Thursday, August 27, 2015

नेपाली राजदुतावासको भूमिका र गैह्र आवासीय नेपाली संघ मलेसियाको आसन्न महाधिवेशन


मलेसियामा नेपाली साहित्य लेखनसँगै सांगठानिक गतिबिधिलाई अगाडि बढाउन पूर्व राजदुत डा. ऋषि अधिकारी र पूर्व कार्यवाहक राजदुत साहित्यकार हरिप्रसाद श्रेष्ठको अमूल्य योगदान छ । वहाँहरुको प्रेरणा र साथलाई मलेसियाको साहित्यिक वातावरणले कहिल्यै बिर्सन सक्दैन/मिल्दैन । कोतरायमा हुने हरेक साहित्यिक जमघटमा वहाँहरुको उपस्थिति स्मरणीय छ । साहित्यिक संस्था मात्र होइन अन्य संस्थाहरुलाई अगाडि बढाउनमा पनि वहाँहरुको त्यति नै ठूलो योगदान छ ।
मलेसियामा कि NRN को सक्रियता, कि एउटा छाता संगठन आवश्यक छ भनेर पूर्व राजदुत डा. ऋषि अधिकारीले पटक-पटक सुझाउनु भएको र त्यसको लागि दूतावासमा पटक-पटक छलफल गरिएको अझै पनि सम्झन्छु । यहि क्रममा सपना बस्याल, सञ्जय राई 'छुच्चा' र मैले निकै पटक मस्जिद जामेक हुँदै आम्पाङ पार्कको ट्रेन यात्रा तय गरेका थियौं ।
NRN मलेसिया, नब्यूँझने अन्तिम निष्कर्षमा पुगी नेपाली संस्थाहरुको छाता संगठन गठन गर्न सपना बस्यालको अध्यक्षता र पूर्व राजदुत डा. ऋषि अधिकारीको उपस्थितिमा कोतरायमा भेला आयोजना गरिएको थियो । तर त्यो भेलामा सबै पक्षको उपस्थिती नभएको हुँदा समिती गठन गर्ने कि नगर्ने भन्ने सवालमा सञ्जय जी र मेरो ठूलै गलफत्ती पर्यो । अन्तत: भेलामा अनुपस्थित विश्व राईलाई फोन गरेर उपस्थित गराई वहाँकै संयोजकत्वमा एक तदर्थ समिती बनाएरै छाडियो, त्यो दिन ।
मलेसियामा राजदुतको उपस्थितिमा सबै संस्थाहरुको छाता संगठन बन्यो भन्ने सन्देश प्रवाह भैसकेपछि सुतेको NRN जुरुक्क उठ्यो र सक्रियता देखायो । पूर्व राजदुत डा. ऋषि अधिकारी र हामी सबैले चाहेको पनि NRN जागोस् भन्ने नै थियो । त्यसैले NRN मलेसियाले सक्रिय हुने संकेत देखाएपछि राजदुतको सल्लाहमा हामीले छाता संगठनलाई स्वत: निष्क्रिय बनायौं र NRN मलेसियालाई अगाडि बढाउन विश्व राई, देवेन्द्र सुर्केली लगायतलाई सामेल हुन अनुरोध पनि गर्यौं । समयक्रसँगै NRN मलेसियाले गति लियो । नेपाली मूलका स्थानीय नागरिक शंकर पौडेल, भीम शेरचन, कर्म गुरुङ, विश्व राई, देवेन्द्र सुर्केली लगायतको अथक मेहनतले NRN मलेसिया छोटै समयमा अग्रणी संस्थाको रुपमा स्थापित भयो । जसमा तात्कालिन राजदुत डा.ऋषि अधिकारी र दूतावासका अन्य कर्मचारीहरुको पनि अमूल्य योगदान छ । शंकर पौडेल जसले निस्वार्थ ढंगले NRN मलेसियालाई यहाँसम्म ल्याई पुर्याउन भूमिका खेल्नु भो, वहाँको जति प्रशंसा गरे पनि अपुग हुन्छ ।
तर अहिले मलेसिया फेरिएको छ । संघ संस्थाहरुको चहलपहल कम छ । संघ संस्थाहरु जति छन् तिनीहरुले गर्ने कार्यक्रममा राजदुत र दूतावासका कर्मचारीहरुलाई कमै आमन्त्रण गरिन्छ । आमन्त्रण गरिए पनि राजदुत र दुतावासका कर्मचारीको उपस्थिती शून्य नै हुन्छ । NRN मलेसिया भित्रका केही पदाधिकारीको गलत कार्यले आज मलेसियामा कार्यरत आम नेपाली श्रमिकमा NRN मलेसिया भन्ने संस्था ठगहरुको संस्था हो भन्ने भान परेको छ । उता NRN का केही पदाधिकारी र दूतावास बीच केही लेनदेनमा कुरा नमिलेपछि दुई बीच सम्बन्ध यति बिग्रेको छ कि, अख्तियार गुहार्ने र ठग घोषणा गरि कार्वाही प्रक्रिया अगाडि बढाउन सरकारलाई अनुरोध गर्ने सम्मको हरकत भैसकेको छ ।
बिदेशमा, दुतावास नै सरकारको आधिकारिक निकाय हो र बिदेशमा रहेकाहरुको अभिभावक पनि । कुनै पनि देशमा पुगेर नेपालीहरु काम मात्र गरिरहेका छैनन्, संघ संस्था स्थापना गर्ने, सामाजिक कार्यहरु गर्ने, साहित्यिक गतिबिधी सञ्चालन गर्ने, पत्र-पत्रिका प्रकाशन गर्ने जस्ता सिर्जनशिल क्रियाकलापहरु पनि गरिरहेका छन् । यसो गर्दा त्यस देशको नजरमा गैह्र कानुनी काम ठहरिएला तर नेपालीहरुलाई एकताको सूत्रमा बाँधी राख्न र सिर्जनशील बनाई रहन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । त्यसैले स्थानिय कानुनको बर्खिलाप नहुने गरि संस्थाहरु खोल्न र उदेश्य अनुरुप कार्य गर्नु दूतावासले उत्प्रेरित/निर्देशित गर्नु पर्छ । जुन कार्य पूर्व राजदुतहरुको कार्यकालमा भएको थियो भन्ने कुरो मैले माथि नै प्रष्ट पारिसकेको छु । तर अहिले मलेसियामा, दूतावास र नेपाली संघ-संस्था बीच कुनै पनि प्रकारको सम्बन्ध नै छैन भन्दा पनि हुन्छ । झन NRN मलेसियासँग त काटामारको स्थिति छ । यसो हुनुको कारण NRN जस्तो संस्थामा गलत मानिसहरुको संलग्नता र सक्रियता झनै बढेर गएको छ ।
NRN मलेसियाको अधिवेशन केही दिन पछि नै हुँदैछ तर दुई समूह बीचको अस्वस्थ प्रतिस्पर्धाले अधिवेशन नै हुने कि नहुने भन्ने अवस्थाको सिर्जना भएको छ । एक पक्षले घोषणा गरेको उम्मेद्वारी फिर्ता लिएर समानान्तर समिती बनाउने जानकारी पत्रकार सम्मेलन गरेर दिइसकेका छन् । यदि दूतावासको संघ-संस्थाप्रप्रति हेर्ने दृष्टिकोण पहिलाको जस्तै भैदिएको भए NRN मलेसियामा गलत ब्यक्तिहरुको चलखेल नहुने र दूतावाससँग अन्तर्बिरोध बढेर जाने अवस्था पक्कै रहने थिएन । र, यतिबेला NRN मलेसियामा आइपरेको समस्या पनि आउने थिएन । तर दुतावास, नेपाली संघ संस्थाप्रति सकारात्मक हुने कुनै छनक मिलेको छैन । अब मलेसियामा रहेका नेपालीहरुले डा. ऋषि अधिकारी जस्तै ब्यक्ती मलेसियाको लागि राजदुत र हरिप्रसाद श्रेष्ठ जस्तै उच्च पदस्थ कर्मचारीको आगमनको प्रतीक्षा गर्नुको बिकल्प छैन । परन्तु NRN मलेसियामा अहिले देखिएको समस्या समाधान गर्न भने NRN मलेसियामा शुरुबाटै क्रियाशिल केही ब्यक्तिले सकारात्मक भूमिका निर्वाह गर्न सक्छन् । आशा गरौं वहाँहरुको सक्रियता अब देखिनेछ कि ?

No comments:

Post a Comment