Friday, February 12, 2016

गीत

पँधेरी डिलमा रोपेको फूल, फुलेर ओइली झरेछ
पानीले भरिने यो रित्तो घैला, आशुँले आज भरेछ

रुमाल भित्र बन्धिलो पारी, कसेको त्यो विश्वास पनि
खोलेर हेर्न डराउँछ मन, उडेर फेरि जान्छ कि भनि
घैलाको पानीले अच्याउँदै शीर, घर पस्ने दिन सरेछ
पानीले भरिने यो रित्तो घैला, आशुँले आज भरेछ

बाटो हेरेर बस्नु जतिको, के होला नमिठो जिन्दगीमा
कहाँ पुगेर अन्त्य होला खै, पर्खाइको यो बोझिलो सीमा
आफैसँग आफ्नै जिन्दगीले, किन यस्तो ठट्टा गरेछ
पानीले भरिने यो रित्तो घैला, आशुँले आज भरेछ

शिव र पार्वती, पारुहाङ र सुम्निमा हुन् भन्ने भ्रम बारे

यस बर्षको स्वस्थानी ब्रत शुरु भएको आज पाँचौं दिन पुग्दैछ । नेपालका हिन्दु नारीहरुमा स्वस्थानीको ठूलो महत्व छ । खासगरी ग्रामिण भेगका हिन्दु नारीहरु एक महिनासम्म स्वस्थानीको व्रत बस्ने र हरेक दिन कथा श्रवण गर्ने गर्दछन् ।

स्वस्थानी व्रत कथाले शिव र पार्वतीको प्रेम सम्बन्धलाई केन्द्रमा राखेको छ । शिवलाई पति पाउनको निम्ति पार्वतीले गरेको त्याग- तपस्याको वर्णन र महादेवप्रति ऋषि पत्नीहरुको आकर्षण, जालान्धरसँग बिष्णुको युद्ध, "शिव ब्रम्हाण" को छलबाट आठ बर्षकी बालिका "गोमा" ले पाएको दु:ख, उनको छोरा "नवराज" ले प्राप्त गरेको लावण्य देशको राज्य, उनकी स्त्रीले स्वस्थानीको प्रसादलाई थु थु गर्दा आइलागेको विपद, बिछोडिएका "नाग-नगेनी" को पुनर्मिलन आदि जस्ता प्रशंगहरुले कथालाई रोचक बनाएको छ ।

स्वस्थानिको व्रत बस्दा र कथा सुन्दा मनोकामना पूरा हुने बिश्वास हिन्दुहरुमा छ । अविवाहिता हिन्दु नारीहरुले शिव जस्तै पति पाउन र विवाहिताहरुले पतिको दीर्घ जीवनको कामना गर्दै स्वस्थानीको व्रत बस्ने गर्दछन् ।
यहाँ स्वस्थानीको सम्पूर्ण कथा होइन किरातसँग जोडिएको प्रशंग बारे थोरै विमर्श गर्न गैरहेको छु । विमर्श गर्न यसकारण आवश्यक छ कि, किरातीहरुले आदिपूर्खाको रुपमा मान्ने पारुहाङ र सुम्निमा भनेकै शिव र पार्वती हुन् भन्ने एकप्रकारको भ्रम समाजमा छरिएको छ । स्वस्थानी व्रत कथाको प्रामाणिकता बारे बेग्लै बहस गर्न सकिन्छ तर यहाँ यही कथामै टेकेर शिव-पार्वती, पारुहाङ-सुम्निमा हुन् कि होइनन् भन्ने कुरामा केही विमर्श गरौं ।
स्वस्थानी व्रत कथा अनुसार लामो समयसम्म कैलासमा महादेव न आएपछि पार्वतीले ध्यान दृष्टीले हेर्दा महादेव त किरातीको भेष धारण गरेर किरातीहरुसँगै घुमिरहेको देख्छिन् तब पार्वती पनि किराती महिलाको भेषमा महादेव नजिक पुग्छन् । त्यो कुरा महादेवले थाहा पाउँछ । त्यसपछि दुवै जना किरातीकै भेषमा आनन्द लुट्दै केही समय ब्यथित गर्छन् र अन्ततः कैलास फर्कन्छन् ।

स्वस्थानी व्रत कथा अनुसार महादेव र पार्वतीले किरातीको भेष धारण गरेका हुन् अर्थात सक्कली होइन नक्कली किराती बनेका हुन् । कथाले नै सिधै भन्छ शिव र पार्वती किराती थिएनन् । अब बाँकी रह्यो नक्कल गरेको कुरा । नक्कल गर्नको लागि त्यो वस्तु वा ब्यक्ती अस्थित्वमा हुनैपर्छ । अर्थात किरातीहरु थिए र न शिव र पार्वतीले नक्कल गरेर किराती जस्तो बने । यसर्थ स्वस्थानी कथालाई सही नै मान्ने हो भने शिव-पार्वती कालभन्दा अगाडि बाटै यो धर्तिमा किरातीहरुको अस्थित्व थियो । अब किरातीहरुले सृष्टि कर्ता मानेका पारुहाङ र सुम्निमा कसरी शिव र पार्वती हुन सक्छन् ?

किराती मिथकहरुको खण्डन होला त्यो बेग्लै कुरो हो तर किराती दर्शन अनुसार पारुहाङ र सुम्निमा कुनै अलौकिक शक्ति होइनन् । पारुहाङ आकाश र सुम्निमा धर्तिको प्रतीक हुन् । आकाश र धर्तिको मेलपछि मात्रै पृथ्वीमा जीवन सम्भव भएको हो । त्यसैले पारुहाङ-सुम्निमालाई आफ्नो आदि पूर्खा मान्ने गर्छन् किरातीहरु ।
आस्थाहरु आ-आफ्नै हुन्छन् । आस्थाहरुसँग ती समुदायको जीवन दर्शन जोडिएको हुन्छ । त्यसले ती समुदायका ब्यक्तिहरुको स्वभाव लगायत अन्य कुराहरुमा पनि प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । जस्तो प्रकृतिप्रति सधैं कृतज्ञ रहने किरातीहरु रुख काट्दा चोट लाउनु अगाडि रुखलाई ढोग्ने गर्छन् र रुख ढली सकेपछि फेदमा माटो लगाउने गर्छन् । ढलेको रुखको फेदमा माटो लगाउँदा पुनः रुखका बिरुवा पलाउँछ भन्ने मनोविज्ञान किरातीहरुमा छ ।

हिन्दु समाजमा किरातेश्वर महादेवको महत्व छ । किरातेश्वर महादेव भनेको किरातीको रुप लिएका महादेव हुन्, किराती महादेव होइनन् । यसर्थ पारुहाङ र सुम्निमाको बारेमा हिन्दु समाज अलिक प्रष्ट हुने कि ?

तीन चुल्हा र मुन्धुमी विश्वास

प्रत्येक किराती घर भित्र
बिना अर्थ उभिएका छैनन्
ढुङ्गाका तीन चुल्हा र,
वरिपरिका ढुङ्गे बाराहरु ।


आ-आफ्नो थाप्लो माथी
टेकाएर भाँडाको पीँध
भक्भकी उमाल्नु च्याँख्ला
र, तातो माडले पिल्सिएर लेघ्रै-लेघ्रा बन्नु
चुल्हाको सौन्दर्य होइन ।

न अगेनामा घुसारिएको दाउरालाई
आफ्नो काँधमा चढाएर
खरानीबाट अलिकति माथि उचाले पछि
हुरहुरी आगो बल्दा
आफ्नो अस्थित्व भेट्ने गर्छ ढुङ्गे बाराले ।

किराती घर भित्र उभिएका तीन चुल्हा
पक्कै ढुङ्गाकै हुन्-शंका छैन
तर ती ढुङ्गा होइनन्
किनकी,
ढुङ्गा हुनुको गुणलाई मुन्धुमले बाँधेर
उभ्याइएको छ जहाँ-
माखालुङ अर्थात आमापट्टीका पूर्खाहरु
पाखालुङ अर्थात बाउपट्टीका पूर्खाहरु
साम्बेलुङ अर्थात छोरी-चेली-कुटुम्बपट्टीका पूर्खाहरु
जसलाई घेरेर तोरोलुङले
सिंगो मानव सभ्यता
दायालुङमा हाजिर छ ।

मिथक :
हरेक किरातीको घरमा आफ्नै किसिमको अगेना हुन्छ । अगेनामा तीनवटा ढुङ्गाको चुल्हा गाडिएको हुन्छ । तीनै वटा चुल्हा र सिङ्गो अगेनालाई फेरि ढुङ्गाकै बारा हालिएको हुन्छ ।
तीनवटा चुल्हा मध्ये एउटा मूल चुल्हा हुन्छ । जसलाई "पाखालुङ" भनिन्छ । जसको अर्थ बाऊपट्टिका पूर्खाहरुको प्रतीक मानिन्छ ।
त्यसैगरी अर्कोलाई "माखालुङ" भनिन्छ । "माखालुङ",,, आमापट्टीको पूर्खाहरुको प्रतीक हो ।
र, तेश्रो चुल्होलाई "साम्बेलुङ" भनिन्छ । "साम्बेलुङ" ले छोरी-चेली, कुटुम्बपट्टीको पूर्खाहरुको प्रतीक हो ।
यी तिनै चुल्हो र अगेनालाई घेरेर ढुङ्गाकै बारा लगाइएको हुन्छ जसलाई "तोरोलुङ" भनिन्छ । यसले आमापट्टि, बाउपट्टि, छोरीचेली र कुलकुटुम्बपट्टिका पूर्खाहरुलाई एउटै घेरोमा राखेर सबै पूजनीय छन्, कोही पनि पराई होइनन् भन्ने मनोविज्ञानमा किरातीहरुमा यूगौंदेखि भर्दै आएको छ ।
अर्थात सारा मानव सभ्यताका गाथा,,, तीन चुल्हामा उपलब्ध छ भन्ने बिश्वास मुन्धुम (किरातीहरुको मौलिक दर्शन) ले किरातीहरुलाई दिंदै आएको छ ।

यो समीक्षा होइन, अपेक्षा हो

करिव दुई वर्ष अगाडि उज्यालो ९० नेटवर्कको रात्रीकालिन प्रस्तुति "श्रुति सम्वेग" मा प्रशारित भैरहेको थियो सुविन भट्टराईको उपन्यास "समर लभ" ।

काठमाण्डौको नाम चलेका पुस्तक पसलदेखि रत्नपार्कको फूटपाथसम्म कयौंपटक उचाल्दै र पानाहरु पल्टाउँदै छोडेको किताब मध्येको थियो त्यो । मलेसिया आउँदा मैले खरिद गरेका करिब पाँच हजार रुपैयाँका पुस्तकहरुमा "समर लभ" परेन । सायद दस बर्ष अगाडि "समर लभ" भेटेको हुन्थे भने मेरो पहिलो रोजाई त्यही बन्थ्यो । "समर लभ" मात्रै होइनन् करिब १२ किलो किताबमा उपन्यास कुनै पनि परेनन् ।

श्रुति सम्वेग मार्फत अच्युत घिमिरेको आवाजमा समर लभका केही शृङ्खला सुन्दा शब्दका बान्कीले छोएको थियो । कथा भन्ने तरिका भिन्न थिएन, तर कथामा टिनएज पात्रहरुको थुप्रै मनोविज्ञानहरु उद्घाटित गरिएको थियो । थोरै सुन्दा नै लाग्यो उपन्यास पढ्दा बोरिङ फिल गर्नु पर्दैन । तर मैले पढ्ने होइन सुन्ने मनस्थिति बनाएँ ।
मलेसिया आएको केही समयपछि उपन्यासका सबै भागहरु डाउण्लोड गरेर सुने । टिनएजहरुको मनमा उत्पन्न हुने थुप्रै भाव र उनिहरुले ब्यक्त गर्ने ब्यवहार बारे आम पाठकलाई जानकारी दिनु उपन्यासको सबल पक्ष हो । सायद आफै टिनएज भइएको हुन्थ्यो भने लभ गर्न सिकिन्थ्यो पनि कि ?

"समर लभ" वाचनको अन्तिम शृङ्खलामा उपन्यासकार सुविन भट्टराईलाई नै प्रस्तोताले स्टुडियोमा उभ्याए । अनि पो थाहा भो उपन्यासकार त मेरै छिमेकी गाविसमा जन्मेर मोरङमा बसाइँ झरेका मभन्दा निक्कै कलिला यूवा रहेछन् । उपन्यासकारलाई फेसबुकमा सर्च गरें र उपन्यास मनपरेको भन्दै म्यासेज लेखें । उताबाट धन्यवाद ब्यक्त गरियो, मैले फेरि शुभकामना भने ।

"समर लभ" अपुरो थियो । केही समयपछि उपन्यासकारको फेसबुक स्टाटसमा देखें, "साया" आउँदैछ । "समर लभ" कि प्रमुख पात्र "साया" आफै पुस्तकको नाम बनेर आउँदैछ भन्ने थाहा पाउँदा एक प्रकारले खुशी लाग्यो । "समर लभ" मा लेखक आफ्नो जन्म थलो उक्लेनन् तर "साया" मा उनी जन्म थलो पुगुन् भन्ने चाहना मेरो थियो । लेखकको स्टाटसमा त्यही प्रतिक्रिया लेखें । तर उनले मेरो प्रतिक्रिया हेरे हेरेनन् उनैले जानुन् ।

"समर लभ", टिनएजहरुको प्रेम र रोमान्समा आधारित उपन्यास मात्र थिएन, दुई फरक समुदायका यूवा युवती बीचको प्रेम कथा थियो त्यसमा । सिङ्गो देश जातीय पहिचानको पक्ष/बिपक्षमा बहस गरिरहेको बेला अतीत शर्मा (बाहुन) र साया शाक्य (नेवार) बीचको प्रेमलाई कस्तो जातीय रङ्ग दिईन्छ भन्ने कुरो "समर लभ" ले थोरै मात्र बोल्यो । धेरै कुरो "साया" मा खुल्न सक्थ्यो । त्यसैले मेरो पर्खाई "साया" बन्न पुग्यो ।

प्रकाशनको करिब एक बर्षपछि यूटुवबाट "साया" लाई आफ्नो मोबाइल भित्र तान्न सकें । बाग्लुङको कुनै एक एफ.एमको लागि वाचन गरिएको "साया", उज्यालो नाइन्टी नेटवर्कका प्रस्तोता अच्युत घिमिरेको जस्तो वाणीमा थिएन । तर पनि सुन्नुको विकल्प थिएन, सुने ।

आधा नसकिन्दै "साया" सकियो कि भन्ने लागिरहेको थियो । सुस्मिता र सायाको भेटपछि उपन्यास तन्काउनु पर्ने खास कारण मैले देखिरहेको थिइँन । अझ अघिल्लो उपन्यास "समर लभ" मा एकाएक परिवर्तन भएकि सायाको जवाफ मात्रै "साया" लाई मान्ने हो भने साया र अतितको पुनर्मिलन पछि उपन्यास सकिएकै हो । तर उपन्यास रोकिएन, तन्किनै रह्यो ।
उपन्यास तन्काउने क्रममा लेखक स्वयंको मनोविज्ञान पोखिन थाल्यो । लेखकले सायाका बाबूलाई खलनायक कै रुपमा उभ्याए । सायाको बाबू खलनायक बन्नुको पछाडि नेवारी समुदायमा बिद्यमान जातीय चिन्तन हावी थियो । तर यहि दाँजोमा अतीत शर्माका बाबू-आमा र उनका नातेदारहरु सामान्य देखिए ।
नेपाली समाजको वास्तविकतालाई खोतलेर हेर्ने हो भने विवाहको सवालमा ब्राह्मण समुदाय पनि कम संकीर्ण छैन । तर त्यसको छनक उपन्यासमा देखिन्दैन । बरु बिना अवरोध एक नेवारनी केटीलाई घर भित्र्याउन अतीत शर्माका बाबू-आमा तयार मात्र हुँदैनन्, भान्छामा छिर्न र घर बाहिर छोरीलाई समेत कुख्राको मासु पकाएर खान दिन तयार हुन्छन् ।
सामान्य किशान जस्ता लाग्ने अतीत शर्माका बाबू-आमालाई जातीय सवालमा यति उदार र काठमाडौंको स्थायी बासिन्दा र राम्रै पारिवारिक घरानाका साया शाक्यको बाबू-आमालाई कठोर देखाइनु उपन्यासलाई तन्काईरहनु मात्रै थिएन बल्की लेखकले आफ्नो समुदायलाई उदार देखाउन एउटा चलाकी पनि गरेका हुन् भन्न सकिन्छ ।
"साया" उपन्यास लेखिएको २०७१ सालमा हो । तर २०७१ सालको तिसौं-चालिसौं बर्ष अगाडि काठमाण्डौका पढेलेखेका र उच्च घरानाका नेवारनीहरु ब्राह्मण-क्षेत्री-मधेसीले बिवाह गरेर राम्रैसँग घरजम गरिरहेको उदाहरण प्रशस्तै छन् । बर्तमान प्रधानमन्त्री मात्र होइन केही पूर्व र हुनेवाला धेरै बाहुन समुदायका प्रधानमन्त्री-मन्त्रीहरुको श्रीमती नेवारनी छन् । नेवारी समुदायसँग अरु समुदायका यूवा-यूवतीको मागेरै विवाह भैरहेको छ यतिबेला । यी र यस्ता नजिर हुँदाहुँदै पनि बैवाहिक सवालमा अति संकीर्ण समुदायको रुपमा नेवारलाई चित्रण गरिनु पक्कै स्वतन्त्र लेखकको धर्म होइन ।

म पाठक, अझ त्यहाँ पुगेर बढी छट्पटिएँ, जब अतीत शर्मालाई आफ्नी छोरी दिएको घोषणा सायाको बाबू-आमाले गर्छन् तर समाजमा अरुले कुरा काट्ने भयले उनीहरुलाई बिदेशतिरै सेटल हुन सल्लाह दिन्छन् । वास्तवमा यो उपन्यासको सबैभन्दा डरलाग्दो पक्ष हो । म जस्ता टिनएज पार गरिसकेकाहरुलाई त नछोला तर टिनेजरहरुले के प्रेरणा लिने ? कि, अन्तर जातीय बिवाहलाई सफल बनाउने हो भने बिदेशतिरै भासिनु पर्छ भन्ने शिक्षा यो प्रसंगले दिंदैन र ?

अतीत शर्माले आफ्नो बाल्यकाल सम्झने क्रममा मुसहर वस्ती, मुसाको खोजी र मुसाको मासु एकपटक खाएको प्रसंग पनि उपन्यासमा आउँछ । मुसाको मासु खाएको थाहा पाउन साथ बाबुको चड्कन खाएको र त्यसपछि मुसहर वस्तीमा कहिल्यै नगएको प्रशंग पछि त्यो च्याप्टर बन्द हुन्छ । यस प्रशंगले मुसाको मासु खानु घृणित कार्य हो भन्ने मनोभाव पाठकहरुमा स्वत: उत्पन्न हुन्छ । यो प्रशंगले मुसहरहरुप्रति हेर्ने पाठकहरुको दृष्टिकोण नकारात्मक त बनाउँछ नै, भरखरै आफ्नो चेतना उघार्दै गरेका मुसहरहरुलाई समेत स्तब्ध पार्छ । एक पूर्व प्रधानमन्त्रीले मुसहरको घरमा बास बसेर मुसहरले बनाएको मुसाको मासु सहितको परिकार खाएको ताजा तथ्य हुँदाहुँदै एकोहोरो घृणाभाव उत्पन्न हुने प्रशंग पक्कै पनि उपन्यासको सुन्दर पक्ष होइन ।

उपन्यासले म र मभन्दा माथि उमेर भएका पाठकलाई खासै प्रभाव पार्दैन र "साया" उपन्यास पढ्नु उति रुचिको बिषय पनि होइन । तर टिनएजरहरुको लागि "समर लभ" र "साया" गतिलो खुराक हुन् । यी दुवै उपन्यासमा उनीहरुले आफू र आफ्नो परिवेश पाउँछन् । कतै कतै अतीत, साया वा सकुन्तला आफै पो हुँ कि भन्ने भान पनि टिनएजरहरुमा पर्न सक्छ । "समर लभ" ले सायाप्रति अलिकति आक्रोश र अतीतप्रति सहानुभूति दर्शाउन बाहेक खास मनोभाव पाठकमा उत्पन्न गराउँदैन, बरु बाँकी कथाको माग गर्छ । तर "साया" ले अन्तर जातीय अफेयरमा रहेका/नरहेका टिनएजरहरुलाई यो देश र समाज नै हाम्रो प्रेमको बिरुद्धमा छ भन्ने भाव उत्पन्न गराउँछ । हैसियत हुनेहरु यूरोप-अमेरिका पुगेर सेटल गरौंला भन्दै चुप बस्लान् तर समाजका ती बिपन्न बर्गका टिनएजरहरु, जसले "साया" उपन्यास पढिसकेपछि कुन मानशिकतामा पुगे होलान् ? म यो कुरामा बढी गम्भीर छु, लेखक जी तपाईलाई त्यस्तो केही लागेन ?

राजनीति भित्रको अँध्यारो पक्ष-५

मैले केही नजिकबाट चिनेका दुई यूवा नेता हाल संसदका सदस्य छन् । ती दुईबीचमा केही यस्ता समानता छन् ।
१) दुवै जना एउटै पार्टीको केन्द्रीय तहमा क्रियाशिल छन् ।
२) दुवै जना एउटै समुदायका हुन् ।
३) दुवै जना विद्यार्थी राजनीति हुँदै जिल्ला तहमा क्रियाशिल भएर केन्द्रमा पुगेका हुन् ।

यी दुई जनामा थुप्रै असमानता छ ।
१) एक जना पूर्वका र एक जना पश्चिममा हुन् ।
२) दुईजना मध्ये एकजना प्रायः राष्ट्रिय मुद्धामा केन्द्रित हुन्छन् । राष्ट्रिय-अन्तर्राष्ट्रिय बहसमा कलम चलाउनु र सामाजिक सञ्जालहरुमा पनि त्यही प्रकारका स्टाटस लेख्नु उनको दिनचर्या भित्र पर्छ ।
उनी जुन पार्टीमा कृयाशिल छन्, त्यो पार्टीले लिएका कतिपय नीतिसँग उनको असहमति छ भने बहसहरुमा स्पस्ट दृष्टिकोण राख्छन् । विपक्षीहरु वा असहमत पक्षहरुको विरुद्धमा उनी समालोचनात्मक ढंगले प्रस्तुत हुन्छन् ।आफ्नो दृष्टिकोणमा कोही गलत बाटोमा हिँडिरहेका छन् भन्ने लागेमा उनीहरुलाई सिध्याउनु हैन सुधार्नु पर्छ भन्ने उनको भित्री आशय हुन्छ । उनी गुटलाई हत्तपत्त प्रश्रय दिंदैनन् र गुटगत बहसमा कमै संलग्न हुन्छन् । आफूले गरेका साना-तिना कामको प्रचार गरेर आत्मरतीमा रमाउनु उनको चाहना हैन । यद्यपि आफू निर्वाचित क्षेत्रका जनतासँगको भेट त त्यस क्षेत्रको बिकास बारे पनि उनी उतिकै सजग छन् । तर उनको मूल ध्येय राष्ट्रिय सवालहरुमा नै बढी केन्द्रित हुनु हो ।

३) ती दुई मध्ये अर्को जना कमै लेख्छन् । लेखिहाले पनि स्थानिय अखबार वा पार्टीका स्थानीय प्रकाशनहरुमा सामान्य विषयमा केन्द्रित हुन्छन् । चातुर्यता उनको सबैभन्दा ठूलो हतियार हो र तात्कालिन रुपमा हुने फाइदालाई उनी हतपत्त उम्कन दिंदैनन् । दीर्घकालीन चिन्तन प्रायः देखिन्दैन उनमा । सामाजिक सञ्जालमा भने उनको पनि सक्रियता छ । प्रायः सामाजिक सञ्जालमा आफ्नो निर्वाचन क्षेत्रका विभिन्न गतिविधिमा सामेल भएका तस्विर र साना-तिना कामको चर्चा नै बढी हुने गर्छन् । राष्ट्रिय सवालहरुमा उनको बुझाई के हो भन्ने कुरा थाहा पाउन मुस्किलै पर्छ । उनमा एउटा गतिलो मनोविज्ञान देखिन्छ-- त्यो हो आफ्नो निर्वाचन क्षेत्रका जनताहरुसँग संधै सम्पर्कमा रहिरहने । त्यसैले गाउँ परिषद्, बिद्यालयको उद्घाटन आदि जस्ता कार्यक्रमहरुमा प्रायः आफै पुग्न चाहान्छन् । अर्थात फेरि पनि चुनाव जित्नको लागि आफ्नो क्षेत्रका जनताहरुलाई आफ्नो पक्षमा पारिरहने । यसो गर्दा गाउँघरमा विकास निर्माणका सामान्य कामहरुमा केही सहयोग भने पक्कै पुगेको छ तर आमूल परिवर्तन निम्ति त्यसले कुनै आधार तयार गर्दैन । उनी पार्टी भित्रको एक खास ग्रुपका मानिस हुन् । प्राय: गुटको हितमा उनी केन्द्रित देखिन्छन् । पार्टीको बिचारभन्दा बाहिर उनी जान चाहँदैनन् । पार्टीको आधिकारिक धारणा नै उनको धारणा हुन्छ । बिपक्षी वा असहमत पक्षमाथि उनी बाहिर नम्र देखिए पनि ब्यवहारमा कट्टर छन् । कि आफ्नै बाटोमा हिंडाउनु नभए सिध्याउनु नै पर्छ भन्ने उनको आसय देखिन्छ ।

यी दुई प्रकारको चरित्र भएका नेताहरु प्रायः हरेक पार्टीमा छन् । तर नेपाली आधुनिक राजनीतिको इतिहास देखि वर्तमानसम्म हेर्ने हो भने पहिलो प्रकारको नेता प्रायः पार्टीमा उपेक्षित र दोश्रो प्रकारको नेता सधैं अवसरले लैस हुँदै आएका देखिन्छन् । प्रायः पार्टीको नेतृत्वतहमा दोश्रो प्रकारका नेता नै पुग्ने र पहिलो प्रकारका नेताहरु या त हराउने या त खुम्चिएर बस्न बाध्य हुँदै आएका देखिन्छन् ।

हामी अधिकांस जनताहरु पनि दोश्रो प्रकारको नेतालाई नै राम्रो मान्ने गर्छौं----कि उसले मलाई चिनोस्, मेरो बारेमा बोलिदेओस्, मेरो बारेमा सोचिदेओस्,,,त्यो नै महान लाग्छ । कार्यकर्ताहरुलाई त झन् त्यस्ता नेता राम्रो नलागेर को लाग्नु ?

तर समग्र राष्ट्रको लागि, अन्तर्राष्ट्रिय सम्बन्ध र त्यससँग सहकार्यको लागि, राष्ट्रिय एकता र दीगो विकासको लागि, सुशासन र पारदर्शिताको लागि, परिवर्तन र समग्र उत्थानको लागि दोश्रो होइन पहिलो प्रकारको नेताको आवश्यकता छ । तर यो कुरा हामीले कहिले थाहा पाउने ?

Wednesday, December 23, 2015

बाल्य स्मृति-४

घाम-जूनको आकार नाङ्लो जत्रै

जन्मन्दा कोही पनि ब्यक्ति अपराधी वा महात्मा भएर जन्मदैनन् । बुद्ध या हिटलर, महात्मा गान्धी या क्यालिगुला, मदरटेरेसा या चार्ल्स सोभराज, दिलमाया श्रेष्ठ या दिनेश अधिकारी 'चरी', कृष्णप्रसाद भट्टराई या खुमबहादुर खड्का, कोही पनि जन्मदा महात्मा या अपराधी थिएनन् । अर्थात बालबालिका भनेका काँचो माटो हुन्, कस्तो आकारमा ढाल्ने हाम्रै हातमा छ ।

जन्मदा सँगै लिएर आउने बंशाणुगत गुणले मानिसको ब्यक्तित्वमा केही प्रभाव छोड्छ त्यो बेग्लै कुरो हो तर अधिकांस ब्यक्तिको निर्माण उसको सिकाई र भोगाई बाटै हुन्छ । बालबालिकाहरुको सिकाई प्रक्रिया बिद्यालयमा मात्र होइन, पाइला- पाइलामा भैरहेको हुन्छ । तर हामी यस कुराको अलिकति पनि ख्याल गर्दैनौं ।
बालबालिकाको सामुन्ने झगडा गर्छौं, अरुको कुरा काट्छौं, अरुलाई दोष लगाउछौं, अरुलाई गाली गर्छौं, अरुलाई हानी हुने काम गर्छौं, पशु-पंक्षीको हत्या गर्छौं, स्वास्थ्यलाई प्रतिकुल असर पार्ने वस्तुहरुको सेवन गर्छौं र हाम्रा छोराछोरीहरु असल बनुन् भन्ने कामना गर्छौं ।

सबैभन्दा राम्रो स्कूलमा पढाउँदा पढाउँदै, अरुको भन्दा राम्रो-महंगो ड्रेस किनिदिंदा किनिदिंदै, अरुलाईभन्दा ज्यादा पकेट खर्च दिंदा दिंदै पनि बच्चाहरु बदमास बन्छन् । त्योबेला हामी सबैभन्दा गलत, बच्चालाई नै ठान्छौं र गाली गर्छौं/कुट्छौं/ पिट्छौं । तर आफ्नो, परिवारको, सामाजको गल्ती के छ, खोज्दैनौं । त्यसैले त जन्मदा बुद्ध बनेर जन्मिएको बालक पछि हिटलर, क्यालिगुला, चर्ल्स सोभराज, दाउद इब्राहिम, दिनेश अधिकारी 'चरी', कुमार घैंटे जस्ता बन्न पुग्छन् ।

जतिसुकै ठूलो पदीय आशनमा बसे पनि अरुलाई गाली नगरी निन्द्रा नलाग्ने वर्तमान प्रधानमन्त्री केपी ओली कै उदाहरण काफी छ । कि, सानो हुँदा ओली ज्यूले बेहोर्नु भएको अभाव, अपमान, तिरस्कार, पीडा, उपेक्षा आदिले नै वहाँको ब्यक्तित्व निर्माण भएको हो । ओली ज्यूको दिमागले पक्कै भन्छ- मैले योबेला छुचो बोल्नु हुँदैन । तर गंगटाको ढाडमा बसेर समुन्द्रको यात्रामा निस्केको बिच्छीले आफ्नो स्वभावलाई नियन्त्रणमा राख्न नसकेपछि दुवै डुबेको नीति कथा झैं ओली ज्यू आफ्नै स्वभावले निर्माण गरेको तिरस्कारको समुन्द्रमा डुब्दै र देशलाई पनि डुबाउँदै हुनुहुन्छ ।
म एउटा सामान्य परिवारमा जन्मिएको बालक । ऐतिहासिक पूर्खौली थलोमा जन्मिएको र बुवा-आमा परिश्रमी भएकोले हुनुपर्छ खान र लाउनै नपाउने अवस्था भने बेहोरिएन । तर शिक्षा र चेतनाको अभाव भने पाइला-पाइलामा आइलाग्यो । आमा पूर्ण निरक्षर, बुवा सामान्य पढालेखा । मेरो बाल मानशिकतामा उत्पन्न भएको सम्वेगहरुलाई बुझ्ने क्षमता मेरो बुवा र आमाबाट थिएन ।

बच्चाको पहिलो पाठशाला घर र पहिलो शिक्षक आमा । म मेरो आमालाई घाम र जूनको बिशालताको बारेमा प्रश्न गर्थें । आमा मकैको सामल केलाउँदै गरेको नाङ्लोलाई देखाउँदै भन्नू हुन्थ्यो-घाम र जून यत्रै हुन्छ । नाङ्गो आँखाले हेर्दा कचौरा जत्रै देखिने घाम र जूनलाई आमाले नाङ्लो जत्रो हुन्छ भनिदिनु हुँदा म आश्चर्यले जिब्रो टोक्थें । बिहानै बोबोरेम डाँडाबाट घाम उदाउँदा, त्यो डाँडामा पुग्न पाए घामलाई छुन सकिन्थ्यो होला भनेर बिश्वास गर्थें । पूर्णिमाभन्दा अगाडि-पछाडि देखिने जूनको आकार बारे सहि जानकारी दिने हैसियत मेरो आमा-बुवामा थिएन ।
हावा र बादल कसरी उत्पन्न हुन्छ, चट्याङ कसरी पर्छ, असिना कसरी बन्छ, शीत पर्नुको कारण के हो, यी र यस्ता अनेकौं प्रश्नहरु मेरो सामु थिए, तर प्रश्नको सहि उत्तर दिने कोही थिएनन् । पृथ्वी होइन घाम सरिरहेको ठान्नु, बादल छिटोछिटो उडिरहेको बेला जून कुदिरहेको देख्नु र हावाको कारण होइन वादल स्वयंमा उड्ने क्षमता छ भन्ने बुझ्नु अनौठो थिएन ।

आमा भोर्लाको पातमा सुर्ती बेह्रेर बिंडी बनाउनु हुन्थ्यो र मलाई अगेनामा सल्काउन पठाउनु हुन्थ्यो । तर त्यो बिंडी मैले तानेको देख्नु भए उत्तिबेलै झापड लाएर तँ बिंडी खाने भन्दै गाली गर्नु हुन्थ्यो । हाटबजार जाँदा रक्सीले मात्तिएर बुवा घर आउनु हुन्थ्यो र केटाकेटीले रक्सी खानु हुँदैन भनेर अर्ति दिनु हुन्थ्यो । एकपटक तिहारको बेला हाम्रो घरमा तासको खाल जमेको थियो । गाउँ भरिका अग्रजहरु बसेर तास खेलिरहेका थिए, तास खेल्नेमा स्वयं मेरो बुवा पनि हुनुहुन्थ्यो । म पनि छेउमा बसेर हेर्दै थिएँ । तासको खेलबारे मलाई के थाहा ? मलाई त त्यसमा भएको रङ्गी-बिरंगी फोटोहरुले आकर्षित गरिरहेको थियो । तासमा भएको बुटा गनेर एक-दुई-तीन भन्न सक्थें बरु । मलाई तास छुन मन पर्यो र छोएँ । बुवाले एक्कासी गालामा थप्प्ड हन्नु भो । उहाँको नजरमा मैले तास छुनु खराब थियो । तर मैले सबैभन्दा जान्ने र ठूला मानेकाहरुले खेल्ने चिज कसरी खराब हुन्छ ? मैले सोंच्ने त त्यही न थियो त्यसबेला । 

कल्पनाशीलता सायद ममा सानैबाट थियो । प्रकृतिका अनेकौं रंगहरुलाई म कल्पनामा सजाउँथे । हिमाल देख्दै नदेखेको म बच्चोले बोबोरेम डाँडामा चरा आकार लिएर उभिएको रुखलाई धेरै पछिसम्म "हिमाल चुचुरी" बनाईरहें । सिस्नेम्पा जङ्गलमा लम्पसार भीरलाई दौडिरहेको पाँडुंले कुकुर बनाएर बोलाईरहें । समुन्द्र भनेर सुनेकै आधारमा चिप्रीङ खोलोको करालो छाँगोमा कलकल गर्दै बगिरहेको पानीमा त्यसको छविचित्र कोरिरहें । पाँच कक्षाको नेपाली किताबमा भएको "नालापानी" कविता मैले चार कक्षामा हुँदै पढेको थिएँ, त्यो कविता कण्ठ पनि थियो । कवितामा भएको "बैरी" शब्दको अर्थ मैले जानिन । शब्दार्थतिर ध्यान ध्यान पुगेन । "बैरी" शब्द अंग्रेजहरुलाई प्रयोग गरिएको हो भन्ने त थाहा भो । तर किन "बैरी" भनियो ? म अलमल्लमा परें । उसबेला मैले "बैरी" सँग मिल्दो जुल्दो शब्द जानेको भनेकै "बहिरी" थियो । मैले "बैरी" को अर्थ यसरी लाएँ-अंग्रेजहरु नेपाली नबुझ्ने भएकोले बोलाउँदा बुझेनन् र बोलेनन् । त्यसपछि नेपालीहरुले उनीहरूलाई बहिरो (कान नसुन्ने) ठानेर "बैरी" भने । पछि 'बैरी' को अर्थ 'सत्रु' हो भन्ने थाहा पाउँदा कम्ती नमज्जा लागेन । त्यत्रो चिन्तनपछि निर्माण गरेको मेरो निश्कर्ष एकै चोटि ढल्दा कहाँ मज्जा लाग्थ्यो र ?

प्रत्येक किताबमा राजाको तस्विर, कवितामा राजाकै गुणगान, प्रार्थानामा राजाकै महिमा, प्रजातन्त्र दिवस, राष्ट्रिय एकता दिवस, बाल दिवस, पञ्चायत दिवस, राजा-रानीको जन्म-जयन्ती आदिमा राजाकै जयजयकार, अहो ! जताततै राजैराजा । राजाको बारे कसैले नराम्रो बोल्दा कटक्क मन दुख्ने । राजा महान, राजा सबैभन्दा माथी, राजा सबैभन्दा दयालु, यस्तो पनि लाग्थ्यो-राजाकै कारणले हामी बाँचिरहेका छौं । जब बहुदल आयो, तब बिस्तारै राजाप्रतिको आस्था खण्डित हुँदै गयो । राजतन्त्रको अन्त्य हुनुभन्दा धेरै अगाडि नै मनको सिंहासनबाट राजा हटिसकेको थियो । तर बाल्य मस्तिष्कमा भरिएको सूचनाको प्रभाव हट्न सानोतिनो धक्काले सम्भव हुँदैन भन्ने कुरो अहिले आएर महशुस गर्दैछु । भूत हुँदैन भन्ने बिश्वास हुँदाहुँदै पनि अध्यारोमा मन डराउँछ । शरीर र आत्माको सम्बन्ध ज्यूँदो रहिन्जेलसम्म मात्र हो भन्ने जानकारी हुँदाहुँदै पनि मृत आफन्तहरुको आत्माले आफूलाई लखेटिरहेको भान हुन्छ। यी र यस्ता प्रभावहरु अहिले आएर बिकसित भएका होइनन्, यो त बाल्य अवस्थाबाटै विभिन्न सूचनाद्वारा हाम्रो मस्तिष्कमा घुसेका हुन् । बालबालिकाहरु काँचो माटो हुन्, कस्तो आकार दिने हाम्रै हातमा छ ।

तर समस्या यो छ-कुनै नेतालाई देखाएर बाबू वहाँ जस्तो बन्नुपर्छ है भन्यो भने भोलि त्यही नेता अख्तियारको फन्दामा परेर भ्रष्ट ठहरिन सक्छ । कुनै नामी इन्जिनियरलाई देखाएर नानू वहाँ जस्तै बन्नु पर्छ है भनेर भन्यो भने भोलि त्यही इन्जिनियर कमिसन खाएर कम्जोर संरचनालाई पास गरेको केसमा जेल पर्न सक्छ । कुनै प्रख्यात डाक्टरलाई देखाएर बाबू-नानीहरु वहाँ जस्तै बन्नुपर्छ है भनेर भन्यो भने त्यही डाक्टर मानव अङ्ग तस्करी गरेको प्रमाण सहित अदालतमा उभ्याइन सक्छ । म चाहन्छु, सानोमा जे पढें/सिकें त्यसैको बिरुद्ध मैले जस्तै भावी पुस्ताले संघर्ष गर्न नपरोस् ।

बाल्य स्मृति--३

शिक्षकको गोरु चुटाईपछि तीन दिन बेपत्ता

मैले सबैभन्दा धेरै दोहोर्याएर हेरेको फ्लिम हो- 'तारे जमिन पर' । कति पटक हेरें यकिन छैन तर जति पटक हेर्छु त्यति नै फ्लिमका दृश्यहरुले अन्तर हृदयमा भावावेश उत्पन्न गर्छ ।

 हेर्दा अरु जस्तै सामान्य तर पढ्न-लेख्नमा ध्यान नै केन्द्रीत गर्न नसक्ने बालक-इसान अवस्थी (दर्सिल सफारी) को कथा फ्लिमले बोकेको छ । जस्तोसुकै बुद्धु बालबालिका किन नहोस्, तिनीहरुलाई डर र सजायद्वारा ठिक ठाउँमा ल्याउन सकिन्छ भन्ने मनोविज्ञान बोकेको समाजमा इसान अवस्थीले भोग्नु परेको शारीरिक-मानशिक यातनाको डरमर्दो चित्र फ्लिमको रिलले घुमाउँछ । तर शैक्षिक सत्रको बीचमा एक अस्थायी शिक्षकको आगमन हुन्छ, इसान अध्यनतर स्कूममा । तिनै शिक्षक (अमिर खान) द्वारा इसान (दर्सिल) को उद्धार हुन्छ ।

फ्लिमको रिलमा त इसानको उद्धार गर्न अमिर खान आइपुग्छ तर कयौं बालबालिकाहरुको रियल लाइफमा अमिर खान अभिनित पात्रहरुको आगमन हुँदैन । अन्ततः ती फरक क्षमता/स्वभावका इसानहरु सिकाई प्रक्रियाबाटै जीवनभर अलग हुन्छन् ।

ऊ र म एउटै गाउँमा जन्मिएर सँगै हरिगुड्डु खेल्दै हुर्किएको मान्छे । हाम्रो जन्म, महिना मात्र फरक तर साल एउटै । तर ऊ दुई बर्ष ढिला स्कुल गयो । म दुईमा पढ्दा ऊ बाह्रखरी सिक्दै थियो । म पाँचमा पुग्दा ऊ तीनमा पढ्थ्यो । पढाईमा कमजोर भएको कारण तानतुन पास (बिषय लागेर पास हुनेलाई उसबेला हामी तानतुने पास भन्थ्यौं) गर्दै तीनसम्म पुगेको थियो । तर तीन क्लास मै उसको पढाइ रोकियो । ऊ ठ्याक्कै 'तारे जमिन पर' को मुख्य चरित्र 'इसान अवस्थी' जस्तो त हैन तर घटना झण्डै 'इसान अवस्थी' ले झैं बेहोर्नु पर्यो उसले ।

मैले पहिलो शृङ्खलामा नेपाली शिक्षक बारे लेखेको थिएँ, तिनै शिक्षक उसको जीवनमा भिलेन बनिदियो । शिक्षकले सोधेको कुनै पनि कुरा उसले नमिलाएपछि दिनदिनै कुटाई खान थाल्यो । अति रिसाहा स्वभावका ती शिक्षकको कुटाई, गोरु कुटाई नै हुन्थ्यो । उसको कलिलो ज्यानले कति नै पो धान्न सक्थ्यो र ? दिनदिनैको कुटाई थापेको हत्केला धेरै दुखेपछि शिक्षकले छडी उज्याउन साथ आफ्नो ढाड थाप्न थालेछ । शिक्षकले 'कहाँ कुटौं' भनेर सोध्दा ढाड देखाउँदै, 'यहाँ' भन्थ्यो ऊ । त्यो कुरा स्कूलमा भाइरल भएर फिँजियो । हामीले त्यो साथीलाई त्यही कुरामा हदैसम्म जिस्कायौं । गाउँमा ठूला-बडाहरुलाई सुनायौं पनि । अर्कोदिन ऊ स्कुल आएन, तर घरबाट भने स्कुल जान्छु भनेर बेलैमा निस्किएको रहेछ । बेलुका ऊ घर गएन । उसको परिवारले खोजी गर्न थाल्यो, खोजी गर्ने क्रममा गाउँलेहरू पनि मिसिए तर रातभर खोज्दा पनि पत्तो लागेन। परिवारको ऊ एक्लो सन्तान, बुवा-आमाको होस् ठेगानमा थिएन । टाढा-टाढाका नर-नातातिर पनि खोजी भो तर हराएको भोलिपल्ट पनि भेटिएन ।

ऊ हराएको पर्सिपल्ट हामी स्कुल जाँदै थियौं, अचानक गाई ग्वालीमा सर्लाकसुर्लुकको आवाज आयो । त्यो ग्वाली हामी स्कुल जानेबाटो भन्दा एक ढिम्कना मुनि थियो । त्यस ग्वालीको घरधनीको घर अलिक माथी पर्थ्यो । हामी ग्वालीतर्फ लम्कियौं । ग्वालीको टाँडमा पराल राखिएको थियो, ऊ सकि-नसकी पराल भित्र घुस्दै रहेछ । हामी हल्ला गर्दै बाहिर निस्कियौं र ऊ ग्वालीमा भएको खबर गर्यौं । केही घर, परमात्रै उसको घर थियो, उसको बाबु-आमा रुँदै आइपुगे । हामी हल्लागर्दै गाउँतिर निस्किएपछि ऊ पनि ग्वालीबाट झरेर उधो जङ्गलतिर डौडन थालेछ । तीन दिन देखिको भोकले ऊ हिंड्नै नसक्ने भएको थियो तर कुटाई खानुपर्ने डरले नसकी-नसकी डौडियो । अन्ततः ऊ समातियो र घर लगियो । त्यो दिनदेखि ऊ स्कुल गएन । धेरै बर्षपछि गाउँकै अर्को स्कुल निमावीबाट मावि बन्ने क्रममा ऊ एकै पटक ८ मा भर्ना त भयो तर तीन कक्षा पढ्दापढ्दै स्कुल छोडेको मान्छेले एकैपटक कसरी आठ पास गर्नु ? फेल भयो र स्कूलको पढाइ सधैंको लागि छोडिदियो ।

यतिका बर्षहरु बितेर गए । अनेकौं पाठ्यक्रमहरु फेरिए । स्कूलमा कयौं शिक्षकहरूले अवकास लिए, कयौं नयाँ शिक्षक थपिए  । देशमा अनेकौं तन्त्रहरु आए-गए, अनेकौं सरकार बन्यो-ढल्यो । तर अझै पनि बालबालिकालाई पढाउने तरिका उस्तै छ । बालबालिकालाई दण्ड र सजायद्वारा मात्र अनुशासनमा राखेर पढाउन सकिन्छ भन्ने मनोविज्ञान शिक्षकहरुमा अझसम्म छ । र, बिद्यार्थीलाई कुटेर तह लगाउने शिक्षक मात्र ठिक हो भन्ने बुझाई स्कुल ब्यवस्थापन समिती र अभिभावकहरुमा छ । घरमा पनि बालबालिकाहरुलाई डर-त्रासमा राख्न सकेमात्र बिग्रदैन भन्ने मनोविज्ञान ब्याप्त छ । जब छोराछोरीहरु बाबुको अगाडि हाकाहाकी बोल्न सक्दैन तब छोराछोरीलाई तहमा राखेको भनेर बाबुको नाक ठूलो बनाउने काम गरिन्छ ।

तर यहिँनिर सबैभन्दा ठूलो कम्जोरी भैरहेको छ । बालबालिकाहरुमा भएको अपार सम्भावनालाई घाँटीमा पासो लाएर कलिलैमा परमधाम पठाउने काम घर, समाज र शिक्षालयहरुमा भैरहेको छ । उड्न खोज्दैगरेका बचेराहरुको कलिलो प्वाँख काटेर कसरी तय गर्न सकिन्छ अन्तरिक्षको यात्रा ? सोच्ने बेला अझै भएन र ?