Thursday, December 25, 2014

जालान सिलाङमा नेपाल


पुडुराया बसपार्कमा ओर्लिएर
मे बैंकको भिमकाय भवनलाई नियाल्दै...
कोतरायको आँगनबाट
अलिकति भित्र पसेपछि
देखापर्छ एउटा साँघुरो गल्ली
मिनी नेपाल अर्थात जालान सिलाङ ।

भुँडी भ्यात्त निस्किए पनि
गाला पुक्क फुलिए पनि
मुटुमा विषादको गहिरो घाउ बोकेर
हरेक आइतबार र पब्लिक होलिडेमा
देश र आफन्तको झल्को मेट्न
आउँछन् अरपेहरु
सधैं–सधैं जालान सिलाङमा ।
जालान सिलाङ,
जहाँ छिर्ने बित्तिकै
नेपाली संगीतको परिचित धुनले
ग्वाम्लाङ्ग अङ्गालो हाल्छ अरपेहरुलाई
यता ठोक्किए पनि नेपाली
उता ठोक्किए पनि नेपाली
ठोक्किन्दै ठोक्किन्दै आफैसँग
नेपाल छामी रहन्छन् अरपेहरु
पटक—पटक जालान सिलाङमा ।
साहित्यिक ब्यक्तित्व,
साहित्यिक अभियन्ता—
विश्वासदीप तिगेलाले भने झैं
नेपालमा एकमाना गुन्द्रुक बेच्न नजान्नेहरु
खोलेर भब्य होटल
थापेर बहुमूल्य सामानको पसल
सेवा दिइरहेकाछन्
र,
मेवा लिइरहेकाछन्
नेपाली व्यवसायीहरु जालान सिलाङमा ।
मनकामना मिनी मार्केट
लाङ्घाली किनमेल सेन्टर,
विजयहिल एक्सपोर्ट इम्पोर्ट,
हाइ माउण्टेन भ्यू टुर्स एण्ड ट्राभल्स,
धौलागिरी फेन्सी पसल,
नेपाल हाउस, न्यू सगरमाथा
द खुकुरी, द गोर्खाज
न्यू देउराली, हिमालयन
लोजिना, उग्रतारा
परदेशी, काठमाण्डौ
सोल्टी, इन्द्रेणी, साइनो
र, अरु थुप्रै नाम भएका
पसल र रेष्टुरेन्टहरु
खोलिएकाछन् जलान सिलाङमा ।
नेपाली चाउचाउ, नेपाली चुरोट
नेपाली खैनी, नेपाली पराग
नेपाली ढाकाटोपी, खासाको गञ्जी
साँधेको गुन्द्रुक र टिमुरको अचार
किनीमाको झोल र मोहिनी मःम
कोदोको जाँड र तोंङ्वा
अनि,
नेपाली किताब र गीत–फिल्मका सिडी/डिभिडी
जम्मै पाईन्छन् जालान सिलाङमा ।
आफन्त भेट्न/चिन्न
पार्सल बुझ्न/बुझाउन
संस्था खोल्न/बैठक बस्न
कविता सुन्न/सुनाउन
रेमिट्यान्स हाल्न/टो टो काट्न
यताबाट उता जाँदा/उताबाट यता आउँदा
र,
नेपाली पसलहरुको आडैमा उभिएका
आधुनिक क्लियोपेट्राको निख्रिदो जवानीसँग
केवल आधा घण्टा खेलेर
मर्दपन बचाईरहन
अरपेहरु,
सधैं आउँछन् जालान सिलाङमा ।
बेखबर–बेखबर,
चुपचाप–चुपचाप
लाखौं अरपेहरुले टेक्दा–टेक्दा
बेस्मारी दुखेपछि
पल्टाएर नेपाली पत्रिका
हेर्दै गोठालेको कार्टुन चित्र
हाँसी रहन्छ निक्कै बेर
हा...हा...हा...हा
जालान सिलाङ
अर्थात
मिनी नेपाल ।

अरपे


वैधानिक रूपमै बेचिएर
लाखौं झरझराउँदो यूवा जोश
खाडी/ मलाया पुग्छन्...
र,
बन्छन्-अरपे ।

अरपे
अर्थात
अ-अपरिचित ठाँउमा
र-रबर झैं
पे-पेलिनु ।
अरपे
अर्थात
अ-अरुकै खातिर
र-रगडिएर दिनरात
पे-पेश्की थाप्नु जीवनको ।
अरपे
अर्थात
अ-अनगिन्ती पीडाहरु चपाएर
र-रहरहरु झुन्ड्याउँदै क्यालेण्डरमा
पे-पेच कस्नु भित्ते घडिको ।
अरपे
अर्थात
अ-अतृप्त सपनाहरु पूरा गर्न
र-रमाउँदै पठाएर रेमिट्यान्स
पे-पेनकिलरको सहारामा बाँच्नु आफू ।
अरपे
अर्थात
अ-अन्ततः
र-रश जति निचोरिएर
पे-पेप्पा बनी फर्कनु देश ।
अरपे
अर्थात
अ-अघोरी भन्सार छिचोलेपछी
र-रमरम उमङ्ग बोकेर
पे- पेश हुनु आफन्तको हातमा
र,
नाक खुम्च्याउँदै कहि माग्नु
अ...र...पे.....
हे...हे...हे.....।

बयान


(इलिगल नं–१)
म रोंदुहाङ राई
घर—खोटाङ
वर्ष—२६
घरको एक्लो छोरो
बुवा—सधैंको जँडेहा
आमा—जन्मै रोगी
जेन–तेन पास गरेर प्लस टु
मास्टरी गर्दै थिएँ गाउँकै प्रा.वि.मा
र,
पढ्दै थिएँ वि.एड. दोश्रो वर्ष ।
म मान्छे हुँ
मसँग पनि विचार छ
र,
राम्रो–नराम्रो छुट्टाउने
थोरै विवेक पनि ।
लाग्छ, म अलिक स्वाभिमानी छु
सायद अरुको नजरमा आडम्बरी
त्यसैले,
विवेकलाई बन्धक राखेर
हजुर...हजुर भन्दै
जाबो अस्थायी जागिर खानुभन्दा
अरब भासिनु ठिक लाग्यो
र,
आमाको गहना–गुडिया
राखेर बैंकमा धितो
जोरजाम पारी खर्च–बर्च
एक विहान झिसमिसेमा
पार्दै अमिलो मन
हिंडे काठमाण्डौ ।
आफ्नैहरु विरानो लाग्ने
हेर्दा भब्य
परन्तु
एउटा साँघुरो कोठमामा खुम्चिएको
बेकम्मा राजधानीमा
भेटिए अलि परका साईनो लाग्ने
एक आफन्त एजेन्ट अर्थात दलाल ।
पेसें पासपोर्ट म्यानपावरमा
दिएँ इन्टरभ्यू
र,
मेडिकल चेक अप गरेर
पर्खिएँ केही दिन भिसा
अर्थात
बेचिएको प्रमाण–पत्र ।
भिसा आएपछि
पुगें म्यानपावरमा
हेरें एग्रिमेन्ट पेपर
मलेसियाको एक चर्चित डिपार्टमेन्ट स्टोरमा
सेल्स असिस्टेन्टको थियो काम
करार अवधि तीन वर्ष
बेसिक स्यालरी आर.एम. नौ सय
ओभरटाईम दैनिक दुई घण्टा अनिवार्य
पब्लिक होलि डेको छुट्टै पेइमेन्ट
सिफ्ट, सन्डे र पब्लिक एलाउन्स
सय आर.एम. लेभी
बार्षिक तेह्र दिन बिदा
कोठा फ्रि/खाना आफ्नो
मेडिकल/यातायात/यूनिफम फ्रि
जाँदा टिकेट आफ्नो/फिर्दा कम्पनीको
हिसाब गर्दा
मासिक चालिस हजारमाथि आम्दानी
अहो ! नेपालका अधिकृतहरुको भन्दा धेरै
चित्त बुझ्दो काम
आशा लाग्दो तलब
त्यसैले,
बिना भरपाई
तिरियो तोकिएभन्दा डेढगुणा बढी रकम
र,
उडियो मलेसिया ।
करिब चार घण्टाको आकासे यात्रा
यात्राको नयाँ अनुभूति
र,
धेरै पैशा कमाउने सपना
क्वालालाम्पुर अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लेर
इमिग्रेसनको अगाडि पुग्ने बित्तिकै
टुट्न थाल्यो निरन्तर...निरन्तर ।
अहो ! भेडा बाख्रा जस्तै
चेपाचेप–खाँदाखाँद
मार्वल ओछ्याईएको चिसो भुँइमा
टुसुक्क बसिरहेका/उत्तानो पल्टिरहेका
हजारौं अरपेहरु
ट्वाईलेट जान पनि लाम लाग्नु पर्ने
न प्यूने पानी
न हिंड्ने/उठ्ने अनुमति
अलिकति चल्मलाउनु बित्तिकै
भेटिने रेलाको लात्ति
र,
सुनि नसक्नुको गाली
‘भावी ओराङ’ ।
अर्डर गरिएको
उताबाट बेचिएर
यता किनिएको
आधुनिक दाशहरु हामी
ओंठ तालु सुकाउँदै
भोकै÷तिर्खै घण्टौं–घण्टा
कुंर्नु कम्पनीको एजेन्ट
उफ ! अत्यास लाग्दो क्षण
एउटा भयङ्कर सपना जस्तो ।
ब्यूँतिएर सपनाबाट
हाई काड्दै नमिठो
सिक्रीले बाँधिएको पप्पी जस्तै
लुखुर–लुखुर एजेन्टको पछि लागिरहँदा
दुख्दै थियो नमिठोसँग देश
र,
सानो मुटु पनि ।
जब
काममा खटाईएँ
अनि खुल्यो वास्तविकता
भिसा सुपरमार्केटको
ड्यूटी जहाँ पनि
कहिले होटल
कहिले कम्पनी
कहिले सडक
त कहिले घरमा
भाँडा माझ्दै, मेसिन चलाउँदै
बोरा उचाल्दै, झाडु लगाउँदै
थुक्का ! ठगिनुको पनि हद हुन्छ नि ?
महिना दिनपछि
थापियो तलब
र,
पेइमेन्ट स्लिप पनि
बेसिक आर.एम. नौसय
प्रति दिन दुई घण्टा ओ.टी.को दुईसय साठी
छैन पब्लिक/अफ ओटी/एलाउन्स
पाउने जम्मा–एघारसय साठी
लेभी–एकसय दश
रुमको पानी–बत्ती चार्ज –पचास
हात लाग्यो हजार
तीनसय पचास, खाना खर्च
पचास, फोन खर्च
पचास, मञ्जन, साबुन....
अहो ! मासिक बचत ठ्याम्मै पाँचसय पचास
अर्थात नेपाली पन्ध्र हजार ।
टुक्रिए सपनाहरु
भत्किए विश्वासको पर्खाल
गल्यो यूवा जोश
सेलायो उमंग
फोन गरे पनि म्यानपावरलाई
उजुरी गरे पनि दुतावासमा
केही नचलेपछि
देश फर्किएर
धाउँदा धाउँदा म्यानपावर
गुहार्दा गुहार्दा श्रमविभाग
अन्ततः
असी हजारमा प्लेन टिकेट कटाएर
चालिस फिर्ता लिनुभन्दा
केही राम्रो ठाउँमा काम गरेर
ऋण उकास्ने अर्को सपना बोकी
म,
इलिगल भएको हुँ कबि ज्यू ।

गजल


पसिनाको धारो छुट्यो परदेशैमा
अभागीको भाग्य फुट्यो परदेशैमा
...
आफन्तैले ठगेपछि देश छोड्दा
जिन्दगीको आशै टुट्यो परदेशैमा

घर फिर्छु भन्दा भन्दै बर्षौं वित्यो
समयले बैश लुट्यो परदेशैमा

रोग बढ्यो, शोक गड्यो, मनै भित्र
नियतीले चुट्नु चुट्यो परदेशैमा

आशा जति भइगए टाढा–टाढा
निराशा र पीडा जुट्यो परदेशैमा

अरपेको यही कथा लेख्न भनी
नारथुङे आज उठ्यो परदेशैमा

नारथुङे लेखिनुको पछाडि...


मलेसिया आएर लेखिएको तेश्रो कविता ‘आण्डी नसिरुद्धिन’ २००५ को डिसेम्बर तिर श्रम साप्ताहिकमा प्रकाशित भयो र त्यही कवितासँगै नामको पछाडि नारथुङे जोडे मैले ।
‘नारथुङे’, किरात राई चाम्लिङ अन्र्तगतको ‘नारथुङ्छा’ पाछालाई बुझाउने शब्द हो । यो भन्दा पर यसको कुनै अर्थ छैन । तर किन लेखें भन्ने कुरोसँग केही विषय–वस्तु जोडिन्छ ।
धेरै अगाडि मेरो पूर्खाहरुको नाम ‘रिङावासी’, ‘हुतुमवासी’, ‘जैधरी’ आदि थियो । छेप्पा बाजे अर्थात जिजूबाजेको नाममा ‘वीर’ जोडिएर पछि ‘जल्लवीर’ भए । बाजेको नाममा ‘मान’ जोडिएर ‘अजपमान’ हुनु भयो । बुवामा आइपुग्दा त ‘देवी’ को पछाडि ‘वहादुर’ जोडिएर ‘देवीवहादुर’ र मचाँहि कथित स्वर्गको राजा ‘इन्द्र’ तर कुमारै अर्थात ‘इन्द्रकुमार’ ।
मेरो नाम ‘इन्द्रकुमार’ हुनुको पछाडि पनि केही रोचक प्रसंग छ । म जन्मिएपछि महिना, दिन, बार, समय, जन्मिन्दाको अवस्था र साल–नालसँग अलग हुँदा प्रयोग गरिएको हतियार आदिको हुलिया सहित उसबेला कहलिएको पण्डित ‘पुष्पे बाहुन’ ले टिपेर लगेपछि चिना बनाई दिएछन् र चिनामा लेखिएछ मेरो नाम—‘रुद्र’ । मेरी आमा अनपढ फेरि संस्कृत शब्द ‘रुद्र’ लाई सहजरुपमा उच्चारण गर्न किरातीहरुलाई कहाँ सजिलो हुन्छ र ? ‘पुष्पे बाहुन’ ले नाम सुनाएर गएको केही समयपछि नै आमाले बिर्सनु भएछ । पछि गुन्दा–गुन्दा त ‘रुद्र’ बाट म ‘इन्द्र’ तिर पो परिवर्तन भएछु ।
पोखराको दश वर्षे बसाईमा आदिवासी जनजाति संगठनमा आवद्ध हुनु र आन्दोलनमा सामेल हुन पाउनु जीवनको अर्को मोड थियो । त्यस क्रममा आदिवासी जनजाति अगुवाहरु डा. कृष्ण भट्टचन, प्रा. बालकृष्ण माबुहाङहरुसँग जमकाभेट हुने र उहाँहरुको विचारहरु सुन्ने प्रशस्तै अवसर पाईयो । विषेशः गरी डा. भट्टचनको बोली अलिक छुच्चो, दायाँ–बाँया नहेरी बाहुनलाई प्याच्च गाली गरि हाल्ने । माबुहाङ भद्र तर सत्य कुरा बोल्न नडाराउँने । दुवै जनाको बारेमा बाहुन–क्षत्री समुदायमा चर्चा हुन्थ्यो । चर्चा हुँदा विशेषगरी उहाँहरुको नाम नै आउँथ्यो । नामचाहिँ हिन्दुहरुकै देवता ‘कृष्ण’ को छ, तर विरोध फेरि हिन्दु कै गर्छ.....आदि..ईत्यादी । यसो फर्किएर हेर्दा त म पनि पो ‘इन्द्र’ रहेछु...स्वर्गको राजा, कस्तो अचम्म ! यो प्रशंग यहाँ किन उठाएको हुँ भने यो देशका आदिवासीहरुको नाम कसरी हिन्दुकृत भयो भन्ने उदाहरण मेरो पूर्खाहरु र म आफै हुँ । त्यसैले ‘इन्द्र’ नामसँग म झस्किरहें घरि नै घरि ।
सानैमा पनि यो नाम मलाई अलिक पच्दैन थ्यो । किनकी म फुच्चेलाई सबैले ‘इन्द्र’ भनेर बोलाउनुको साटो सिधै ‘इन्द्रे’ भन्ने । फेरि हाम्रो गाउँमा एउटा अलिक फटाहा–फटाहा टाइपको दाइको नाम पनि ‘इन्द्र’ थियो । ती फटाहा टाइपको दाइलाई सबैले यहि नाम लिएर गाली गर्दा आफैलाई गाली गरेको भान हुन्थ्यो । तर कुनै विकल्प थिएन यो नामबाट भाग्ने । पछि कक्षा चढ्दै जाँदा नेपाली किताबहरुमा साहित्यकारहरुले उपनाम पढ्न पाईयो... गोठाले, विकल, कदम, असिम, मविवि शाह, चाँदनी शाह आदि...आदि..। स्कूलमा लाईब्रेरी खुलेपछि त धेरै साहित्यकारहरुको उपनाम जान्न पाईयो, पुस्तक पढेर । यसैविच २०५६ सालको राजनीतिक परिवर्तन पछाडि उदयपुर तिरका एक जना किराती राई श्रष्टाले ‘वियोगी’ उपनाम जोडेर एक कविता संग्रह निकाले । त्यो कविता संग्रह हाम्रो स्कूलमा आइपुगेपछि समकालिन साथीहरुले आफ्नो नामको पछाडि ‘वियोगी’ जोड्न थाले । एक जना साथीले ‘विकल’ जोडे । मैले पनि अनायासै नामको पछाडि जोडिदिएँ ‘विकल्प’ ।
सायद ‘विकल्प’ उपनामसँग मेरो उत्ति मोह नभएर हुन सक्छ, रेडियो तिर विना उपनाम उपस्थित हुन थालें । उप नाम नजोडेरै धेरै जनालाई साथी बनाईयो, साइनो कार्यक्रम मार्फत । तर त्यसबेला त्यो समयका म जस्तै ठेट्नाहरुको मन–मस्तिष्कमा मज्जैले एउटा उपनाम कुँदिएको थियो—‘दिन दुःखी’ । तर यस्तो दुःख, पीडा झल्काउने उपनाम किन–किन मलाई पटक्कै मन नपर्ने । वामपन्थी विचारधाराको प्रभावले पनि हुन सक्छ, नाम–उपनाम जोशिलो होस् भन्ने लाग्थ्यो । हो, यस्तै बेला फेरि भेटाएँ एउटा शब्द ‘संकल्प’ र झुण्डाई हालें नामको पछाडि ।
पोखरामा पुगेपछि ‘संकल्प’ को अगाडि ‘शिशिर’ जोडियो र यहि नामले पत्र–पत्रिकामा कविताहरु लेखिरहें । प्रतियोगिता र साहित्य श्रृङ्खलाहरुमा पनि यहि नाममा कविताहरु बोकेर उभिएँ । तर आफै सञ्चारकर्मी भएर पत्रिका र एफ.एम. मा काम गर्न थालेपछि र विभिन्न संघ–संस्थाहरुमा आवद्ध हुँदा वास्तविक नामै अगाडि सारें तब ‘शिशिर संकल्प’ ओझेलमा पर्यो । परन्तु आफै कार्यरत पत्रिकामा साहित्यिक रचनाहरु प्रकाशित गर्दा भने ‘शिशिर संकल्प’ नै भइरहें । त्यसबेला राजनीतिक लेखहरु ‘शिशिर’ उपनामले पनि थुप्रै लेखियो । एक पटक नारी दिवसको अवसरमा महिला सम्बन्धि लेख नभएर आफै लेखेको छु र महिलाकै नामबाट प्रकाशित भएको छ, तर त्यो नाम भने भुलें यतिबेला ।
मलेसिया आईसकेपछि पनि पोखरा फोवियाले छोडेन । वास्तविक नामसँग जोडिएको नामसुवासलाई फाल्न मन लागेन तर । ‘इन्द्र’ को पछाडि ‘राई’ धेरैको थियो । म छुट्टै हुन चाहन्थे । अविवाहितको अर्थ दिने ‘कुमार’ लाई जाँडले भरेको डबकीमा पौडिखेलिरहेको झिंगालाई जस्तै टिपी आफालेर ‘इन्द्र’ को पछाडि उपयुक्त उपनाम खोज्न थालें । यस्तै बेला आफ्नै पाछा (थर) सम्झिएँ ।
‘नारथुङ्छा’, किरात चाम्लिङहरु राईहरुका धेरै पाछा मध्ये एउटा पाछा । सामान्यतः ‘नारथोंछा’ भनिन्छ । तर किरात चाम्लिङ राई सम्बन्धि खोज–अनुसन्धान गरेर लेख्नेहरुले यो पाछाको कतै उल्लेख गरेका छैनन् । डा. स्वामी प्रपन्नाचार्यदेखि गोपाल किरातीसम्मको पाछा अध्ययनमा ‘नारथुङ्छा’ अटाएको छैन । यसो हुनुको कारण ‘नारथुङ्छा’ हरु कुनै माथिल्लो तहमा नपुग्नु र संख्यात्मक रुपमा कम हुनु पनि हो । ‘नारथुृङ्छा’ हरुको मूल थलो खोटाङको इन्द्राणी पोखरी र सिम्पानीमा दर्जन घर–परिवारभन्दा बढी छैन । मूल थलोबाट पछि बसाइँ गएकाहरुको उदयपुर, सुनसरी, मोरङ र काठमाण्डौ तिर केही घर भेटिन्छन् । तर धेरै समय अगाडि खोटाङबाटै गएका ‘नारथुङ्छा’ हरु पाँचथरको च्याङथापु र झापाको झिलझिलेमा सय–डेढसय घर भन्दा बढि विस्तार भएका छन् । परन्तु अध्ययन अनुसन्धान गर्नेले पूख्र्यौली थलोलाई नै आधार मान्दा पाँचथर र झापा तिर नजर पुगेन । खोटाङको दर्जन घरहरुमा उनीहरु आइपुगेनन् । त्यसैले ‘नारथुङ्छा’ भएर पनि लिखतमा कतै नदेखिएपछि नामको पछाडि पाछा झुण्ड्याउनु उचित लाग्यो । तर ‘इन्द्र’ पछाडि ‘नारथुङ्छा’ लेख्दा–उच्चारणमा कता–कता मिठास नआएपछि ‘नारथुङे’ बनाई दिएँ ।
‘नारथुङे’ लेख्नुको पछाडि पूर्खेउली बिरासतलाई मर्न नदिनु पनि हो । कुनै बेला हजारौं विगाह जमिनका अधिपति र पछि ‘राई’ पगरी चलाएका ‘नारथुङछा’ हरु पछिल्लो क्रममा झण्डै सुकुम्बासी बन्ने अवस्थामा आइपुग्नु मेरो लागि लज्जाको विषय त थियो नै तर केही गर्नु पर्छ भन्ने भावना त्यहीबाट विकास भएर आएको थियो । विशेषगरि तात्कालिन जिल्ला पञ्चायत खोटाङका पूर्व सभापति बृषवहादुर राईले मेरो जिजू बाजे र बाजेको तकझक बारे सुनाएका कथा र दिएका अर्तिले मलाई घच्घचाई रहेको थियो । त्यसैले केही राम्रै काम गर्ने हो भने किन पूर्खाहरुको विरासतसँगै नजोडिने भन्ने कुराले थप प्रेरणा दिएपछि आनकानी नगरी नामको पछाडि लेखिदिएँ ‘नारथुङे‘ ।

भाषा थरी–थरीका.............


सन् २००५/परदेश लाग्नु—पैशा कमाउनु मात्रै होइन थुप्रै अनुभव र अनुभूतिहरु आर्जन गर्नु पनि हो । कहिल्यै नदेखेका, नभेटेका र नपढिएका मानिसहरुसँग भेटेर, बोलेर उनीहरुको भावना बुझ्न पाउनुको महत्व पैशाको भन्दा धेरै छ÷हुँदो रहेछ । जतिबेला म मलेसिया आँए, त्यसबेला लाग्थ्यो मैले जम्मै कुरा गुमाएँ, पैशाको लागि । तर यर्थात त्यसो रहेन छ, स्कूल र कलेजमा पढ्दै नपढेको पाठ पो पढ्न आएको रहेछु म त ।
म अँग्रेजीको अलिक कमजोर विद्यार्थी तर मागी खान र सामान्य सोधी–खोजी गर्न समस्या थिएन/छैन । अपितुः मलेसिया आएपछि थाहा भयो, मेरो गरिब अँग्रेजीको यहाँ काम रहेनछ । कम्पनीमा काम लगाउनेदेखि सँगै काम गर्नेहरुलाई अंग्रेजी भैंसी बराबर, पसलतिर गयो उस्तै । अनि सिक्नै पर्ने वाध्यता आइलाग्यो, मलेसियाको सरकारी भाषा मलायू ।
पुराना नेपाली साथीहरु स्थानीयहरुसँग दोहोरो बोल्थे भाषा मलायूमा । यसो सुन्यो उति बिरानो लाग्दैनन् शब्दहरु । मकान, मिनुम, पानस, सुजुक, मारी, सिनी, साना.......यी जम्मै कहिँ न कतै नेपाली भाषासँग मेल खाने शब्दहरु छन् । भाषा सम्बन्धी चासो झन् बढेर गयो । र, पुराना साथीहरुसँग सोधी खोजी गर्न थालें । एउटा अचम्मको संयोग—पोखरामा भेट भएका रोल्पा–रुकुम तिरका साथीहरुबाट खाम भाषा सिक्दा जसरी अश्लिल शब्द पहिला याद भएको थियो, यहाँ पनि त्यस्तै । नेपालमा त अश्लिल शब्द केटी मानिस वा आफूभन्दा ठूलाहरुको सामुन्ने बोल्न लजाइन्थ्यो तर यहाँ त ठूला भनिनेहरु र केटीहरु नै पो त्यस्ता शब्द बोल्न माहिर हुँदा रहेछन् ।
अवसर नै भन्नु पर्छ, मैले काम गर्ने डिपार्टमा केटीहरु नै धेरै । भाषा आउँदैन तर बोल्नै पर्ने बाध्यता । अश्लिलसँगै अरु आवश्यकीय शब्दहरु पनि कण्ठ हुन थाल्यो । भाषा मलायूमा प्रशस्तै संस्कृत शब्दहरु पनि मिसिएका रहेछन्.....जस्तै स्वामी, स्त्री आदि । सोधी खोजी गर्ने क्रममा किरात चाम्लिङ राईहरुको भाषाको एउटा शब्द जस्ताको तस्तै पाएँ....बुङा (फूल) । शब्दोच्चारणमा कुनै समस्या नहुने, शब्द र त्यसको बनोटलाई ध्यान दिने हो भने भाषा मलायू सिक्न त्यही गाह्रो रहेन छ भन्ने भेऊ केही दिनमै पाएँ । नेपाली लगायत अन्य धेरै भाषाहरुमा कर्ता, कर्म, वचन, लिङ्ग, काल अनुरुप क्रिया निर्धारण हुन्छ तर भाषा मलायूमा क्रिया त उही पो । नेपाली भाषामा ‘खानु’ क्रिया अवस्था अनुसार—खाऊ, खा, खानुहोस्, खाइबक्स्योस्, खाँए, खान्छु, खाएको थिएँ, खाने छु, खाने थिएँ, खानु हुन्छ,.........कति हो कति तर भाषा मलायूमा ‘मकान’ भने पछि सक्कियो । सुडा मकान, मकान डुलु, बुलुम मकान, माहु मकान.......। शब्द कण्ठ गरेपछि बोल्न त्यही गाह्रो लागेन, एक महिना भित्रै सामान्य भाषा सिकियो....र, कति केटीहरुलाई ठट्टैमा भनियो ‘आकु चिन्टा पाडामु’ ।
हामीसँग काम गर्नेहरु इन्डियन मूलका तामिल भाषी मलेसियनहरु पनि प्रशस्तै थिए । मलायूपछि तामिल भाषा प्रति पनि ध्यान दिइयो तर सिक्न त के शब्द उच्चारण गर्न पनि आएन । जिब्रोको टुप्पोलाई बटार–बुटुर पारेर बोल्नु पर्ने, सिक्न ज्यादै गह्रो । केही महिना काम गर्न आएकी तामिल मूलकी एक मलेसियन तरुनीलाई जिस्काउन कै लागि एउटा वाक्यांश भने सिकिएछ...‘नान ओन्णेइ काडली क्रेन’ ।
अक्सर चिनीयाँ मूलका मलेसियनहरु, सामान्य कामदारको रुपमा कम्पनीहरुमा भेटिन मुस्किलै पर्छ । तर म काम गर्ने कम्पनीमा ढल्कदो उमेरका दुई चिनीयाँ भाषी केटीहरु पनि थिए, एक जना लाइन लिडर अर्को साधरण कामदार । अनुहार मिल्ने भएकोले उनीहरु शुरुबाटै झ्याम्मिए मसँग । दुवै जनासँग चिनियाँ भाषाको बारेमा पनि सोधी खोजी गरियो । विशेषतः किरात चाम्लिङ राई भाषाको अङ्क गणना र चिनिया भाषाको अङ्क गणनामा धेरै मिल्दो...चाम्लिङहरुको इ, हा, सिम, तु, ङा...(एक, दुई, तीन, चार, पाँच) चिनियाँहरुको पनि इ, आ,...,..., ङा । मलाई लाग्यो चिनियाँ भाषा भित्र पस्ने हो भने धेरै शब्दहरु मिल्दा जुल्दा भेटिन्छन् चाम्लिङ भाषासँग, तर पसिएन गहिराई तिर ।
निक्कै पछि म कार्यरत कम्पनीमा म्यान्मारका ठिटीहरु आइपुगे । जुन्ता सरकारको आँखाको कसिङ्गर, शान्ति नोवेल पुरस्कारले सम्मानित, विश्व चर्चित नेतृ आङ सान सुचीकी छोरीहरु सँगको त्यो भेट स्मरणीय नै छ । मङ्गोलियन अनुहारका ती ठिटीहरु गाउँ घरकै दिदी–बहिनीहरु झैं लागे र सहजै प्रेम प्रणयका शब्दजालहरु फालियो पनि । भिन्न देश, भिन्न परिवेश, भिन्न भाषा–संस्कृति र भिन्न अनुहारका मानिसहरु बीच म लगायत केही साथीहरुलाई उनीहरुले पनि आफ्नै घर गाउँले दाजु–भाइ ठाने होलान् र त केही दिनमै सम्बन्धले गहिरो रुप लियो । म्यानमारमा रहेका नेपालीहरुको अवस्था, जुन्ता सरकारको क्रुरता, सूचीको लोकप्रियतासँगै चाड–पर्व, रिती–रिवाज र भाषा–संस्कृतिको बारेमा सोध खोज गरियो । धेरै कुराहरुमा असमानता हुँदा हुँदै पनि मेरो मातृभाषा (किरात राई चाम्लिङ) सँग उनीहरुको केही शब्द मिल्ने रहेछ । खासगरि अङ्क गणना र ‘मि’, ‘वा’, ‘सुङ’ जस्ता शब्दहरुमा धेरै समानता पाएँ ।
मलेसियामा थुप्रै भियतनामिजहरु भेटिन्छन् । अनुहार ठ्याक्कै राई–लिम्बुको जस्तै र उचाईमा पनि समानता । तर अचम्म ! जति पनि भियतनामिजहरुलाई भेटें अंग्रेजीको ‘अ’ पनि नआउने । र, अर्को अचम्म—मलेसिया बसेको पाँच वर्षसम्म, मैले एक महिनामा सिकेको जति पनि नजान्ने भाषा मलायू । कतै जाँदा सामुन्ने सिटमा भियतनामिज आएर बस्यो भने हाई हेल्लो भन्न पनि समस्या । अझ तरुनी नै छेउमा आएर बसिन् भने मनले बोल्नु हुट्हुटी लाउँछ, बोल्यो—बुझिन भनेर मुन्टो हल्लाउँछ...कति नमज्जा ।
भाषाको दृष्टिले हर्ने हो भने नेपाल विश्वकै धनी देश । नेपालको भूगोल सानो भए पनि सयभन्दा बढी भाषा अझै कहीँ न कतै जीवित हुनु ठट्टाको कुरो होइन । भूगोलको दृष्टीले मलेसिया नेपालभन्दा केही ठूलो मात्र तर यहाँ त्यती धेरै भाषाहरु छैनन् । मलायू, चिनियाँ, तामिल पछि केही स्थानीय भाषाहरु यहाँ जिवित छन् । नेपालमा राष्ट्र भाषा नेपाली पूर्वबाट जति पश्चिम लाग्यो त्यति नै नौला शब्द, लवज र वाक्यांशहरु सुन्न पाईन्छ । पूर्व झापाको मान्छे पश्चिमको बैतडी र दार्चुला पुग्दा यही नेपाली भाषा बुझ्नै नसक्ने भई सकेको हुन्छ । नेपाली भाषाको उत्पत्ति पश्चिमकै सिञ्जा उपत्यकामा भए पनि यसको महत्वपूर्ण विकास पूर्वमा आएर भएको छ । त्यसैले नेपाली भाषाको लेख्य रुपमा पूर्वेली भाषाले मान्यता पाएको छ । मलेसियामा पनि भाषा मलायू विभिन्न राज्यमा केही फरक हुँदो रहेछ । उच्चारण र शब्द दुवैमा सामान्य फरक तर बुझ्नमा भने समस्या नभएको ।
डा. सन्यात् सेनले पुरानो राजतन्त्र फालेर चीनमा गणतन्त्र स्थापना गरेपछि भागेका केही चिनियाँहरु र पछि माओत्सेतुङको नेतृत्वमा नयाँ जनवादी क्रान्ती सम्पन्न भएपछि देश छोडेका चिनियाँहरु विभिन्न देश हुँदै मलेसिया छिरेको विट्रिस कालिन समयमा नै हो । तामिल भाषी इन्डियनहरुलाई त विट्रिसले नै मलेसियामा लिएर आएका हुन् । तर दुवै समूहले आफ्नो भाषा र संस्कृतिलाई मज्जैले जोगाएर राखेका छन् । चिनियाँ मूलका मलेसियन नागरिकहरु आपसमा भेट्दा कहिल्यै अरु भाषा बोलेको मैले सुनेको छैन । बरु तामिल भाषीहरुले आपसमा भेट हुँदा तामिलसँगै अंग्रेजी बोलेको सुन्न सकिन्छ । वास्तवमै भाषा र संस्कृति प्रतिको माया र सरकारले दिएको स्वतन्त्रता एवं सहयोगको कारण चिनिया मूल र तामिल भाषी मलेसियन नागरिकहरुले आफ्नो भाषा संस्कृतिलाई बचाई रहन सफल भएका छन् ।
मलेसियामा भाषा र संस्कृति हराएका त नेपालीहरु पो छन् । म्यानमार (बर्मा), थाइल्याण्ड हुँदै उहिल्यै मलेसिया छिरेका र विट्रिस सेनामा कार्यरत हुँदा यतै बसेका रैथाने नेपाली (गोर्खाली) हरु पढ्न त जान्दै जान्दैनन्, बोल्न पनि पूरानो पुस्ताले अलिअलि मात्र । बरु धेरै मलायू, तामिल, इन्डोनेशियन र फिलिपिनोहरुले नेपाली अश्लिल÷शलिल शब्द सिकिसकेका छन् । उता नेपालमा भने गाउँ–गाउँमा मलायू भाषा जान्नेहरुको जमात थपिन्दैछ । नेपालीहरु मलेसिया आउने क्रम अझै एक दशक रहने हो भने नेपालमा हिन्दी र अंग्रेजीभन्दा बढी मलायू बोल्नेहरु भेटिए आश्चर्य मान्नु पर्ने छैन ।

गित


 देश सम्झेर कति दुखाउ यो मन
कसले सुनिदिने परदेसीको धड्कन

जहाँ हावा पनि बिरानो बिरानो...
उहीँ छ यो आकश तर लाग्छ सानो
सुख खोज्दै आए या दुखको मानो
टाल्ने हो कहिले चुहिएको छानो
देश फिर्नु भन्दा भासिन्दै छु झन्झन
कसले सुनिदिने परदेशीको धड्कन


उता हुरि चल्दा यता बढ्छ त्राश
आफन्तको यादमा फेर्नै गारो श्वास
राज्य भन्नु मात्रै केही छैन आश
गनिराछ दिनै परदेशीको लास
सुन्दा मीठो लग्ने छैन बोली वचन
कसले सुनिदिने परदेशीको धड्कन