Thursday, May 21, 2015

*खण्डहर मन र अजम्बरी कविता*


फेसबुकको भित्तोभरी
असरल्ल पोखिएका
भूकम्पका पराकम्पनहरुमा
कतै च्यापिएर
कतै थिचिएर
कतै किचिएर
मेरो प्रिय कविता
ला.....मर्यो होला भन्दै
शोकले विह्वल भएको धेरै दिनपछि
बल्ल आज थाहा भो,
कविता त पखेटा लाएर
माथी-माथी आकाशमा पो
कावा खाईएरहेको रहेछ ।
प्रिय कविता तिमीलाई लाखलाख माया
ढले पनि धरहरा
चुँडिए पनि कयौं कोपिलाहरु
भासिए पनि जमिन
होचिए पनि चोमोलुङ्मा
पक्कै उठ्ने छ ती खण्डहरहरुबाट
आधुनिक मानवको नयाँ चेतना
हो त्यो बेला
तिमी नै सबैभन्दा बढी खोजिने छौ
ओ कविता !
तिमी बाँच्नु पर्छ
यो सृष्टि चलिञ्जेल
यो दृष्टि बलिञ्जेल ।

मुक्तक


जातको नाममा घरै भित्र पानी बाराबार छ
धर्मको नाममा मान्छे काटाकाट र मारामार छ
सबैको रगत रातै हुन्छ भनेर जान्दाजान्दै पनि...
बिचारको नाममा लुछालुछ र दाह्रादार छ ।

Muktak

कुनै दिन अग्ला-अग्ला घरहरु, घरधनीको सान थियो
महिनै पिच्छे किराया उठ्दा दुहुनो गाईको भान थियो
भूकम्पीय दृष्टिकोणले जोखिम छ भन्ने जान्दा जान्दै
खासमा उसले बनाएको, घर होइन एउटा चिहान थियो ।

मुक्तक


कसैले परमेश्वरको प्रार्थाना गरे भूइचालो आउँदा
कोही मूर्ति अधि लम्पसार परे भूइचालो आउँदा
खै त ती तेत्तीस कोटि देवताहरु उद्धार गर्न आएको ?...
कि मन्दिरले पुरिएर आफै मरे भुइँचालो आउँदा ।

छोरीलाई शुभकामना, जन्म दिनको


यतिबेला
घुर्यानभरि मकैको बोट/ सिमसारमा धानको बिऊ
नचाउँदै कलिला पात हावामा...

माथी...माथी
बादलका स-साना टुक्राहरुमा
छेलिन्दै निस्किन्दै
उभै उभै
बेग हानिरहेको कर्याङकुरुङ देखेर
उचालिन्दैछ दिनरात
जमिनभन्दा माथि-माथी
र,
छोरी तिमी पनि
चढ्दै छौ आजै देखि
उमेरको अर्को खुट्किलो ।

यो बेला
घरै छेउको बाँस झ्याङमा बसेर
'कुक्कु' खेल्न हाजिर छ कोइली
कोठेबारीमा मग्मगाउँदैछ इन्द्रकमल
मट्याङ्ग्रा बाट्दैछन् सुन्तला बोट
चल्ला हुर्काउँदैछ आरुको रूख
ऐना टल्काउँदैछ पानी-पँधेरो
चिर्दै सन्नाटा ढोल र झ्याम्टाले
गाउँदैछ निरन्तर स्यामुना भाका
नाच्दैछन् सिली तोयामा-खियामा
केवल तिम्रो जन्मोत्सवमा ।

हो हामी
प्रकृतिलाई पर राखेर
कुनै अलौकिक शक्तिलाई नस्विकार्ने
एउटा आदिम जाती
निभाएर बलेको दियो
काटेर एक डल्लो केक
ताली पड्काउँदै
ह्याप्पी बर्थ डे टु यू
अहँ यसो भन्न जान्दैनौ पनि
र,
मान्दैनौ पनि ।

त्यसैले
उनै प्रकृतिको
गाउँदै महिमा रिसियामा
टाढैबाट भनिरहेछु
छोरी 'सिम्मा'
जन्म दिनको शुभकामना ।

भूइँचालो र आदिवासी आमाको कथा


जमिन मुनि
धेरै तल
ठूलो पोखरी छ...
र,
पोखरीमा छन्
ठूलाठूला माछाहरु
जब ती माछाहरुले
हल्लाउँछन् आफ्ना दुई कान
र,
आउँछ भूइँचालो धर्तिमा
हो,
यहि कथा
सुनाई रहँदा मलाई आमाले
छिमेकतिर दौंतरीहरु
पूजा गरिरहेका थिए भगवानको।

ओढेर अलिकती अनुहारमा
डरको घुर्मैलो घुम्टो
सोधें आमालाई
'आमा माछाले कहिले कान हल्लाउँछ' ?
छेवर पर्खिरहेको जुम्सिलो मेरो केस मुसार्दै
भन्नू भो आमाले-
"त्यो त कसरी थाहा पाउनु र छोरा
धेरै तल पातालको कुरा"
अर्को दिन थाहा भो,
छिमेकमा दौंतरीहरुलाई
भनेछन् तिनका आमाहरुले
ज्योतिषीले हेरेर ग्रह-नक्षेत्र
पत्ता लागाउँछन् भूइँचालो आउने दिन ।
यसपाली,
दसौं हजारको छिनेर जीवन
बिसौं हजारलाई पारेर घाइते
लाखौंको झारेर आँसु
करोडौंलाई बनाएर त्रसित
ढालेर धरहरा
भत्काएर घर
पुरेर इतिहास
नामेट पारेर सभ्यता
गयो भूकम्प नेपालमा ।
सायद यतिबेला
भूइँचालोले त्रस्त बालबालिका
आमाको काखमा बसेर
सोधिरहेका होलान् उसैगरी
"आमा भूइँचाल कसरी आउँछ ?"
र,
प्रत्येक आमाहरु
सुम्सुम्याउँदै जुम्सिला कपाल
सुनाई रहेका होलान् आफ्ना नानीहरुलाई
माछाले कान हल्लाएको कथा
अर्थात,
धेरै तल
तातो तातो पोखरीमा
माथी माथी सर्ने
ठूलाठूला इन्डियन माछाहरु
उभोतिर ढमरढुस्स बसिरहेका
अजङ्गका यूरोपियन कुरहरुमा घुस्दा
हल्लन्छ कान
र,
धर्ती हल्लाउँदै
आउँछ भूइँचालो,
फेरि नानीहरुले
सोधी रहेका होलान् आमालाई
"माछाले कान कहिले हल्लाउँछ आमा ?"
र, आमाहरु
उसैगरी भनिरहेका होलान्
"धेरै तल पातालको कुरा
कसरी थाहा हुन्छ र मान्छेलाई ?"
सायद देशले,
दायलुङको वरिपरि
राखेर पूर्खा
प्रकृतिका रङ्गहरु
साकेलामा खुट्याउने
र,
भूइँचालोको कथा भित्र
बिज्ञान पढाउने
मेरो आमालाई भन्दा
दैबलाई महान
र,
ज्योतिषलाई सर्वोपरी नठानेको हुन्थ्यो भने
यो बर्षको भूइँचालोले
मच्याउने थिएन पक्कै
यत्रो विध्वंस नेपालमा ।
शब्दार्थ:
छेवर : किरात राई समुदायमा छोरालाई टोपी दिने कर्म
दायलुङ : किरात चाम्लिङ राईहरुमा आफ्ना पूर्खाहरु स्मरण गर्ने/बस्ने ठाउँ, चुल्हा
साकेला : प्रकृतिको संकेत
कुर: माछा बस्ने ढुङ्गाको ओडार