Monday, September 7, 2015

थुक्का बाहुन !

जब एउटा सानो बच्चा
धुलोमा खेलेर धुस्रै फुस्रै
दलेर अनुहारमा कालो मोसो...
बाबुआमाको समीप उभिन्छ
तब उसले यहि गाली खान्छ-
थुक्का थारु !

जब त्यही बच्चा
गृष्मको प्रचण्ड गर्मीमा
भिजेर पसिनाले खलखली
निकाल्न थाल्छ आङको बस्त्र
र,
बन्छ अर्धनग्न
तब उनका अभिभावकहरु
पार्दै गोलभेडे आँखा
बेस्कन चिच्याउँछ-
थुक्का धोती !
जाडोले दपेट्दै लगेपछि
आत्तिन्दै भित्र छिर्छ त्यही बच्चा
र,
ललुवामा हल्ली रहेको अधर्नो स्वेटर
लगाउँछ चम्किलो कोट माथि
तब त्यो दृश्य देखेर ठूला मान्छेहरु
उसलाई खिज्याउन थाल्छ-
ऊ भोटे आयो...ऊ भोटे आयो ।

त्यही बच्चा
जो, बटुलेर टालाटुली
पुतली खेल्दा दमाई,
घरेलु हतिया चलाउँदा कामी,
मासु खान खोजे सार्की,
गीत गाए गाइने/बादी
र,
पानी खेलाउँदा माझी हुन्छ ।

ऊ ठाउँ अनुसार
र,
व्यवहार अनुसार
लिम्बू, राई, तामाङ, गुरुङ
मगर, धिमाल, कुसुण्डा
चेपाङ, दनुवार, घर्ती
के के हुन्छ के के ।

जब त्यही बच्चा,
काम गर्न अल्छी मान्छ
बोलीले परिपाठ लगाउँछ
घमण्ड गर्छ,
झुट बोल्छ,
अरुमाथि हैकम जमाउँछ,
अरुको भाग खोसेर खान्छ,
कुरा लगाउँछ, कुरा चोर्छ
देखेकोभन्दा बेग्लै घटना सुनाउँछ
टेर्दैन, मान्दैन र एकोहोरो बस्छ भने
उसलाई अब भन्ने कि नभन्ने-
थुक्का बाहुन !

No comments:

Post a Comment