Monday, September 7, 2015

ढल्दैछन् सालिकहरु

पोखरा बसपार्क नजिकै क्रुर साशकीय भङ्गिमामा उभिएको बडामहाराजको शालिक आठ बर्ष अगाडि जनताबाट ढालियो र स्थापित गरियो नागरिकको स्तम्भ । गत सोमबार बिरगञ्जमा फेरि उसैगरि अर्का साशकको सालिक ढालिएको छ, जनताहरुबाट ।
सालिक निर्जिव वस्तु हो, जसले वर्तमानमा कसैको केही बिगार्दैन/सपार्दैन । पुजे पनि वा भत्काएर फाले पनि उसलाई कुनै असर पर्दैन । सालिकसँग रिस पोख्नु वा माया पाल्नुमा गम्भिर अर्थ भेटिन्दैन । तर पनि सालिक भत्किनै रहेका छन् र भत्किएपछि सकारात्मक/नकारात्मक क्रिया–प्रतिक्रिया आउने गर्छन्/आइरहेका छन् ।
२०४६ साल चैत्र २४ गते काठमाण्डौमा निरंकुश पञ्चायती ब्यवस्था बिरुद्धको आन्दोलन उत्कर्षमा पुग्दै थियो । दरबारमार्ग छेउमा आइपुगेपछि जुलुसमा सहभागि यूवाहरुको नजर महेन्द्रको शालिक पुग्यो । केही यूवाहरु सालिकमा चढे र भकाभक भत्काउन थाले । नजिकै रहेको पुलिसले फायर खोल्यो । केही जनाले ज्यान गुमाए, कयौं घाइते भए । सो घटना घटेको दुई दिन नबित्दै महेन्द्रले स्थापना गरेको पञ्चायती ब्यवस्था ढल्यो । तर ब्यवस्था ढलेपछि भने कसैको नजर राजा–महाराजाहरुको सालिकमाथि परेन ।
२०६२–६३ को जनआन्दोलनको क्रममा आन्दोलनकारीहरुको निशानामा राजा–महाराजाहरुको शालिक मात्र परेनन् उनीहरुको नाम जोडिएका कतिपय स्थानको नाम समेत बदल्न जनताहरु सक्षम भए । पोखराको महेन्द्रपुल—भीमसेन चोकमा रुपान्तरित भयो । एक ठाउँमा मात्र होइन देशैभर राजा–महाराजाहरुको सालिक ढालियो । जनआन्दोलनको सफलतापछि पनि सो क्रम रोकिएन । पृथ्वीनारायण शाहदेखि, त्रिभुवन, महेन्द्र, बीरेन्द्र र भानुभक्त, लक्ष्मीप्रसाद देवकोटा, बिपी कोइरालासम्मका सालिकहरु तोडिए । पहिलो संविधानसभाको पहिलो बैठकले राजतन्त्र उन्मुलन गर्ने औपचारिक निर्णय गर्यो । त्यसपछि राजा–महाराजाहरुको सालिक ढाल्न कसैलाई आवश्यकता परेन ।
अन्तरिम संविधानमा सङ्घीयता छुटेको भन्दै तात्कालिन मदेशी जनअधिकार फोरम नेपालको आह्वानमा पहिलो मदेश बिद्रोह शुरु भएपछि सालिक फोडिने क्रमले फेरि निरन्तरता पायो । सहिद सेतु बि.क. देखि कविशिरोमणी लेखनाथ पौड्यालसम्मको सालिकले आन्दोलनकारीको सिकार हुनुपर्यो । अन्ततः राज्य र आन्दोलनकारीबीच सम्झौता भयो । आन्दोलन रोकियो । सालिक ढाल्ने काम पनि रोकियो । पहिलो मदेश आन्दोलनमा दर्जनौं मानिस प्रहरीको गोलीद्वारा मारिएका थिए । त्यसबेला गीरिजाप्रसाद कोइराला सर्वैसर्वा थिए । उनले चाहेको भए मदेशमा त्यति धेरै मानिसहरु मारिनु पर्ने अवस्था आउँदैन थ्यो । तर गीरिजाप्रसाद कोइरालाको हठलाई भुलेर मृत्युपछि बिरगञ्जमा उनैको शालिक बनाउन मदेशीहरु अग्रसर भए । तर त्यो सालिक गत सोमबार ढालिएको छ । लाग्छ सरकार र आन्दोलनकारीहरुबीच समयमै समझदारी भएन धेरै सालिकहरुले फेरि शहिद बन्नु पर्ने निश्चित जस्तै छ ।
किन ढालिन्छन् सालिकहरु ?
प्रायः सालिकहरु शासकहरुकै निर्माण हुने गर्छन् । राजा प्रताप मल्लदेखि बीरेन्द्रसम्मको इतिहास हेर्दा शासकहरु नै धेरै ठडिएका छन् सालिक बनेर । यद्यपि पछिल्लोक्रममा समाजमा महत्वपूर्ण योगदान दिने ब्यक्तिहरुलाई पनि ठडाइएको छ केही चोकहरुमा । राजा प्रताप मल्लले आफू जीवित छँदै सालिक ठडाएका थिए । पछि राणा प्रधानमन्त्रीहरुले पनि आफ्नो जीवनकालमा नै ठडाए आफ्ना सालिक । तर आधुनिक नेपालका निर्माता भनिएका पृथ्वीनारायण शाहदेखि आफ्नै छोराद्वारा राष्ट्रपिताको उपाधि पाएका राजा त्रिभुवनसम्मले आफ्नो सालिक आफू जीवित छँदै आफैले बनाउन लगाएका थिएनन् । ती त २०१७ सालमा जननिर्वाचित सरकारलाई बर्खास्त गरेर निरंकुश पञ्चायत ब्यवस्था लागू गरेपछि त्यसको औचित्य पुष्टि गर्न राजा महेन्द्रले ठाउँठावै ठड्याउन लगाएका बुख्याँचाहरु थिए । ती बुख्याँचाहरुको उपस्थितिमा आफ्नो पञ्चायती अभिष्टमाथि कसैले औंलो ठड्याउँदैन भन्ने महेन्द्रको बुझाई थियो । महेन्द्रको मृत्युपछि उनका अनुयायीहरुले उनको पनि सालिक निर्माण गरे । २०४६ सालको जनआन्दोलनको बेला आन्दोलनकारीहरुले महेन्द्रकै सालिकलाई निशाना यसकारण बनाए कि, सैन्यबलको सहायतामा प्रजातन्त्र अपहरण गरेर निरंकुश पञ्चायती ब्यवस्था लाद्ने तिनै महेन्द्र थिए । त्यसैले महेन्द्रको सालिक ढाल्नुमा पञ्चायती ब्यवस्था ढाल्नुसँगको मनोविज्ञान जोडिएको थियो ।
पृथ्वीनारायण शाहले गोर्खा राज्यको बिस्तार गरेर आधुनिक नेपालको निर्माणमा जति योगदान दिएका थिए, त्यती नै अरुमाथि ज्यादती समेत गरेका थिए । आफ्नै पूर्व सैन्य कमाण्डर जयन्त रानाको ज्यूँदै छाला काढ्नेदेखि कीर्तिपुरेहरुको नाक–कान काट्नेसम्मका अमानवीय कार्य उनको आदेशमा भएको थियो । आफ्नै मावली, ससुराली र मितको राज्य हडप्ने काम पृथ्वीनारायण शाहबाट भएको इतिहास साँक्षी छ । पूर्व लिम्बुवानमा लिम्बू भाषामा लिखित उसबेलाको एक पाण्डुलिपि पाइएको छ, जहाँ माझकिरातमा गोर्खाली फौजले गरेको ज्यादतीलाई प्रष्ट्याईएको छ । सो पाण्डुलिपि अनुसार त्यसबेला गोर्खाली फौजले माझकिरातमा बालबच्चा, बृद्ध–बृद्धा, गर्भिणी महिला समेतलाई अमानवीय तरिकाले मारेका थिए । यसर्थ पृथ्वीनारायण शाहलाई राज्यले बडामाहाराज वा राष्ट्र निर्माताको पगरी गुथाए पनि धेरैले आफ्ना पीतापूर्खाको हत्यारा शासकले रुपमा बुझेका थिए । र, अवसर आउन साथ त्यसको बदला जनताहरुले सालिकसँग लिए । त्रिभुवन र बीरेन्द्रको सालिक तोडिनुमा पनि राजतन्त्रसँगको प्रतिशोध जोडिएको थियो ।
राजा महेन्द्रले आफ्नो पञ्चायती राष्ट्रबादको औचित्य पुष्टि गर्न अनेकौं मानकहरु खडा गरें । तात्कालिन खस÷पर्वते÷गोर्खा भाषालाई ‘नेपाली’ नामाकरणगरी सबैको लागि अनिवार्य बनाए । त्यस भाषामा सत्ताको गुणगान गाउँदै कथित साहित्य लेख्नेहरुलाई बिभिन्न उपमा भिराए । अनेकौं मिथकहरु जोडेर राष्ट्रिय बिभुतिको निर्माण गरे । एकलौटी पहिचान झल्कने राष्ट्रिय चिन्हहरु स्थापित गरे । जसको कारण इतर भाषा, संस्कृति र सभ्यता भएका जाति/समूहमा तिनीहरुप्रति बितृष्णा शुरुबाटै थियो तर सत्ताको दमनकारी नीतिले बिद्रोही भावना भित्रै लुकाउन बाध्य भए । जब समय आयो तब शासकले उभ्याएका आदिकवि, कविशिरोमणिहरुका सालिक पनि ढालिए ।
गल्ती नगर्ने सायद संसारमा केही पनि मान्छे छैनन् र सत्प्रतिशत ठिक भनेर स्विकारिएका मानिस पनि छैनन् । तर नेपालका साशकहरुले केही साशकहरुलाई संसारकै सबैभन्दा उत्कृष्ट मानवको जामासमेत पहिराउन पछि परेनन् । सामन्तबादी राज्यसत्ताले चालेको सो अभियानमा लोकतन्त्रबादीहरु पनि नमज्जैले घुलिए । त्यसैले त हिजो राजा–महाराजाहरुको शालिक ठडिएका स्थानमा नेताहरुको सालिक उभ्याईएका छन् । सडक, विद्यालय, कलेज, स्वास्थ्यसंस्था आदि तिनीहरुकै नाममा स्थापित भएका छन् । यसको अर्थ ती नेताहरु महान थिए, उनीहरुको गल्ती÷कम्जोरी थिएन भन्ने सन्देश आम जनसमुदायमा दिनु थियो । तिनैको नाम भजाएर मात्र बर्तमानमा गतिलो राजनीतिक ब्यापार हुन्छ भन्ने कुरा उनहरुले देखेका थिए । अहिले भैरहेको पनि त्यही छ ।
परन्तु, अब जनता लाटा छैनन् । कसले, कहाँ, किन, केका लागि, के गर्दैछ भन्ने कुरा कसैले बुझाईरहनु पर्दैन । प्रायः जनताहरु सत्तासँग सम्झौताबाटै आफ्नो हक–अधिकार प्राप्त गरेर विगतमा साशकहरुले गरेको गल्तीलाई भुल्न चाहान्छन् । तर साशकहरु सधैं निरंकुश नै हुन्छन् । अरुबाट जसरी अधिकार खोसेर लिए, अरुले त्यसरी नै नखोसुन् भन्ने उसको भित्री मनसाय हुन्छ । त्यसैले साशकहरु सधैं दमनमा उत्रिन्छन्् । दमनले प्रतिरोध जन्माउँछ । प्रतिरोधले प्रथमतः सत्ताले निर्माण गरेका मानकहरुमाथि नै प्रहार गर्ने हो ।
सम्झौताको आशमा धेरै समय गुजारी सकेपछि अन्ततः मदेश, आदिवासी जनजाति, दलित, मुस्लिम आज सडकमा आएका छन् । राज्य दमनमा उत्रिएको छ । आन्दोलनरत पक्षहरु प्रतिकारको लागि तयार भएका छन् । विरगञ्जमा रहेको स्व. गीरिजाप्रसाद कोइरालाको सालिक ढालिनु राज्यले खडा गरेको मानकमाथिको प्रहार हो । राज्यले समयमै बदलिने सहास नगरे हिजो नढालिएका धेरै सालिकहरु निश्चित ढल्नेछन् । महेन्द्रको सालिकसँगै ढलेको पञ्चायत र पृथ्वीनारायण शाहको सालिकसँगै ढलेको राजतन्त्रको इतिहास दोहोर्याउँदै कथित लोकतन्त्रको नाममा खडा भएको उच्च जातीय पहाडे अहंकारबादको चिहान खन्न उत्पीडित, उपेक्षित र राज्यबाट जानाजान बहिस्करणमा पारिएका समुदायको ठूलो हिस्सा अहिले सडममा छ । सालिकसँगै आफूलाई जोगाउने कि, पञ्चायत वा राजतन्त्रको बाटो समात्ने ? निर्णय, उच्च जातीय पहाडे अहंकारबादी नेताहरुकै हातमा छ ।
(द गोर्खाजको नयाँ अङ्कमा प्रकाशित)

No comments:

Post a Comment