियो । माओवादी समस्या राजनीतिक मुद्दा भएको हुनाले राज्यकै अगुवाइमा वार्ताद्वारा समस्या समाधान गर्नुपर्छ भन्ने उनको भनाइ थियो । माओवादी स्वयं पनि पण्डित पोखरेलप्रति उति नकारात्मक थिएन । माओवादी प्रभावित क्षेत्रमा उनको पुराण वाचन कार्यक्रम भई नै रहेको थियो । अझ उनले विश्व हिन्दु महासंघको अधिवेशन त माओवादी अति प्रभावित क्षेत्रमै सम्पन्न गरे । त्यसबेला माओवादीले नै सुरक्षा दिएर उनलाई महाधिवेशन स्थलमा पुरयाइएको बताइएको थियो ।
तर महाधिवेशन सम्पन्न गरेर फर्किएको केही समयपछि बुटवलमा आयोजना गरिएको महायज्ञमा उनी माओवादीद्वारा नै मारिए । तत्कालीन माओवादीको भातृ संगठन दलित मुक्तिमोर्चाले हत्याको जिम्मेवारी लिए पनि उनको हत्यामा हिन्दु अतिवादीहरुको हात थियो भन्ने कुरामा धेरैको आशंका थियो । त्यो आशंका अहिलेसम्म पनि रहेकै छ ।
पण्डित नारायण पोखरेलको हत्या भए पनि पुराण वाचन गर्ने कार्य रोकिएको छैन । स्वयं उनकै छोरा दीनबन्धु पनि पुराण वाचन गरी नै रहेका छन् तर पण्डित नारायण पोखरेलले चालेको धार्मिक सहिष्णुता र सुधारको अभियान भने ठप्प छ । उसबेला राजालाई “विश्व हिन्दु सम्राट”को पद अस्वीकार गर्न सल्लाह दिने स्व. नारायण पोखरेल अहिलेसम्म जीवित रहेका हुन्थे भने पक्कै पनि यतिबेला धर्मबाट राज्य अलग हुनुपर्छ भन्ने विचार सर्वसाधारणमा राखिरहेका हुन्थे । तर उनी धेरै पहिला नै मारिए, उनको अभाव भने हिन्दु समाजमा खट्की नै रहेको छ ।
अन्तरिम संविधान र संविधानको मस्यौदामा कायम गरिएको धर्म निरपेक्षतालाई हटाएर हिन्दु राज्य लेखाउन पूर्व राजावादी कमल थापादेखि कुख्यात भ्रष्टाचारी खुमबहादुर खड्का र सार्वजनिक जमिन हडपेको आरोप खेपी रहेका कमल नयनाचार्यजस्ता अतिवादीहरु अहिले सडकमा चक्काजाम गर्ने र नेताको घर-घर पुगेर शंख फुक्ने काम गरिरहेका छन् । जति नै हिन्दुत्वको नारा लगाए पनि उनीहरुको आन्दोलनलाई आम जनताले साथ दिएका छैनन् ।
धेरैलाई थाहा छ, धर्मको रक्षा कमल थापा र खुमबहादुरजस्ता भ्रष्टहरुले गर्न सक्दैनन् । उनीहरुले त धर्मलाई हतियार मात्र बनाएका हुन् । अन्ततः हिन्दु सापेक्ष राज्य नहुने निश्चित देखिएपछि यी अतिवादीहरु अहिले भारतका विवादास्पद व्यक्तिहरु सत्तारुढ रहेको पार्टीका अध्यक्ष मोहन भागवत, कथित जगतगुरु शंकराचार्य र अन्य जोगीलाई काठमाडौं ल्याउने अभियानमा जुटेका छन् । तर धर्मको नाममा अर्को राष्ट्रका विवादित व्यक्ति र जोगीहरुलाई बोलाएर शक्ति प्रदर्शन गर्न खोज्नु स्वतन्त्र राष्ट्रको धज्जी उडाउनु हो भने भारतीय सत्तारुढ पार्टीका अध्यक्ष नै हिन्दुवादीको समर्थन गर्दै नेपाल आउन चाहनु कूटनीतिक मर्यादा विपरीत कार्य हो । यस्तो कार्य हुन दिनु स्वयं स्व. पण्डित नारायण पोखरेलका अनुयायीहरुका लागि पनि लाजमर्दो विषय हो । हेरौं, निरीह सुशील सरकार र सचेत सुधारवादी हिन्दुहरुको भूमिका के हुन्छ अब ?

www.esamata.com

No comments:

Post a Comment