Sunday, November 29, 2015

क्रान्ती र बिश्वास


हुरी चल्छ र पुरानो पात झर्छ
तारा झर्छ र अँध्यारो रात मर्छ
त्यसैले त म हुरी कै विश्वास गर्छु...
पक्कै त्यसले केही न केही गर्छ ।

गीत

 खानु लाउनु दुखै भए, जिउँला हाँसीहाँसी
नसकिने मुरी माया, दिउँला हाँसीहाँसी
सिर्जनाको यात्रा टुट्छ, जब जिन्दगीमा
आफ्नै हातले अनि जहर, प्यूँला हाँसीहाँसी

बाटो भरी काँडै फुलोस्, यात्रा रोकिन्दैन
आकाश भरी बादल डुलोस्, प्रकाश छेकिन्दैन
उपहार पीडै दिए, लिउँला हाँसीहाँसी
सिर्जनाको यात्रा टुट्छ, जब जिन्दगीमा
आफ्नै हातले अनि जहर, प्यूँला हाँसीहाँसी

मर्नु हुन्न सपना त्यो, मनै मरे पनि
झर्नु हुन्न जून फेरि, तारा झरे पनि
फाटोस् बरु यहि मुटु, सिउँला हाँसीहाँसी
सिर्जनाको यात्रा टुट्छ, जब जिन्दगीमा
आफ्नै हातले अनि जहर प्यूँला हाँसीहाँसी

कवि र पागल


जो सधैं
अन्यायको विरुद्ध आगो ओकल्छ
र,...
सत्ताको बिपक्षमा बसेर
नियमापत्ती जनाईरहन्छ
सम्झनुस् त्यो मान्छे
कि, पागल हो
कि, कवि हो ।

मृत्युन्मुख सीमाहरु


दसगजामा उभिएको
जङ्गे पिलर होस्
वा,
समानान्तर कोरिएका लम्बेतान रेखाहरु—
यी काल्पनिक सीमाहरुले
मानवीय चेतना र प्रेमलाई
कहिल्यै रोक्न सक्दैनन्
कहिल्यै छेक्न सक्दैनन् ।


प्रकृति गतिशिल छ
समय गतिशिल छ
प्रकृति र समयको गतिशिलतामा
पुराना पातहरु खस्दै जान्छन्
नयाँ मुनाहरु पलाउँदै जान्छन्
जसरी ढालियो बर्लिन पर्खाल
जसरी मेटियो भियतनामिज रेखा
त्यसैगरी मेटिनेछन् संसारबाट एकदिन
कथित राज्यले निर्माण गरेका खुनी सीमाहरु
किनकि,
जङ्गे पिलर र समानान्तर रेखाहरुले
मानविय चेतना र प्रेमलाई
कहिल्यै रोक्न सक्दैनन्
कहिल्यै छेक्न सक्दैनन् ।

गजल

 कहाँबाट आयो नेता जीको, दरबार बनाउने पैसा ?
खरिद गरि संसदलाई, सरकार बनाउने पैशा ?

कस्तो छ त्यो र कुन रङ्गको-सेतो, हरियो वा कालो ?
अख्तियार र अदालतलाई, लाचार बनाउने पैसा ।

पक्कै पूख्यौली नासो होइन, ठोकेर नै भन्न सक्छु
साधारणले नाघ्नै नसक्ने, संघार बनाउने पैसा ।

सत्ता र शक्ति हातमा हुँदा, लुट्नु लुटेका छन् आज
नेपाल र नेपालीहरुको, निधार बनाउने पैसा ।

खोजिने छ त्यो श्रोत अवश्य, आज नभए नि भोलि
जनतालाई सुनको मुर्गा, बारबार बनाउने पैसा ।

नाकाबन्दी


म देश भित्रै
देश चलाउनेहरुको घेराबन्दीमा छु
सायद त्यसैले ...
नाकाबन्दीले नछोएको हुनुपर्छ ।


नाकाबन्दीले छुन,
राष्ट्रियताको नमिठो गन्ध
प्रत्येक स्वासप्रस्वासमा निस्कनु पर्छ
जो दाँतमा आफैले जमाएका बिकारहरु
दाँतेगुहु बनेको होस्
वा,
कसैले घोकाएर झुटो इतिहास
तैयार पारिएका एकहुल जत्थाको रगतमा
सुटुक्क जाँड घोलेर
भुत्ते खुकुरी अगाडि राखिदिएको होस्
म दुवै परिन,
सायद त्यसैले
नाकाबन्दीले नछोएको हुनुपर्छ ।

नाकाबन्दीले छुन
सुगाका कलिला प्वाँखहरु काटिदिएर
पिंजडामा कैद गरेपछि
'कृष्ण कहौ' बोलेको दिन
उफ्री उफ्री आँगनमा नाच्न सिकेको हुनुपर्छ वा,
उसैको श्रमले उब्जिएर
उसैको श्रमले पाकेको खाना
नमिठो भएको निहुँमा
उसैलाई लात मार्न जानेको हुनुपर्छ
म दुवै परिन
सायद त्यसैले
नाकाबन्दीले नछोएको हुनुपर्छ ।

म घर भित्रै
घरैकाहरुबाट यूगौंदेखि घेरिएको मान्छे
यतिबेला नाकाबन्दीले भन्दा
मधेस र मधेसीको पीडाले
थारु र थारुवानको पीडाले
बढी छोइएको छु ।

गीत


मान्छेलाई मान्छेभन्दा प्यारो भयो जात-धर्म
माया गर्ने मायालुको कसले बुझ्ला भित्री मर्म ?

सिमानाले काटेको छ, सम्बन्धका रेखाहरु
भित्र भित्रै फाटेको छ, भावनाका टेकाहरु
मान्छे हुँ म भन्नलाई, लाग्न थाल्यो आज सर्म
माया गर्ने मायालुको कसले बुझ्ला भित्री मर्म ?


मान्छेलाई मार्न यहाँ, मानिस नै अघि सर्छन्
हृदयमा प्रेमको साटो, घृणा, डाहा, रिश भर्छन्
मान्छेलाई मान्छेबाट अलग्याउने कस्तो कर्म ?
माया गर्ने मायालुको कसले बुझ्ला भित्री मर्म ?