Thursday, December 25, 2014

Gajal

वारि किनार पर्खिबसें डुङ्गा लाग्यो पारी
कसो गरि तार्ने अब जिन्दगीको भारी

सम्बन्धको पत्रहरु छुटिएछन उतै...
सम्झिएर रोउ कति आँसु झारी झारी


दुई पाटा कलेजीको अनगिन्ती चिरा
दायाँ छाम्यो पहरो छ बायाँ काडाघारी

झरिगए झिल्मिल तारा डुब्यो घाम जून
उजाड यो दुनियाँमा बसौ के निहरी

बालुवाको माछासरि छट्पटाउनु भन्दा
आफ्नै छातिमाथी आफै धसौं कि कटारी

Gajal

रात पनि आज, चकमन्न छ
छाती भित्र पीडा, टन्न टन्न छ ...

यत्ती निराशा कि, कुरै नगरौं
गोडाहरु दुबै, लमतन्न छ

के रह्यो र बाँकी, अब जिन्दगीमा
मात्र पागल त्यो, एउटै बन्न छ

बुझेर कि त्यसै, भित्री मनको चोट
भन्छन् दुनियाँ ले, जिउँदो धन्न छ ।

नसोध भो साथी, मेरो वर्तमान
बिदा माग्ने दिन त्यो, सधैं गन्न छ ।

सम्झनाको थिल्थिलोमा किताबको मल्हम


  सन् २००५/मान्छे जतिसुकै विद्वान किन नहोस् आफन्तसँगको विछोडमा विद्वता बेकम्मा हुन्छ/हुँदो रहेछ । विचारको तटबन्ध निर्माण गरेर पीडाहरुलाई रोक्न खोजे पनि भावनाको भेल उर्लिएर आएपछि त्यो क्षणमै बगरमा परिणत बन्छ÷बन्दो रहेछ ।
सरस्वतीसँगको छ वर्षे जटिल तर अतृप्त सहयात्रालाई थाँती राख्दै मलेसिया आइपुगें । तर ज्यान मात्रै यहाँ, मन त उतै पो छोडेर आईएछ । मलाई त्यस्तो क्षणको सम्झना छैन–जुन क्षण उसलाई नसम्झेको होस् । कम्पनीको बाह्रघण्टे ड्युटी बिताउन मात्र होइन गाँस निल्नु र आँखा चिम्लनु पनि गाह्रो । निदाउनु अगाडि उसैको झल्को आँखामा, निदाएपछि सपनाभरि उनै । ओहो ! कसरी बिताउने दुई बर्ष ? म मलेसिया आइपुगेको पहिलो दिन नै बेस्मारी आत्तिएँ ।
हप्तामा एकपल्ट फोन गर्ने सर्त थियो । जति फोन गर्ने दिन नजिकिन्थ्यो उती मनमा रोमाञ्चकता थपिन्थ्यो । तर फोन गरी सिध्याएपछि, अर्को बेचइनीले बेस्मारी बाँध्थ्यो । हैन मलाई मात्रै यस्तो हो कि, अरुलाई पनि हुन्छ ? म अरुको अनुहार पढ्न खोज्थें । यस्तो लाग्थ्यो—सबैको अनुहारमा उसैगरी उदाशी पोखिएको छ, मेरोमा जस्तै ।
सान्त्वना खोज्ने सवालमा धेरै कुराहरु सोहोरिएर आउँदो रहेछ । मैले आफू बाल्यकाल हुँदाको क्षणहरुलाई सम्झिएँ । म सानो हुँदा तीन–चार पटक मेरो बुवा पनि परदेश जानु भएको याद छ । उसबेला मेघालय, असम, मिजोरम तिर जाने खुबै चलन थियो पूर्वि पहाडि जिल्लाहरुमा । कोइलाखात जाने भनिन्थ्यो । खासगरि दशैं तिहार मानेर केही महिनाको लागि कोइलाखात जानु हुन्थ्यो बुवाहरु । त्यो जमानामा फोन त कता हो कता हुलाकको पनि राम्रो सुविधा थिएन । घरबाट निस्किएर हिंडेपछि दुई–तीन महिनै बेखबर । बल्ल–तल्ल चिट्ठी आइपुग्थ्यो घरमा, परदेशीको । घरबाट परदेशीलाई पठाएको चिट्ठी पुग्ने बेलामा परदेशीको घर फिर्ने सुरसार भइसक्थ्यो । अहो ! सञ्चो बिसञ्चोको खबर पाउन पनि तीन÷चार महिना पर्खनु पर्ने । त्यो बेला परदेश लाग्ने बुवाको मन कस्तो हुन्थ्यो होला ? अनि घरमा आमाको मन नि ? यी र यस्ता कुराहरु सम्झँदा त सारा टेन्सनै साफ । हुन पनि हो सानो कुरो भन्नु पर्यो भने वा केही भइहाल्यो भने तु फोन गर्यो, बोल्यो । तर मन न हो, एकातिर सान्त्वनाको पर्खाल ठडिन्दै गर्छ अर्कोतिर वेदनाको पहाड भत्किदै गर्छ ।
हामीसँगै आएका स्याङ्जाका एक जना मगर भाइ थिए । उमेर पनि कलिलै, घर छोडेर कहिल्यै परदेश नलागेको । उत्ति दुःख पनि नखेपेको । ती भाइलाई एक दिन कुनामा रुदै गरेको भेटें । यसो कोट्याएर के भयो भनि सोधें । विचरा घर–गाउँको सम्झनाले बेस्मारी पिल्सिएका रहेछन् । रुँदै भने—दाइ म नेपाल जान्छु, गाडी चढेर जाने ठाउँ बताई दिनुस् न । हे आपत ! के भनेर सम्झाउनु उसलाई । मलेसियाबाट गाडी चढेर नेपाल जान खोज्नेलाई कुन बाटो देखाई दिनु ? जिस्काउँदै भने—आज घर सम्झेर रुने मान्छे, छ महिनापछि घरै बिर्सन्छ । हुन पनि हो, दिनहरु जति पुरानो बन्दै जान्छ, सम्झनाहरु उति नै पातलिन्दै जान्छ÷जाँदो रहेछ ।
पिडालाई भुल्ने विकल्पहरु धेरै हुन्छन् । अक्सर विछोडको पिडामा अल्झिएकाहरु कि रक्सीको सहारा लिन्छन्, कि नयाँ सम्बन्धको खोजी गर्छन् । मसँग पनि दुवै विकल्प थियो । गाउँ–घरमा हुँदा रक्सीको गन्धै नमनपराउने मान्छे, पोखरा पुगेपछि भने पारखी भइसकेको थिएँ । रक्सीको झुम्म नशामा आफैलाई बिर्सिएको क्षणहरु स्मृतिपटमा थुप्रै थिए मसँग । अनि कथित सम्बन्धको रंगमञ्चमा अभिनय गर्न, खोजिगरे पात्रको के खाँचो मलेसियामा । पटकको तीस रिङ्गिट देखि ‘लिभिङ टुगेदर’, सहजै उपलब्ध हुन सक्थ्यो । तर किन हो पीडाहरुले मलाई कहिल्यै गलत बाटोमा अग्रसर हुन दिदैन, झन् राम्रो काम तिर पो प्रेरित गर्छ । मेरा पुराना दिनहरुलाई सम्झन्छु, जुन बेला घरमा बुवा–आमाको झगडा हुन्थ्यो त्यस्तो बेला कविता लेख्न खुब जाँगर चल्ने । अरुले गाली गर्दा केही गरेर देखाउँछु भन्ने सोच्ने । एस.एल. सी.मा फष्ट डिभिजनको नजिक नम्बर आएर पनि अंग्रेजी लाग्दा कम्पार्टलाई फेल गरेर एक्ज्याम्टेटबाट फष्र्ट डिभिजन पास गर्छु भन्ने होप । मलेसियामा पनि यस्तै भो, रक्सी र तरुनी होइन अबको साथी किताब भन्ने लाग्यो । अचम्म ! चार बर्षसम्म रक्सी मुखैमा पो लाईएनछ । ग्याष्ट्रिकले अति नै सताएपछि साथीहरुको सल्लाहमा एक दिन रक्सी खाइयो र तोडियो अघोषित प्रतिज्ञा तर यौनको मामलामा त कुमारै पो भएछु पाँच वर्ष बस्दा पनि ।
नेपालबाट आउँदा थुप्रै किताबहरु बोकेर आएको थिएँ, करिब १२ किलो । जसमा केही आध्यात्मिक र दर्शनहरु पनि थिए । सबैभन्दा पहिले, जयपृथ्वीवहादुर सिंहको मानववादलाई पढें, लाग्यो जीवनको केही अर्थ छ । प्रत्येक मान्छेको जन्ममा केही न केही अर्थ लुकेको छ । तर त्यो अर्थलाई खोज्न सक्नु पर्यो । राज खान्दानमा जन्मिएर राजसी सुविधा प्राप्त गरेका जयपृथ्वीवहादुर सिंह किन राजाको पदवी त्यागेर मानववादको वकालत गर्दै विश्व डुले ? जयपृथ्वीले खोजेको जीवनको अर्थले धेरै प्रभाव पार्यो मलाई । त्यसपछि फ्रायडको मनोविश्लेषण, खप्तड स्वामीको ‘विचार विज्ञान’, डा. स्वामी विकासानन्दको ‘विचार क्रान्ती’, डा.स्वामी प्रपन्नाचार्यको ‘वेदमा के छ’ ?, गोविन्द वर्तमानको ‘सोह्र साँझहरु’, कृष्ण धरावासीको ‘राधा’, तसलिमा नसरिनको ‘आइमाईको हकमा’, स्वेट मार्डनको ‘कसरी बन्ने करोडपति’, कर्ण शाक्यको ‘खोज’, टेकनाथ रिजालको ‘निर्वासन’, ओसोको ‘सम्भोगदेखि समाधितिर’, विपि कोइरालाको ‘आत्मकथा’, महात्मा गान्धीको ‘आत्मकथा’ लगायतका पुस्तकहरुको अध्ययनसँगै जीवनका केही रहस्यहरुलाई साक्षत्कार गर्न पाईयो । उता श्रम साप्ताहिकले कतैबाट साभार गरेर हरेक हप्ता प्रकाशित गर्ने विश्व कम्यूनिष्ट आन्दोलनका हस्तीहरुको जीवन चरित्रहरुको पनि नियमित अध्ययन गर्दै रहें । वास्तवमै किताब र पत्रपत्रिकाहरुले वेदनाका रागहरुलाई परिवर्तित गर्न सहयोग पुर्यायो र यस्तै बेला जन्मिए केही कविता, कथा र लेखहरु ।
विछोडका पीडाहरुमा विस्तारै खाटा बस्दै गए पनि, सम्झनाका पलहरु बिस्तारै ओझेलिन्दै गए पनि सम्बन्धका पर्खालहरु हल्लिन थाली सकेका थिए । लाग्थ्यो त्यो पर्खाल कुनै पनि विन्दुमा पुगेर ढल्ने छ । यस्ता चिन्तनले मात्रै पनि मुटु हल्लाउँथ्यो, पाईला गलाउँथ्यो, शिर रिङ्ग्याउँथ्यो । भाग्य र सपनामा फिटिक्कै विश्वास नगर्ने मान्छे म—सपनाले बारम्बार सम्बन्धको अन्त्य निश्चित छ भन्दै थियो । बचपनदेखिको चिन्जान, अनायासै गाँसिएको प्रेम सम्बन्ध, जटिल मोडमा पुगेर गरिएको अन्तरजातीय विवाह, विभिन्न आरोह–अवरोहहरु पार गर्दै सँगै विताएको महत्वपूर्ण छ वर्ष र परदेशिएपछि थपिएको पीडाको बीच सातौं महिनामा सम्बन्ध अन्त्यको घोषणाले मृत्यु चिन्तनसम्म पुर्याउँदा वास्तवमै किताब नै मल्हम बन्यो मेरो लागि ।
र, फेरि दोश्रो पटक मलेसिया आइपुगेको छु । अघिल्लो अनुभवले यस पटकको परदेश यात्रा पक्कै सहज छ । तर पहिलो पटक विछोडको पीडा झेली रहेको आमा–छोरीलाई मलाई जस्तो सहज नहुन सक्छ । त्यही भएर फोन गर्दा सधैं किताब पढ्न सल्लाह दिन्छु कवितालाई । भन्छु—छोरीलाई चित्रहरु भएको किताब देखाईदेऊ ।

चन्द्र शम्शेरको आत्मग्लानी


उहिल्यै उहिल्यै
हावामा फ्यार-फ्यार गर्दै
स्वतन्त्रताको संगीत बजाईरहेको ...
रातो रिवन काटेपछि कैंचीले
भारदारहरुको अनुहारमा हेरेर
नजर झुकाउँदै-झुकाउँदै
श्री ३ चन्द्र बोले थे~
आफ्नै खुट्टामा बन्चरो हाने
स्कुल खोलेर आज ।

हो, सत्य सावित भो
चन्द्रको त्यो अभिव्यक्ति
केही समयको अन्तरालपछि ।
र,
स्कुल खोल्नुको गल्ती
भोगिरहेका छन् निरन्तर निरन्तर
चन्द्र शम्शेरहरु ।
स्कुलमा,
आफ्ना छोरा/छोरीहरु
नाति/नातिनाहरु
पनाति/पनातिनाहरु
र,
निकट भारदारका सन्तान मात्र
पढुन् भन्ने चन्द्रको चाहनामाथि
त्यस बेला ग्रहण लाग्यो
जब काठमाण्डौका ज्यापुहरु,
काँठका भोटेहरु,
पूर्वका किरुवाहरु,
पश्चिमका लेंढाहरु,
सुदुर पश्चिमका थारुहरु
हिमालका थाक्सेहरु
मदेशका धोतीहरु
र,
यत्रतत्र छरिएका अछुतहरु
ओइरिए स्कुलमा ।
स्कुलमा,
लादिए पनि पाठ्यक्रम
तोकिए पनि पाठ्यपुस्तक
गाउन लाए पनि श्री ५ को जयगान
खेल्न लाए पनि सामन्ती पिटी
विद्यार्थीहरु,
नाघेर यथास्थितिको पर्खाल
मिसिए हावासँगै
र,
छरिए देश-देशान्तर
छामे वास्तविकता,
खोतले इतिहास,
पढे आफ्नै अनुहार ऐनामा
देखे मूलबाटो
र,
हिंडिरहेछन् पहिचानी पाइलाहरु ।
परन्तु,
चन्द्र शम्शेरहरु
आज पनि रिवन काट्न वाध्य छन् ।
राजा घोषणा गरेर आफुलाई
विधान भन्दामाथि राख्ने
ओ चन्द्र शम्शेरहरु
आखिर हान्नै छ खुट्टामा बन्चरोले भने
हान एकै पटक छिन्ने गरि
फाल अर्घेलो अंश
र,
चाल समान पाईलाहरु
सङ्घीय गणतान्त्रिक नेपालको
स्वाधिन माटोमा युगैं युग ।
त्यसपछि
स्कुल खोल्दा
मान्नु पर्ने छैन आत्मग्लानी
भविष्यमा कहिल्यै पनि ।

बोबोरेम डाँडा


हरेक दिन
धर्तिमा नटेक्दै घामले पाइला
आँखा मिच्दै–मिच्दै
उपस्थित हुन्छु गार्ड हाउस भित्र
र,
सम्हाल्छु एउटा सुरक्षा पोष्ट ।
दुईटा काठे टेबल
दईटा फलामे कुर्सी
केही रेकर्ड बुक्सहरु
एउटा बुढो टेबलघडी
एउटा टेलिफोन सेट
उमेर पुग्दै गएको पङ्खा दुईटा
केही छाप र छापदानी
मार्कर, टिपेक्स र डटपेनहरु
बस् यतिछन्
गार्ड हाउस भित्र
र,
बाहिर छन् जीवनका अनगिन्ती रङ्गहरु ।
फलामे कुर्सीमा बसेर
घण्टा–घण्टाको रिपोर्ट लेखिरहँदा
मेरो अनुहार सधैं–सधैं
फर्किरहेको हुन्छ उत्तर–पश्चिमपट्टि
र,
शिशाको पारदर्शी झ्यालबाट
देखिरहेको हुन्छु पर छितिजमा
एउटा हरियो पहाड
झण्डै बोबोरेम डाँडा जस्तै ।
बोबोरेम,
मेरो घरदेखि पारी
खोपनको शिरमा उभिएको
एउटा निर्जिब पहाड
अर्थात,
वाल्यकालको अभिन्न मित्र ।
ऊसँग खेलेको÷बोलेको
अनगिन्ती रुमानी सम्झनाहरु
अझै पनि आलैछन् मानसपटलमा
कि, उसको शिरमा उभिएको
अग्ला रुखहरुलाई औंल्याएर
हिमाल चुचुरीभन्दै आँगनमा उफ्रिरहँदा
मकैको खोयामा चिप्लिएर लडेपछि
दाहिने घुँडामा लागेको चोटको खत
बोकिरहेको छु अझैसम्म ।
उसको छातिमा लम्पसार एउटा भीर
जहाँ केही धमिला धब्बाहरु
सायद ढुङ्गामा लागेको लेऊ
वा, पलाएका खरुकीबुटा
कतै कालो, कतै सेतो
टाउको पनि, खुट्टा पनि
अर्थात दौडिरहेको पाँडुले कुकुर जस्तै
जसलाई नियालेर हरेक दिन
चै...चै... भनिरहँदा
क्रोक्रोमा सुतिरहेकी सानी बहिनी
व्यूँझेर कहालिन थालेपछि
बाँसको सुर्कनाले छेपारीमा आमाले हिर्काउँदा
खाँडीको कट्टुमा तुरुक्कै मुतेको
अहँ, बिर्सेको छैन अझै पनि ।
बोबोेरेम,
जहाँ फेरिएपछि पालुवा
टेक्दै टेक्दै मञ्जरीमा
कोहौ कोहौ भन्दै कराईरहँदा कोईली
म है म भन्दा पनि नसुनेपछि
बाँसको फित्कौलीले
हानी पठाउँदा कुरिङ ढुङ्गो
टाउकोमा लागेर भाइको
उठेपछि फुलौरा
भाग्दा ओह्रालै ओह्रालै चिप्रिङ खोलातिर
सिस्नो घारीमा लडी पसेपछि
चिलिलि...कहालिएको
सायद,
सुनेको हुनुपर्छ बोबोरेमले ।
नराहा धुमिएर धुम्म
आँशु खसाउनै लाग्दा
भुइँ कुहिरोको ओढेर खास्टो
कुक्कु...हा.....गरिरहेको बोबोरेमलाई छक्याउँदै
पसेर मकैबारीमा
भाँचेर धान चमर
कसेर सालिमोले मुठो
आँगनमा सिली नाच्दै
सोइसोइला गाइरहेको बेला
आँगनको तिखो ढङ्गोमा लागेपछि ठेस
कान्छी औंलाको पक्लक्क उक्किएपछि नङ
तिनतिरी झ्याँई देख्दाको क्षण
बिर्सन सकिएला र कहिल्यै ?
शरदले सिनित्तै बढारेपछि आकाश
अहो ! कति चिरिच्याट्ट देखिन्छ बोबोरेम
उड्दै उड्दै काकाकुली जस्तै
पुगेर थुम्कोमा
बसेर घण्टौं घण्टा
खेली रहुँ झैं लाग्थ्यो सिन्का लुकाई
त्यसैले त एकदिन पसें बुइँगलमा
खोलें ट्याङकाको चाबी
झिके तमसुक कागज
र,
बनाएँ चङ्गा
उडाउँनलाई मन
बोबोरेमको चुचुरो तिर
परन्तु,
खिलेर ऊनी धागो
तेर्साएर चित्रा चोया
कहाँ उडोस् माथि–माथि
झर्यो अलि पर
जहाँ अरिमट्ठ हातहरुले
बे¥र्दै हुनुहुन्थ्यो पीताश्री बाबियोको कुचो
थाहा लागेपछि बद्मासी
तानेर कान
गालामा तप्पड मार्दा
आँखाबाट छुटेर फिलिङ्गो
नाघी गएपछि बोबोरेम
काबुकिदुहाई भएको दिनहरु
आलै छन् स्मृतिमा ।
बोबोरेम,
गुँराशै गुँराशको घारी
हरेक शिशिरमा छरेर सिन्दुरी रङ्ग
मण्डपमा बसेकी बेहुली झैं
विछट्टै सुन्दरी देखिएको बेला
यसो हेर्यो आफू त जिलीगाण्टे पो !
हतार हतार पसेर घर भित्र
उक्लिएर मुढामाथि
झिकेर खुर्पेटोबाट भुत्ते खुर्पा
पसेर बाँस घारीमा
काटेर मलीबाँसको तामा
बनाएर बाँसखुट्टी
भरखरै बाँझो मारेको डल्ले गह्रामा
ठमठम हिडिरहँदा
अचानक ठोक्किएर डल्लामा
बुल्ढुङ्ग लडेपछि
तिघ्रामा भासिन्दा चोके
भलभली रगत बगेको
र,
त्यही रगतलाई मानेर सिन्दुर
टाढैबाट भरेको उनको सिउँदो
अरे ! कहाँ बिर्सन्छु र यति चाँडै ।
हो त्यहि बोबोरेम
आज मेरी छोरीको साथी भएको छ
र,

एकादेशको एक शहरमा
बोकेर अरपे जिन्दगी
एउटा अपरिचित पहाडलाई
दाँज्दै–दाँज्दै बोबोरेमसँग
थु...थु...गरिरहेको छु,
सिंहदरबारमा बसेर
रत्यौली खेलिरहेका
नकटो नेताहरुलाई
थु...थु...थु.....
थु...थु...थु.....
थु...थु...थु..... ।

अस्वीकृत वर्तमान

 

 
छेप्पाहरुले बेहोरेको वर्तमान
कोक्पाहरुको जवानीसम्म आइपुग्दा
विगत बनिसकेको थियो
र त, त्यसैको विरुद्घमा
उठाए कोक्पाहरुले
बर्माको घनघोर जङ्गलमा
पड्काएका बन्दुकहरु
राणाको छाति ताकेर ।
परन्तु सम्झौताको नाममा
धोका बेहोरेका कोक्पाहरुको बर्तमान
आपाहरुलाई चित्त नबुझे पछि
कहिले पिस्करमा
कहिले सुखानीमा
कहिले इभाङमा
कहिले छिन्ताङमा
बगाई रहे आपाहरुले
थोपा थोपा जम्मा पारेका
रगतका अमूल्य फाल्साहरु
तिनै रगतका फाल्साहरुमा
कोरिएका मुक्तिको गाथाभित्र
आज पनाति पुस्ताले
आफ्नै पहिचान नभेटेपछि
तयार भइरहेका छन्
इतिहास दोहो¥याउन ।
त्यसैले त यो कवि मन अचेल
विह्वल भएको छ,
कतै देश भित्र अर्कै देश खोज्न
कविताहरुले बारुद बन्नु प¥यो भने
सुरुवात हुने छ गृह युद्घ
जसले निम्त्याउने छ विनास सबैको
त्यसैले प्रतिपक्षको बेञ्चबाट उठेर
रोष्ट्रमको सामुन्ने पुगि
नियमापत्ति जनाई रहेको छु
र, सँगै नारा घन्किरहेछ
पहिचान मास्न पाइँदैन ।

असफल राष्ट्र


ब्यूँझदा न ब्यूँझदै
छिमेकीको बाँस झ्याँङमा...
घुर्न थाल्यो एक जोडि ढुकुर
ढुकुर...कुर...ढुकुर...कुर.....
र,
गञ्जकमा भएको परेवाले पनि भाका टिप्यो
माक...माक...घुर...माक...माक...घुर.....
खोरमा थुनिएको बैसालु भाले के कम
बास्न थाल्यो टोलै थर्काउँदै
कुखुरी...काँ.....।
हैन ?
यो असफल राष्ट्रमा
ढुकुर कसरी करायो ?
परेवा कसरी घु¥यो ?
र,
भाले कसरी बास्यो ?
म छक्कै परे
तीन छक्क ।

उठे र आङ तन्काएँ
खै के हो
चसक्कै चस्कियो देब्रे छाति भित्र
र, हतारोमा
खोलें बन्द ढोका
एक झोंक्का चिसो बतास काखैमा लुट्पुटियो
सुम्सुम्यो उसैगरि बतासले
मेरो हृदयका अन्तर कुन्तरहरु
विल्कुल पहिले जस्तै
कुनै परिवर्तन नपाउँदा बतासमा
म हैरान भएँ
कसरी राष्ट्र असफल भयो ?
पुगें ढुङ्गे धारोमा
झरें भस्मे कुवामा
पसें तुवा खोलाको होंछापुर्मा दहमा
पानी उही छ
फेरिएको छैन रंग
रोकिएको छैन कतै
धाराको अविरल धरर.....
कुवाको अविचल आकृति
र, खोलाको कुलुलु
विल्कुल पहिलाको जस्तै
यहि बेला
जिऊ भरि अविर पोतेर
धोवी चरा
देखियो खोलाको ढुङ्गोमा
उसैगरि पुच्छर फट्कार्दै नाच्यो
र, हानियो ओह्रालै
असफल राष्ट्रलाई नाप्न निस्किएको म
एक पटक फेरि हैरान भएँ ।
कि हिमाल भत्कियो ?
कि छाति भरि सभ्यताको बुकी फूल उमारेर
सधैं शिर ठडाई रहने पहाड लड्यो ?
यस्तै यस्तै तर्कनामा हेलिन्दै
निस्किएँ सिकारी थुम्कोमा
र, हेरें सिधैं उत्तरपट्टि
जहाँ युगौं देखि अविश्रान्त
उभिरहेका छन् सगरमाथा र कुम्भकर्णहरु
लोहोत्से र चोयूँहरु
ट्याम्के र मैंयूहरु
सेल्मे र मूलडाँडाहरु
बिल्कुल उसैगरि
शिरभरि हिउँको खास्टो ओढेर
अविचल उभिरहेकाछन् हिमालहरु
छातिभरि बुकी फूल उमारेर
सभ्यताको परिचय दिइरहेकाछन् पहाडहरु
र, यहि बेला
चिसापानी डाँडोलाई उधिन्दै
झुल्कियो घाम
रक्तिम आभाहरु बोकेर
अहँ असफलताको कुनै हरक, कुनै छनक
सुँघिएन यहाँ पनि, देखिएन यहाँ पनि ।
दिनभर बतास चलि¥ह्यो सिर...सिर......
घाम लागि रह्यो उसैगरि
खोलो बगि रह्यो निरन्तर...निरन्तर.....
चराहरुको चिरबिर
पुतलीको फुर्र...फुर्र.....
र, मान्छेको ताहुर माहुर रोकिएन
दिब्यहाङले जोतिरह्यो मकै बारी
सिम्माले लगाई रहि मकैको बिऊ सियोमा
सिस्नेम्पामा कुलो खन्नेहरु
गैह्री खेतमा धानको ब्याड राख्नेहरु
सबै सबै
ब्यस्त रहे दिनभर
फगत म,
असफल राष्ट्र खोज्दै
भौतारी रहें अनायासै ।
दिनभरको
क्लान्त तन र मनलाई अल्मल्याउन
खोलें ल्यापटप र जोडें मोडियम
अल्छि मान्दै खुल्यो वेभ पेजहरु
साइन इन गरें फेसबुक, ट्विटर र जि मेलमा
देखियो भित्ताहरु रंगी बिरंगी
कसैले के लेखेका, कसैले के लेखेका
कतै लाली गुँरासको थुँगा
कतै फेवाको कञ्चन पानीमा हेलिरहेका डुँगा
जन्म दिनको शुभकामना दिनेहरु पनि छन्
गाली गरेर आनन्द लिनेहरु पनि छन्
उही ढुँगे धारो जस्तै, भस्मे कुवा र तुवा खोला जस्तै
अविरल, अविचल र अपरिवर्तनीय छन् वेभ पेजहरु पनि
कुनै गन्ध छैन असफलताको ।
निक्कै बेर घोरिएँ
सायद,
हराँए सपनाहरुमा
डुबे कल्पनाहरुमा
पौंडिए तरङ्गहरुमा
यहि बेला
फेस बुकको भित्तोमा लेख्यो कसैले
देश असफल भएको छैन
पार्टीहरु पनि असफल भएका छैनन्
असफल भएका तिनै मात्र हुन्
जो ठूला पार्टीका निर्णायक ठाउँमा छन्
यसो हेरें,
धेरैले लाइक गरेका रहेछन्
तर मैले कमेन्ट नै लेखें
हन्ड्रेड पर्सेन्ट ठीक ।