Thursday, August 27, 2015

किन मारिन्छ्न् चरी र घैंटेहरु

एक बर्षको अन्तराल नबित्दै दुई जना कुख्यात डनहरु प्रहरीको इनकाउण्टरमा मारिए । नेकपा एमालेका केही नेताको छत्रछाँयामा आफ्नो धन्दा सञ्चालन गर्दैआएका दिनेश अधिकारी ‘चरी’ मारिन्दा जसरी धेरैलाई आश्यर्च लागेको थियो, त्यसरी नै नेपाली काँग्रेसका उच्च नेताहरुको संरक्षणमा रहँदै आएका कुमार श्रेष्ठ उर्फ कुमार घैंटे मारिन्दा सर्वसाधरणमा आश्चर्य लागिरहेको छ । एकक्षणअगाडि प्रहरी प्रशासनकै सामू खुल्लमखुल्लारुपमा हिडिरहेका ब्यक्ति एकक्षणपछाडि आफ्नै घरमा गोली लागेर मारिन्छन् भने, आश्चर्य लाग्नु स्वभाविक हो ।
प्रहरी कै भनाईलाई मान्ने हो भने, इन्काउण्टरमा मारिएका ब्यक्ति कुख्यात अपराधी हुन् । जसले सर्वसाधरण र ब्यवसायीहरुबाट हप्तावारी असुल्नेदेखि मान्छे मार्ने उद्योगसम्मका सयौं अपराध गरेका थिए । यसर्थ त्यो अपराधीले कानुनतः सजाय भोग्नै पथ्र्यो । तर अचम्म लाग्दो कुरो के हो भने त्यस्ता कामहरु प्रहरीको आँखै अगाडि हुने गरेका छन् । इनकाउण्टरमा मारिएका भनिएका ब्यक्तिहरु विगतमा धेरैपटक प्रहरीद्वारा पक्राउ पनि परेका हुन्, उनीहरुलाई कार्वाही गर्न यथेष्ट प्रमाणहरु पनि थिए तर कार्वाही नगरी पक्राउ परेको केही समयमै स–सम्मान रिहाभएका थुप्रै उदाहरणहरु छन् । आखिर किन भयो त्यस्तो ?
सबैले जानेकोबुझेको कुरो के हो भने चरी र घैंटे जस्ता कुख्यात अपराधीहरुलाई संरक्षण गर्ने उच्चराजनीतिक ब्यक्तिहरु नै हुन् । ठूला नेताहरुको छत्रछाँयामा नै उनीहरुले आफ्नो आपराधिक क्रियाकलाप सहजरुपमा सञ्चालन गर्दै आएका थिए । नत्र प्रहरीको आँखैअगाडि कसरी फूलमाला लाएर सार्वजनिक कार्यक्रमहरुमा मञ्चमा आशिन हुन्छन् ? चरीको हकमा अलिक फरक छ तर कुमार घैंटे त केही समयअगाडि प्रधानमन्त्री शुशिल कोइरालाबाट फुलमाला लाएर भुकम्प पीडितहरुको उद्घारको लागि खटिएका ब्यक्ति हुन् । प्रहरीद्वारा इनकाउण्टरमा मारिनुअगाडि निर्माण व्यवसायसँग सम्बन्धित बैठक सकेर आएको भनिएको छ । यदि उनलाई राजनीतिकरुपमा संरक्षण नगरिएको हुन्थ्यो भने कुख्यात अपराधी ठहराईएका घैंटे कसरी खुल्लमखुल्ला हिड्ने आँट गर्थे ।
चरी र घैंटेहरु मारिनुमा घाटा केही छैन । उनीहरु मारिएपछि उनीहरुद्वारा सताईएकाहरुमा खुसियाली पनि छाएको छ । स्वयं पंक्तिकार पनि दुखी बन्नुपर्ने केहीकारण छैन । तर केही समयअगाडिसम्म प्रहरीकै आँखैअगाडि मण्डलमार्दै हिडेका ब्यक्ति केहीसमयपछाडि नै मारिनुमा पक्कै पनि आश्चर्य हुनुपर्छ र आश्चर्यसँगै हत्यापछाडिको कारणहरु उधिन्ने प्रयत्न पनि गर्नुपर्छ । किनकी साना माछाहरु जालमा परेर ठूला माछाहरु उम्किरहेको पनि हुनसक्छ वा ब्यक्ति/संस्था विशेषको खिचातानीको शिकार पनि भएका हुनसक्छन् ।
चरी मारिन्दा पनि उनका आफन्तहरुले उनलाई प्रहरीले देखाएको घटनास्थलभन्दा अन्यत्रै हत्या गरिएको आरोप लगाएका थिए । यही आरोप लगाएर एमालेका केही सभाषद्हरुले संविधानसभा भित्रै गृहमन्त्रीको जवाफ मागेका थिए । अहिले घैंटेलाई पनि इन्काउण्टरमा नभै मुखमा पट्टी बाँधेका बिनाबर्दीका मानिस आएर सिधैं गोली प्रहार गरेको उनका आफन्त र छिमेकीहरुले आरोप लाईरहेका छन् । अझ उनका छिमेकीहरु त भन्दैछन्—घटना घटिरहँदा हेर्न समेत दिईएन र हेरेको खण्डमा सिधै गोली ठोक्ने धम्की पनि प्रहरीले दिए । तर प्रहरी र स्वयं गृहमन्त्रालयले चरी मारिन्दा पनि इनकाउटरमै मारिएको बताएको थियो भने अहिले घैंटे पनि इनकाउण्टरमै मारिएको बताईरहेको छ । दुवै पक्षले बोलेको कुरा सत्य हुन पनि सक्छ, नहुन पनि सक्छ । तर विचारणीय कुरो के छ भने जहाँ–जसरी मारिए पनि यी दुवैलाई जीवित नराख्न नै चाहेको हो । तर कसले ?
तर कसले ? यो प्रश्नको जवाफ खोज्नुभन्दा अगाडि, विगतका परिदृश्य र वर्तमान अवस्थालाई पनि हेर्नुपर्ने हुन्छ । विगतमा ठूला नेतासँग त्यति धेरै सम्पर्क नभएका विराटनगरका पर्शुराम बस्नेतलाई एक पत्रकारमाथि ज्यान मार्नेगरी भएको हमलामा कार्वाही गर्नबाट जसरी बचाईयो त्यो हेरेर भन्न सकिन्छ, चरी र घैंटे त सिधै बच्न सक्थे । किनकी चरी र घैंटेको सम्बन्ध त पार्टीका उच्चतहका नेताहरुसँग थियो भन्ने कुरो प्रष्ट भैसकेको छ । र, विगतमा पनि कार्वाही भोग्नबाट बाँच्दै आएका नै हुन् । फेरि, सरकारमा पनि यी दुवैले राजनीतिक संरक्षण पाउँदै आएका पार्टीहरु नै छन् । चरीको हकमा त उनकै पार्टीको नेता गृहमन्त्री थिए । चारैतीरबाट सुरक्षा पाउने बेलामा कसरी यी दुई मारिए त ? प्रश्न गम्भिर छ । प्रश्न जति गम्भिर छ, जवाफ उती नै गम्भिर हुनसक्छ । मार्नकै लागि उनीहरुमाथि प्रहरी जाइलागेको हो भन्नेकुरा माथिको प्रशंगले पनि प्रष्टपार्छ तर त्यसकोपछाडि हात कसको छ ? हात दुई पक्षको हुनसक्छ—उनीहरुलाई संरक्षण दिदैआएका ब्यक्तिको वा प्रहरी प्रशासनको ।
नेपालको राजनीतिक इतिहासमा अपराधी र राजनीतिकर्मीहरुको सम्बन्ध सधैं नङमासुको रहँदै आएको छ । सोझो ढंगले राजनीतिक अभिष्ट पूरा नहुनेदेखेपछि समाजमा नकारात्मकरुपले प्रभाव जमाएका ब्यक्तिहरुलाई समेत हातमा लिएर स्वार्थपूरा गर्ने नेताहरु छन् भन्नेकुरो कसैबाट छिपेको छैन । हालै एक मन्त्रीले आफ्नो आत्मकथामा खुलस्त लेखेका छन् कि, तात्कालिन वाइसियल र माओवादीको प्रभावलाई मत्थर पार्न के के हथकण्डा अपनाईयो । यहाँ ध्यानदिनु पर्ने कुरा के छ भने चरी र घैंटेलाई शक्तिमा रहेका नेताहरुले संरक्षणमात्र दिएनन् उनीहरुबाट थुपै्र फाईदा पनि लुटे । र, उनीहरुलाई अगाडि लाएर थुप्रै गैह्रकानुनी काम समेत गरे/गराए । तर आफूले गरे÷गराएका कतिपय कामहरुको पोल खुल्यो भने उनीहरुको राजनीतिक जीवननै समाप्त हुने अवस्था पनि आउन सक्थ्यो । त्यो अवस्था नआओस् भन्नको लागि सिधै यमलोक पुर्याउने षड्यन्त्र तय भएको हुनसक्छ ।
यदि माथिको जस्तो षड्यन्त्र नभएको हो भने संका गर्नुपर्ने अर्को पनि ठाउँ छ, प्रहरी प्रशासनमा । कि, चरी र घैंटेहरुलाई प्रहरीले पटकपटक पक्राउ गरेकै हो । उनीहरुले गरेको अपराध अनुसारको सजाय दिन खोजिएकै पनि हो तर राजनीतिक दवावकाकारण पक्राउ परेको केही समयपछि नै स–सम्मान छोड्न प्रहरीहरु बाध्य हुँदै आएका थिए । यसले एकातिर प्रहरीको आत्मसम्मानमा ठेस पुग्दै आएको थियो भने अर्कोतिर राजनीतिक संरक्षणमा उनीहरुको मनोबल झन्झन् बढ्दै गएको थियो । त्यसैले प्रहरी प्रशासनले नेताहरुलाई सुईको नदिई ती कुख्यात अपराधीहरुलाई सिध्याउने योजना बनाउनु पर्यो । फेरि संयोग पनि कस्तो परेको छ भने, गृहमन्त्रीसँग प्रहरी प्रशासनको असन्तुष्टी पहिला पनि चुलिएको थियो, अहिले पनि चुलिएकै छ । स्वयं गृहमन्त्री, प्रहरी प्रशासनको कम्जोरी औंल्याउँदै मञ्चमा कुर्लिरहेका छन् भने गृहमन्त्रीको कारण प्रहरी प्रशासन बदनाम भईरहेको केही प्रहरी अधिकृतहरुले बताउँदै आएका छन् ।
चरी या घैंटे, दुवै समाजको काँडा थिए, समय मै पन्छिए, नराम्रो केही भएको छैन । तर चरी र घैंटेहरु जन्माउने÷हुर्काउने राजीतिक वातावरण नै उनीहरु मारिनुपर्ने कारण बनेको हो भने गम्भिर चिन्ता गर्नुपर्ने बेला भएको छ । कि, यहाँ ठूला अपराधीहरु जोगिएर चरी र घैंटे जस्ता घुनहरु मकैमा पिसिरहेका हुनसक्ने प्रशस्त आधारहरु छन् । त्यसैले उनीहरु मारिएकोमा हाईसञ्चो मात्रै नमानी मारिनुको कारणको बारेमा आम जनताले पनि चासो दिनुपर्ने बेला आएको छ । अस्तु
(द गोर्खाज साप्ताहिकमा प्रकाशित)

No comments:

Post a Comment