Friday, November 7, 2014

बाजेको आर्शिवाद

नमस्कार बाजे नमस्कार कोकु (बजु)
लौ नमस्कार नमस्कार भाग्यमानी हुनु धेरै पढ्नु मन्त्री-प्रधानमन्त्री हुनु है नाती ।
विद्यालय प्रवेश गरेको सायद दोश्रो दिन हुनुपर्छ मैले पहिलो पल्ट यो आर्शिवचन पाएको थिएँ । र, जीवनको अठ्ठाईसौं वसन्तसम्म पाईरहें । लाहुरेको भूतले सताएको समाज र समुदायमा जन्मिनेहरुका लागि यो आर्शिवचन सर्वथा अनौठो थियो र भइरह्यो पनि ।
पूर्वतर्फ फर्किएको बुइँगल वाला घर र आगाडि झण्डै उस्तै मतान । आँगनमा साह्रै मेहनत गरेर चटक्क बिछ्याइएका चप्लेटी ढुङ्गाहरु घरको माथिल्लो भित्तासँगै जोडिएको बाटो र तल्लोपट्टी लस्करै उभिएका सुन्तलाका रहर लाग्दा बोटहरु मतानको तल्लो भागसँगै गाँसिएको एकपाटे छाप्रोमा तबेला र तबेलामा बाँधिएको घोडा । त्यही घोडा, जसलाई हेर्नको निम्ती हामी बाटो अलिकती लम्ब्याएर स्कुल पुग्ने गर्दथ्यौं । घरको दलानमा माथिल्लोपट्टी हरियो रङ्ग पोतेको खाट थियो र तल्लोपट्टी तीनतिर बारा हालेको बेाच थियो जहाँ बसेर सनीबार बाहेकका दिनहरु नमस्कार फर्काउन र आर्शिवाद बाँड्न तात्कालिन खोटाङ जिल्ला पन्चायतका सभापति बृषवहादुर राई आफ्नो अर्धाङ्गिनीको साथ हाजिर हुन्थे ।
स्कुल प्रवेस गर्दा म साह्रै फुच्चे थिएँ चारबर्ष पूरा पुगेर पाँच लागेको अझ ख्याउटे । आधुनिकताले छुउटुप्पै नछोएको दूरदराजको गाउँमा जन्मनुको कारण सानैमा विवेक सप्रने कुरै भएन । मन्त्री-प्रधान मन्त्रीको त के कुरा सभापतिको अर्थ पनि मठ्ठै । मेरा दामलीहरुको मेसोमा मिसिएर आर्शिवचन दिने मान्छेलाई उसबेला यसरी चिने-सपति बाजे । र अलिकपछि-सहपति बाजे । तर बाजेको असली पद 'सभापति' हो भन्ने भेउ पाउन निक्कै बर्षहरु बित्नु पर् यो-जतिबेला उहाँले दिने आर्शिवचनको अर्थ पनि मैले खुट्याई सकेको थिएँ ।
म जन्मिएको समुदायका मान्छेहरुले देख्ने सपना एउटै थियो-लाहुरे । र, आमा-बाबाहरुको सपना पनि लाहुरसँगै जोडिएको हुन्थ्यो । लाहुरेभन्दा अर्थोक जानेकै पनि त के थिए र ती दूरदराजका गाउँलेहरुले । सुकिलो-मुकिलो लुगामा ठाँटिएर एक-दुईजना भरिया आगाडि-पछाडि लगाउँदै हातमा टेपरेकर्डर झुण्डाएर लैबरीका गीतहरु घन्काउँदै घर फर्किने लाहुरेहरु साँच्चै महान् थिए गाउँलेहरुको लागि । त्यसैले त ठुलाबडाहरुले दिने आर्शिवचन यस्तै हुन्थ्यो-लाहुरे हुनु, हवल्दार, जमदार, सुवेदार, क्याप्टेन, लेप्टेन (लेफ्टिनेन्ट), मेजर हुनु । पुरेतहरुले घोक्ने गायत्री मन्त्रझैं कण्ठस्थ यस्ता आर्शिवचनहरु भन्दा सर्वथा बेग्लै आर्शिवचन सुन्दा अनौठो लाग्नु स्वभाविकै थियो ।
विद्यालय प्रवेशको करिब एकबर्ष पछाडि बार्षिक परिक्षाको रिजल्ट प्रकाशित गर्ने क्रममा स्कुलमा सानो समारोह भएको थियो । यस्ता समारोहहरु प्रत्येक बर्ष हुँदैआए पनि मेरो निम्ती त्यो समारोह पहिलो थियो । कहिल्यै देख्दै नदेखेका अनुहारहरु स्कुलमा उपस्थित भएका थिए । म अहिले पनि सम्झन्छु त्यसबेला मनमा रोमान्चकता र डर दुवै लागेको थियो । समारोहमा सभापति बाजे पनि आउनु भएको थियो । उहाँ मन्चको सबैभन्दा अगाडि राम्रो कुर्सीमा बस्नु भएको थियो । उहाँको छेउमा स्कुलका शिक्षकहरु र गाउँका बुढापाकाहरु थिए । प्रध्यानध्यापकले केही कुरा बोल्नु भयो तर उहाँले के बोल्नु भयो भन्ने कुराको हेक्का मलाई रहेन । केही बेर पछाडि नतिजा प्रकाशन गरियो र प्रथम, दृतीय, तृतीय हुनेहरुलाई पुरस्कार वितरण गरियो । पुरस्कार सभापति बाजेले नै वितरण गर्नु भएको थियो । पुरस्कार दिनु हुँदा पनि उहाँले उही आर्शिवचन दोहोर् याउनु भो प्रधान मन्त्री, मन्त्री, मन्त्राणी हुनु । पुरस्कार वितरण गरिसकेपछि बाजे उभिनु भो र बोल्न थाल्नु भो । त्यसबेला मलाई उहाँको बोलाई भाषण हो भन्ने थाहा थिएन । उहाँले बोली रहँदा शिक्षक र गाउँले अभिभावकहरुले ताली बजाउँथे । हामी फुच्चाफुच्चीहरु ठूलाहरुले बजाउँदा निस्किरहेको लय भङ्ग गर्दै बेतुकको ताली पिट्थ्यौं । अझ कस्को धेरै बज्ने भनेर जोड-जोडले कलिला हातहरु आपसमा ठोक्याउथ्यौं । बाजेले भाषण गरिसके पनि निक्कै बेर ताली बजिरह्यो । बाजे पछाडि कसैको बोल्ने पालो आएन । मैले ठूलाबडा मानेकाहरु कसैले पनि भाषण गरेनन् । त्यसबेलाको कलिलो बाल मानसिकताले अनुभूत गर् यो-सभापति बाजे साँच्चै ठूलै मान्छे हुनुहुँदो रहेछ । र, के पनि विश्वास भो भने बाजेले दिनु भएको आर्शिवाद अरुहरुले दिने आर्शिबाद भन्दा ठूलो छ । हो त्यही बेलादेखि आमा-बाबा र मान्यजनहरुले लाहुरे हुनु भन्दै दिने आर्शिवादलाई मैले ठूलो ठानिन र जीवनमा लाहुरे हुनको लागि कुनै प्रयास समेत गरिन ।
केही बुझ्ने भएपछि सभापति बाजेसँग दोहोरो बात पनि गर्न थालियो । उहाँको घरमा जाने दलानको भित्ताभरि ठूल्ठूलो सिसाको फ्रेममा सजाएर राखिएको ब्लाक एण्ड ह्वाइट फोटोहरु हेर्ने गर्न थालियो । फोटोहरुमा बाजे बाहेक सबै अचिनारुहरु हुन्थे । बाजे कि त उभिएर भाषण गर्दै गरेका कि त दोसल्ला आढाइन्दै गरिएका फोटोहरु थिए । कहिले काँही फोटोमा भएका अन्य ब्यक्तीहरुको बारेमा बाजेले बताउनु हुन्थ्यो तर बाल मानसिकताले ती अपरिचितहरुको बारेमा हेक्का राख्ने कुरै भएन । धेरै पछि थाहा लाग्यो पन्चायती कालका मन्त्री, सभासद र अन्य विशिष्ट राजनीतिज्ञहरुको साथ बाजे सहभागि हुनुहुँदा ताकाको प्रतिविम्बहरु रहेछन् ती ।
२०४६ सालको राजनीतिक परिवर्तनले मान्छेहरुमा नौलो उत्साह थपेको थियो । बोल्दै नबोल्ने मान्छेहरु पनि बोल्ने भएका थिए । ठाउँ ठाउँमा सभा समारोहहरु भएका थिए । दुरदराजको त्यो वस्ती तिर पनि चेतनाको राँको मज्जैले झोसिएको थियो । २०४६ सालको राजनीतिक परिवर्तन हुँदा म सात कक्षामा पुगेको थिएँ । पढाईको हिसाबले राजनीतिक चेतना घुस्ने बेला हो त्यो तर म राजनीतिमा चेतनासून्य थिएँ । त्यसैले त्यो परिवर्तनले मलाई कताकता दुखाएको थियो । दुखाईको कारण-सभापति बाजेलाई गाली गरिनु थियो । फलना शोसक, फलना घुस्याहा फलनाको दिन गयो जस्ता गालीहरु सभापति बाजे माथि गाउँलेहरु पछाडिबाट बर्षाउँथे । अहिले सम्झन्छु सभापति बाजे मेरो निम्ती रोलमोडल बनिसक्नु भएको रहेछ त्यसैले त उहाँ माथि थोपरिने गालीहरु सुनेर म भित्र भित्रै मुर्मुरिन्थें । सभापति बाजे प्रति यती ठूलो सद्भाव पलाउनुमा अर्को कारण पनि छ-उहाँ बाटोमा िहंड्दा बाटो बीचको ढुङ्गा छेउछाउका झाडीहरु पन्छाउँदै हिड्नु हुन्थ्यो । र, हामी कोही छौं भने ढुङ्गाहरु फाल्न लगाउनु हुन्थ्यो । उहाँ भन्नु हुन्थ्यो-बटुवाहरु ढुङ्गामा अल्झिएर लड्न सक्छ त्यसैले फाल्नु पर्छ । म मेरै बुवा-आमा र गाउँका मान्यजनहरुसँग धेरै पटक हििडंसकेको थिएँ तर उहाँहरु न बाटो बीचको ढुङ्गानै फाल्नु हुन्थ्यो न त झाडीहरु नै पन्छ्याउनु हुन्थ्यो ।
सभापति बाजेलाई मैले कहिल्यै जाँड-रक्सी खाएको र तास-जुवा खेलेको देखिन । जाड-रक्सी नभई कुनै कार्य नै नहुने समुदायकै एक सदस्यले जाँड-रक्सी खाएको नदेख्नु अनौठो थियो । स्कुलमा शिक्षकहरुले जाँड-रक्सी खानु हुँदैन, तास-जुवा खेल्नु हुँदैन भनेर पढाउने बेलामा पढाउँथे तर स्कुल छुट्न साथ जाँड-रक्सीमै डुबेको भेट्थें म । तिहारको बेला त स्कुल लागेको समयमै गाउँमा पसेर तासको खालमा जमिरहेका शिक्षकहरु भेटिन्थे । म लेखिएको कुरा सत्य हो भन्ने ठान्थें त्यसबेला । किताबमा जाँड-रक्सी खानु हुँदैन जुवा-तास खेल्नु हुँदैन भनेर लेखिएको सत्य हो भनेर मान्थे म । र, सत्य कुरालाई सभापति बाजेले मात्र अङगिकार गरिरहेको पाउँथे । हुन पनि हो बाजेले जीवन भर मलाई उहाँको घर पुग्दा नातीलाई जाँड रक्सी देओ भनेर कोकुहरुलाई भन्नु भएन । बरु कोकुहरुले नाती तिर्खा लाग्यो होला जाँड छानी दिन्छु है भन्नु हुँदा बाजेले पढ्ने मान्छेलाई पनि जाँड दिने हो मोही होला छैन भने दही भए पनि देओ भनेर कोकुहरुलाई भन्नु भएको कुरा मानसपटमा अझै ताजै छ ।
अँ साँच्ची २०४६ सालको परिवर्तन पछाडि बाजेलाई गाली गर्नेहरु निक्कै देखिए गाउँघरमा । सुरुमा त म गाली गरेको सुन्दा रिशले मुरमुरिन्थे तर कुरो बुझ्दै गएपछि गाली गराई स्वभाविक लाग्न थाल्यो । केही साथीहरुको लहै लहैमा लागेर भेट हुँदा बाजेलाई नमस्कार गर्न पनि छोडियो । बाजे प्रतिको सम्मानमा ह्रास आयो भनौं । हो यो समय जीवनकै सबैभन्दा दुर्गतीका दिनहरु हुन् भन्ने अहिले थाहा पाउँदैछु । पढ्ने बाहानमा स्कुल जाने, स्कुलमा पुगेपछि क्यारिमबोर्ड र खोप्पीमा मस्तराम । कहिले कुन गाउँको भ्रमण, कहिले कुन पाखो रुङाई, कहिले कुन जङ्गलको चाहाराई । बाटो छेउको फलफूलको चिचिलै रित्याउने, मकैको खोया नपस्दै भाँचेर मुक्याउने । तर दिनहरु सधैं एकनासको हुँदैन त्यसैले त संसार चलेको छ । ती उरन्ठेउला दिनहरुले जीवनबाट क्रमशः बिदा लिन थालेपछि आफैमा कताकता आत्मग्लानी पलायो । र बाजे प्रतिको सम्मान पुनः फर्किएर आयो । वहाँको विचारभन्दा फरक विचारमा सामेल भएर राजनीति गर्दा पनि मैले फेरि बाजेलाई कहिल्यै नकारात्मक दृष्टिले हेरिन ।
२०६२ को जेष्ठ अन्तिम हप्ता हुनुपर्छ म करिब एक बर्ष पछाडि सानो कामले पोखराबाट घर फर्किएँ । गाउँघरको लागि म निक्कै बिरानो बनिसकेको थिएँ तर गाउँ मेरोलागि उही थियो । सिम्पानीबाट तेर्सो लागि सकेपछि धेरै समय सभापति बाजेकै बारेमा सोची रहें । घर पुग्नु अगावै सभापति बाजेको घर आउने हुँदा उहाँसँग केही बेर बसेरै गफ गर्ने योजना बनाएँ । पश्चिम दिशामा घाम ओह्रालिन्दै थियो म उही चिरपरिचित बाटो नापी रहेको थिएँ । मकैको लहलहाउँदो बोटहरुले बाटो साँघुरो बनाईरहेको आभास भइरहेको थियो । म एउटा आशा बोकेर बाजेको आँगनमा उत्रिएँ । बाजे घरमै हुनुहुन्थ्यो तर मेरो अनुमान विपरित । उहाँ सुकेर हाड छालामात्र हुनु भएको रहेछ । आँखा पनि ठ्याम्मै देख्न नसक्ने । तर बोली भने अझै उस्तै टाठो । मैले बाजेलाई नमस्कार टक्राएँ । उहाँले मेरो आवाज भुल्नु भएको रहेनछ । हामी केहीबेर गफियौं । मैले केही पोखरेलीहरुको बारेमा उहाँलाई जानकारी गराएँ जो पन्चायत कालमा राजनीतिमा सकि्रय थिए । मैले उनीहरुको बारेमा भन्दा बाजेमा बोल्ने थप उत्साह पाएको थिएँ । हुन पनि हो विगतको कुरोहरुले मान्छेलाई रोमान्चित बनाउँछ नै । बाजेसँग छुट्टिने बेलामा उहाँले उही परिचित आर्शिवचन दोहोर् याउनु भयो 'मन्त्री प्रधान मन्त्री हुनु है नाती।'
म पुनः सोही बर्षको दशैंमा गाउँ फर्किएँ । बाटो उही थियो त्यही बाटोहरुलाई पछ्याउँदै सभापति बाजेको घरसम्म पुगें । जेठको अन्तिममा लहलहाउँदो देखिएको मकैको बोटहरुको नामोनिसाना थिएन । मकैको ठाउँमा कोदोको बोट शरदीय पवनको झोक्कासँग बयली खेलिरहेका थिए । म शरद प्रीय मान्छे अझ जन्मेको गाउँमा पुग्दा हर्षले भुइँमा खुट्टा थिएन । पहिलाझैं म सोझै सभापति बाजेको घरमा पसें । सधैं बाजे बस्ने बेाचमा कोकु एक्लै बसिरहनु भएको थियो । मैले कोकुको आँखामा उदासीको भावहरु पढ्न नपाउँदै बाजे भदौमै बित्नु भएको कुरा सुनाउनु भयो । कोकुले बाजे बित्नु हुँदाको कथा सुनाईरहनु हुँदा मैले विगतका दिनहरुलाई सम्झिदै वरिपरिका दृश्यहरु नियालें । सुन्तोलाको बोटहरु पनि बुढो भएर जिगि्रङ परेका रहेछन् । घोडा बाँध्ने तबेलामा बाख्रा बाँधिएको थियो, आँगनका चप्लेटी ढुङ्गाहरु पनि काइ जमेर कालो भईसकेको थियो । म कोकुसँग धेरै बेर बालें तर बाजेको कुराभन्दा अन्य प्रसंगमा हामी गफिएनौं । बिदा हुनेबेलामा मैले पुनः बाजे सधैं बस्नु हुने ठाउँलाई नियाले त्यहाँ अझै पनि बाजेनै बसेर मन्त्री प्रधानमन्त्री हुनु नाती भनॆर आर्शिबाद दिईरहनु भएको जस्तो लाग्यो । तर त्यो मात्र कल्पना थियो । म बाजेको आर्शिबाद विहिन भएर त्यहाँबाट निस्किएँ ।
आज पनि म बाजेबाट परेको प्रभावहरुलाई नजरअन्दाज गरिरहेको छु । मैले संगत गरेको ठूला वा साना सबै मान्छेहरुमा सभापति बाजे एक्लॊ रोडमोडल हुनुहुन्छ ।

लौ गाउँ नयाँ साकेला गीत

मझुवा बेसी मेलैमा
गणतन्त्र आएको बेलैमा
सैसैला हो सैसैला
सै ढोले सै हाम्रो प्रदेश खोई
नेपालका आदिवासी किरात राईहरुको प्रमुख सांस्कृतिक पर्व उभौलीको अवसरमा गाईने गीत हो, सकेला गीत। यो गीत ढोल झ्याम्टाको तालमा साकेला नाच्दा गाउने गरिन्छ । जतिबेला पूर्वको किरात भूमिमा हिन्दु संस्कृतिको अतिक्रमण भएको थिएन त्यसबेला किरात राईहरुले बोल्ने भाषा पनि आफ्नै थियो र साकेला गीत पनि आफ्नै भाषामा गाउने गरिन्थ्यो । तर राज्यको एक भाषा-एक संस्कृतिको नीतिले किरात राईहरुले बोल्ने भाषामा ब्यापक असर मात्र परेन कतिपय किरात राई भाषाहरु त लोपनै भइसकेका छन् । भाषाको हिसाबमा धनी मानिने (किरात राईहरुमा रहेका तीस भन्दा बढी भाषा अझै बोलिन्छ) किरात राईहरुको विकसित रुपमा रहेको केही भाषा पनि बुढापाकाहरुसँगै हराएर जाने अवस्थामा पुगेको छ । अचेल साकेला गीत प्रायः नेपाली भाषामा नै गाउने गरिन्छ र गीत केवल माया प्रीतिकै कुरामा अल्झने गर्दछ । तर अवको साकेला गीत जुन भाषामा गाइए पनि मायाप्रीतिको कुरामा मात्र अल्झनु हुँदैन । साकेला गीतले आफ्नो अधिकार र परिवर्तनका कुराहरुलाई सम्बोधन गर्नु पर्छ ।
मौलिक पर्व मौलिक रित
यो चण्डी होईन साकेला गीत
सैसैला हो सैसैला
सै ढोले सै
हाम्रो भाषा खोई
अचेल सरकारी भाषामा साकेला गीतलाई "चण्डी गीत", साकेला नाचलाई "चण्डी नाच" र बैशाक पूर्णिमालाई "चण्डी पूर्णिमा" भनेर भन्ने गरिन्छ । भाषा संस्कृति प्रतिको वेवास्ताले कतियप किरात राईहरु नै साकेला भन्दा नबुझ्ने भइसकेका छन् । खोज र अध्ययनको कमीले अरुले जे भनिदियो त्यही स्विकार्ने जमात त झनै ठूलो छ । हुन त साकेलालाई विभिन्न थरि किरात राईहरुले आ-आफ्नो भाषामा आ-आफ्नै ढंङ्गले सम्बोधन गर्ने गर्दछन् । साकेला शब्द चाम्लिङ भाषा अन्तर्गतको शब्द हो । बान्तावा भाषामा 'साकेवा' भनिन्छ भने अरु थुप्रै नामहरु छन्-सान्केवा, तोसी, सेग्रो आदि । किरात राईहरु भित्रको भाषिक विविधताको फाईदा उठाउँदै हिन्दु संस्कृतिको अतिक्रमणमा मौलिक पर्वको नाम "चण्डी" हुन पुगेको छ । हिन्दु संस्कृति अनुसार चण्डी भनेको शक्तिको प्रतिक एक देवी हुन् तर साकेला शक्तिको प्रतिक नभई प्रकृतिको एक संकेत हो जस्लाई हेरेर शुभ अशुभ छुट्याउने गरिन्छ । हुन त यो बिवाद गर्ने समय होईन । सारा विवादलाई बिर्सिएर
राष्ट्रको निर्माणमा लाग्ने बेला हो यो । तापनि आफ्ना मौलिकतालाई तिलान्जली दिएर बिवादरहित बन्नु भनेको आफ्नै अस्तित्वलाई नामेट पार्नु हो । त्यसैले अवको साकेला गीतमा माथि उल्लेखित शब्दहरु पनि अटाउनु पर्छ । ताकि अवको दिनमा साकेलालाई हिन्दु संस्कृतिकरण गरेर कसैले चण्डी नभनिदेओस् । र, कसैले कसैको साँचो इतिहासलाई बदल्ने सहास नगरोस् ।
आफ्नै छ भाषा आफ्नै भेष
हामीले चाहेको संघिय देश
सैसैला हो सैसैला
सै ढोले सै
हाम्रो राज्य खोई
नेपालका अरु आदिवासीहरुसँगै किरात राईहरुको पनि माग हो, संघिय राज्य । हालसम्म कायम रहेको एकात्मक राज्य ब्यवस्थाले केवल एक जाति, एक भाषा र एक संस्कृतिको मात्र वकालत गरेको छ । एकात्मक शासन प्रणालीले बहुसंख्यक जनताहरु हरेक अवसरबाट बन्चित हुनुपरेको छ । सबै जाति, वर्ग र समुदायको हित संघात्मक शासन प्रणालीमा मात्र सम्भव हुन्छ । यो माग किरात राई वा अन्य आदिवासी जनजातिहरुले आज उठाएका होईन जतिबेला आदिवासीहरुको मूल थलो नेपाल राज्यमा गाभियो र त्यहाँ अल्पसंख्यकहरुले राज्य साचालन गर्न थाले त्यहीबेला देखिको आवाज हो यो । तर विगतमा निरंकुशताको अगाडि खुल्लमखुल्ला रुपमा यी आवाजहरु उठ्न पाएनन् । २००७ सालको परिवर्तनसँगै पूर्वका किरातहरु (राई लिम्बू) ले स्वतन्त्र राज्यकै माग समेत गरेका हुन् । स्वतन्त्र राज्यको माग कुनै लहडबाजीमा भएको होईन भन्ने बुझ्नु जरुरी छ । राज्यको एकाधिकारबादी सांस्कृतिक चिन्तनले स्वतन्त्र राज्यको माग गर्न किरातहरुलाई उक्साएको हो । जहाँ आफ्नो संस्कृति अपहरण हुन्छ भाषा र अधिकारहरु अतिक्रमण हुन्छन् र कुनै एक जाति, भाषा र संस्कृतिको अधिपत्य कायम गरिने प्रयत्न हुन्छ भने त्यहाँ राष्ट्रियताको के कुरो र्ह्यो र ? आज संघात्मक शासन ब्यवस्थाले राष्ट्रियता कम्जोर हुने, आत्मनिर्णयको अधिकारले राष्ट्र टुक्रने हौवा फिजाएर फेरी पनि जातीय अहंकारबादलाई टिकाइरहने खेल शुरु भईसकेको छ । यो नेपालका आदवासी जनजाति, मदेसी र अल्पसंख्यक बर्गहरुको हित माथी कुठाराघात गर्ने र राज्यलाई सधैं अस्थिर बनाई लुटिरहने चालबाजी हो । संघियता र आत्मनिर्णयको अधिकारको बारेमा नबुझेर पनि कसैले बिरोध गरेका हुन सक्छन् यो स्वभाविक हो तर बुझ्नेहरु बाटै यस्तो कुरा उठ्नुचाहिँ सोच्नै पर्ने बिषय हो । संघियताले राष्ट्र टुक्रन्दैन बरु राष्ट्रियतालाई मज्बुत बनाउँछ । हुनसक्छ किरात भूमि वा अन्य आदिवासीहरुको मूल थलोले प्रादेसिक राज्यको मान्यता पाएपछि सम्बन्धित जाति बाहेकका जातिहरु कहाँ जाने यस्तो अर्थमा संघियताको बिरोध भएको हुनसक्छ । यसो हो भने संघियताको मर्मलाई न बुझिएको हो ।
सेल्मे र टेम्के हाराहार
अधिकार सबैको बराबर
सैसैला हो सैसैला
सै ढोले सै
तिमीले बुझेको खै ।
आदिवासीहरुको मूल भूमिले प्रादेसिक राज्यको मान्यता पाउन साथ अन्य जातिहरु त्यो भूमिबाट हट्नु पर्छ वा अधिकार बिहिन भएर रहनु पर्दछ भन्न खोजिएको होईन । बरु एकात्मक राज्य प्रणालीमा बहुसंख्यक माथि अल्पसंख्यकले शासन गर्ने अवस्थाको अन्त्य भई समानुपातिक प्रतिनिधित्वको सुरुवात संघात्मक शासन प्रणालीले गर्दछ । जस्को कारण कुनै जाति, वर्ग वा समुदायले उपेक्षित भएको महशुस गर्नु पर्ने छैन । शासन गर्ने र शासित हुने प्रकि्रयामा समान सहभागिता भएपछि संघर्ष र दमनको अवस्था रोकिने छ । र, राज्य वा राष्ट्रको उन्नतिमा पुग्ने हरेक बाधाहरुको अन्त्य भई तिब्रतम विकासको अपेक्षा गर्न सकिन्छ ।
भन्दैछन् आज पारुहाङ
फर्क है फर्क आफ्नै गाउँ
सैसैला हो सैसैला
सै ढोले सै
युवाहरु खै
किरात राईहरुको आदि पूर्खा पारुहाङ हुन् । मुन्धुम (किरातहरुको धर्म ग्रहन्थ) अनुसार पारुहाङबाटै सृष्टीको रचना भएको हो । पारुहाङको सांकेतिक अर्थ पूर्खा अर्थात आफ्ना जन्मदाताहरु हुन् । एकात्मक राज्य प्रणालीले कसैलाई काखा र कसैलाई पाखा बनाउने काम गर्यो । काखमा रहनेहरु अधिकार सम्पन्न भए पाखा पारिएकाहरु पाखै रहन बाध्य भए । अधिकार पाएकाहरुले अत्याचार लाद्न थाले, त्यसले असन्तोष जन्मायो । असन्तोष माथि दमन हुन थाल्यो, दमनले प्रतिरोधलाई निम्त्यायो । नेपालको राजनीतिक र सामाजिक स्वरुप हालसम्म यही अवस्थाबाट गुजि्ररहेको छ । यस्को असर हरेक क्षेत्रमा पर्यो । देशले शैक्षिक क्षेत्रमा प्रगति गर्न सकेन । शिक्षामा नै प्रगति नभएपछि अन्धविश्वास हट्ने कुरो भएन । अन्धविश्वासको सेरोफेरोमा रहेको समाजमा न विकास नै हुन्छ न राष्ट्र प्रति उत्तरदायी मान्छेहरु नै जन्मन सक्छन् । आज गर्नेभन्ने युवाहरु लाखौंको संख्यामा बिदेशी भूमिमा रोजीरोटीको लागि भौतारी रहेका छन् । देश संघात्मक शासन प्रणालीमा प्रवेश गर्ने अवस्थामा छ । देशमा राजनीतिक परिवर्तन भईसके पछि आर्थिक र समाजिक परिवर्तन अपरिहार्य छ । युवाहरुनै नभए पछि देशको आर्थिक र समाजिक परिवर्तन कस्ले गर्ने त्यसैले पारुहाङ अर्थात जन्मदाहरुले अव छोरा नातिलाई आफ्नै देशमा बोलाउनु पर्छ ।
सुन है सुन सुम्निमा
फर्कन्छौ आफ्नै भूमिमा
सैसैला हो सैसैला
सै ढोले सै
कुटो कोदालो खै ।
आदिपूर्खा पारुहाङको अर्धाङ्गिनीको रुपमा सुम्निमालाई पुकारिन्छ । सुम्निमाको संकेतिक रुप स्त्रि पूर्खा अर्थात आमा जाति । आमा अर्थात धरति । राष्ट्र पछाडि पर्नु भनेको धर्तिको उपहास हुनु हो । आज आफुलाई जन्म दिने हुर्काउने बढाउने धर्तिलाई चट्ट माया मारेर लाखौं युवाहरु बिदेशी धर्तिमा रगत पशिना बगाई रहेका छौं । आफ्नो आमालाई उजाड राखेर अर्काको आमालाई हराभरा बनाई रहेका छौं । छोराहरुको यो ब्यवहारले आमाको मन भक्कानिएको छ । आमा बोल्न सक्ने अवस्थामा छैनन् । त्यसैले छोराछोरीहरु नै अगाडि बढेर आमाको सामु प्रण गर्नु परेको छ । आफ्नै आमालाई िसंगार्नको लागि आफ्नो अमूल्य श्रम र पसिना खर्च गर्ने कसम खानु परेको छ । अनिदै र भोकै बसेर अर्काको स्वार्थ पुरा गर्न सहायक सिद्ध हुने हामीहरु आफ्नो आमाको लागि एक छाक भोको रहन सक्दैनौ र ?
साकेला सिली नाचौला
देशकै निम्ति बाँचौला

खाँडी र ऊनी लाऔंला
साग र सिस्नो खाऔंला

उभौली साकेला मनाउछौं
यो देशलाई बिकसित बनाउछौं

ढोल झ्याम्टा बज्यो गजैले
यही प्रण गरौं सबैले
सैसै ला हो सैसैला
सै ढोले सै
अब छुटौं है ।

सिर्जना र असार

हो हो रे हो हो हो
हो हो रे हो हो हो
रातोलाई भन्नु त्यो रातो माटो पहेंलो बेसार
एता नी पानी उता नी पानी लागे छ असार
हो हो रे हो हो हो
हो हो रे हो हो हो
कालो मेघको खास्टो ओढेर प्रकृतिले जब झमझम बर्षा बर्षाउन थाल्छिन् अनि सुरु हुन्छ किसानहरुको महान पर्व असारे रोपाइँ । मुठी खाएर मुरी उब्जाउने सिर्जनाको याम हो असार, कामको चटारोले क्लान्त भए पनि मन नथाक्ने उत्साहको याम हो असार । त्यसैले त असारे निर्झरमा रुझेर हरेक बर्ष किसानहरु रोपाइँको आनन्द लुट्ने गर्दछन् । भनिन्छ असारमा रुझ्नुको आनन्द किसानहरुलाई मात्र थाहा हुन्छ ।
असार नेपालीहरुको निम्ती सांस्कृतिक रुपले पनि त्यतिकै महत्वपूर्ण छ । असार र रोपाइँसँग जोडिएको सांस्कृतिक सम्बन्धलाई केलाउने हो भने हामी भन्न सक्छौं-असार एकता सद्भाव र सहयोगको पर्व पनि हो । असारे रोपाइँमा छिमेकीहरु पर्म लिने दिने गर्दछन् । एक दिन एक घरको रोपाइँमा गाँवै उल्टिन्छ अर्को दिन अर्को घरको रोपाइँमा सबैजना त्यसैगरी पुग्छन् । छर-छिमेकी बीचको यस्तो सम्बन्ध अरुबेला बिरलै देख्न पाईन्छ । अर्कोतिर असारको बेग्लै चिनारी पनि छ, नेपाली संस्कृतिमा । हली र बाउसेले आफ्नो काम सकेपछि असारे भाकामा गीत घन्काउँदै रोपाहारहरु हिलोमा धानको गाभो गाड्न थाल्छन् । असारमा गाइने गीतको लय बेग्लै हुन्छ । यस्तो गीत गाउनको निम्ती असार नै आउनु पर्छ, रोपाइँ नै पर्खनु पर्छ ।
कवि साहित्यकारहरुको लागि असार महत्वपूर्ण याम हो । प्रकृतिका अनुपम बान्कीहरुलाई नजिकबाट नियाल्न असारभन्दा अरु महिना फिक्कानै लाग्छन् । संवेदनशिलतानै कवि साहित्यकारहरुको गहना हो । संवेदना त्यती बेला ओईरो लाग्छ-जतिबेला प्रकृति र मानबबीच अनौठो सम्बन्ध कायम भएको होस् । त्यसैले त असारको बारेमा धेरै कविताहरु कोरिएका छन्, असारे भाकामा थुप्रै गीतहरु लेखिएका छन् । उपन्यासका पात्रहरुले थुप्रै ठाउँमा हिलोछ्यापी खेलेका छन् र संस्मरणहरुमा लेखकहरु बाउसे बनेका छन्, रोपाहार भएर धानको गाभो गाडेका छन् हिलोमा । अझ असार प्रणयको सूत्रमा बाँधिदिने याम पनि हो भन्दा फरक नपर्ला । यौवनको खुट्किलो उक्लन्दै गरेका युवायुवतिहरु धेरैले असारे रोपाइँबाटै मायाको माखेसाङ्लो बुनेको कथा किसानहरुमा सस्तै पाईन्छ । हिलोछ्यापी होस् वा गह्रामा खाल्डो खनेर रोपाहारलाई डुबाउने खेल-प्रणयकै प्रारम्भिक विन्दु हुन् ।
असार पन्ध्र नेपालीहरु माझ पर्व वा उत्सवकै रुपमा मनाईने गरिन्छ । दही चिउरा खाने दिन हो असार पन्ध्र । हुन त अरुबेला पनि दही चिउरा खान सकिन्छ । तर असार पन्ध्रमा खाएको दही चिउरासँग संस्कृति जोडिएको हुनाले यसले विशेष महत्व राख्दछ । दही चिउरा खाएर रोपाइँमा पस्नुको आनन्द नै बेग्लै हुन्छ । दही र चिउरा असार पन्ध्रमा किन र कसरी खान थालियो भन्ने ठोस प्रमाण र किम्बदन्तीहरु नपाईए पनि दही सगुनको प्रतिक र चिउरा धानकै अर्को रुप भएको हुनाले यी दुवैको संयुक्त भोजन याम सुहाउँदो पक्कै छ ।
किसान त्यो वर्ग हो जसले मानव समुदायको प्राण बचाएको छ । संसारको मैहुँ भन्ने मान्छेले खाने खुराक किसान कै पौरख हो । किसान कै पौरखमा संसार चलेको छ । यो हिसाबमा हेर्ने हो भने किसानहरु सबैभन्दा आदरणीय छन्, पूजनीय छन् । किसान धर्तिपुत्र हुन् धर्तिसँग उनको नङ मासुको सम्बन्ध छ । धर्ति न किसानबाट अलग हुन्छ न किसान धर्ति बिना बाँच्न सक्छ । युगौंदेखि किसान र धर्तीको यही सम्बन्ध कायम हुँदै आएको छ । तर युगले किसान र धर्तिलाई अलग्याउने प्रयत्न नगरेको होईन-गरेको हो । औधोगिक क्रान्तिले धर्तिको धेरै पाटोलाई किसानबाट खोसेर लग्यो, धेरै किसानहरुलाई औधोगिक मज्दुर बनायो । त्यही क्रान्तिले यस धर्तिका केही मान्छेहरुलाई अरवपति-खरबपति बनायो । ती खरबपति-अरबपतिहरुले किसानबाट धर्तिको स्वामित्व खोसे-खोस्ने क्रम जारी छ । संसारको हालत यही छ-यसधर्तिका सच्चा धर्तिपुत्रहरु धर्ति विहिन छन् । आफ्नै धर्तिमा ज्यादारी मज्दुर बनेर असारे रोपाइँ गरिरहेका छन् तर मंसिरमा धर्तिसँग साईनो न सम्बन्ध भएकाहरुको भकारीमा अन्न घोप्टिन्छ । सिर्जनाको याम असार त्यसैले त कहिले काँही विद्रोहको आवाज असारे गीतको भाकामा निस्कने गर्दछ ।
हो हो रे हो हो हो
हो हो रे हो हो हो
छुपुमा छुपु धान है रोप्नु असारे मासैमा
कतिन्जेल खन्नु साहुको खेत सुखको आसैमा
हलीले साउछ हल गोरु हो हो बाउसेले साउदैन
पुरानो रिती नतोडी हाम्रो अधिकार आउँदैन
हो हो रे हो हो हो
हो हो रे हो हो हो
नेपाली किसानहरुको ब्यथा पनि यो भन्दा फरक छैन । हजारौं किसानहरुको नाममा धर्तिको एक टुक्रो छैन, लाखौंको भागमा पाखोरेखो मात्र छ । माटोसँग अपरिचित मुट्ठीभर भू-माफियाहरुको नाममा हजारौं विगाह जमिन अलपत्र छ, जहाँ हरुवा बनेर किसानहरु रोपाइँ गरिरहेका छन् । मुट्ठी खाएर मालिकको नाममा मुरी उब्जाईरहेका किसानहरुको यो ब्याथा युगौं पुरानो हो । नेपाली माटोले धेरै पल्ट परिवर्तन भोग्यो, प्रत्येक परिवर्तनसँगै भूमिसुधारको चिल्ला नारा फलाकियो तर न भूमीहिन जनताहरुको नाममा एकटुक्रो जमिन दर्ता भयो न भू-माफियाहरुको एक विगाह जनिमनै राष्ट्रियकरण हुन सक्यो । जस्ले जमिन जोत्छ त्यो जमिन जोत्नेको हुँदैन भने त्यहाँ जोत्नेले दिलैदेखि काम गर्दैन । जहाँ मन लगाएर काम गरिन्दैन त्यहाँ उत्पादन क्षमता अनुसार हुँदैन । नेपालको कृषि प्रणालीले एकातिर आधुनिकता अपनाउन सकेको छैन, अर्कोतिर जमिन जोत्नेको नहुँदा उत्पादन भने अनुसारको भईरहेको छैन । यतिबेला पहाडी क्षेत्रमा त उत्पादन ह्रास हुने क्रम अत्याधिक छ, कारण हजारौं जमिन बाँझिएर बसेको छ । नयाँ पुस्ताको सहर पस्ने र बिदेशिने प्रवृति बढेकोले जमिन बाँझै रहेर उत्पादनको क्षमता ह्रास हुनु परेको हो । आज गाउँमा हलो जोत्ने र बाउसे गर्ने युवाहरुको खडेरी छ । उमेरले डाँडो काटिसकेका हजुरबाहरुको हातमा हलगोरु र कोदाली थामिएको छ । घरले जा जा बनले आईज आईज भन्ने उमेरमा हलो कोदालो गरिरहेका हजुरबाहरुलाई रोपाइँको के महत्व ? हिलो छ्यापेर हौस्याउने बाउसेहरु नै नभएपछि रोपाहारहरुलाई असारे गाउने के को जाँगर ? असार पन्ध्रले दही र चिउरा नबिर्से पनि रोपाइँले बेठी बिर्सिसक्यो
। रोपाहारहरुले धानको बिऊ हिलोमा गाड्न नबिर्से पनि असारे भाका भुली सक्यो । जहाँ रोपाइँ छ त्यहाँ असारे भाका नगुन्जिए पछि कवि र साहित्यकारहरुको सिर्जनामा असार हराईसक्यो ।
साहित्य बर्तमानको दर्पण मात्र होईन भविश्यको खोज पनि हो । जुन साहित्यमा परिवर्तनको आवाज हुँदैन त्यसलाई साहित्यको दाँजोमा राख्न पनि भुल हुने छ । नेपाली साहित्य यर्थातताको सेरोफेरोमा रुमल्लिएको धेरै भयो, यहाँ माया-पिरतीका सस्ता शब्दहरुले धेरै किताबका पानाहरु रङ्गिए, परिवर्तनको नाममा बिभिन्न बाद र धाराहरुको ओईरो लाग्यो, प्रगतिबादको नाममा मार्ने र मर्ने कुराको ब्याख्या धेरै भयो तर परिवर्तनलाई मार्गनिर्देशन गर्ने साहित्यको सिर्जना हुनै सकेको छैन-भए पनि नगन्य मात्रमा भएको छ । देश राजनीतिक रुपमा परिवर्तन भएको छ वा हुँदैछ यो परिवर्तनले आर्थिक सांस्कृतिक र समाजिक परिवर्तन गर्नु पर्ने दायित्व बोकेको छ । यो परिवर्तनमा कवि-साहित्यकारहरको अमूल्य योग्दानको खाँचो छ । नेपालको भविश्यनै कृषिसँग गाँसिएको हुनाले प्रथमतः सिर्जनाको पाटो कृषिसँगै जोडिनु पर्दछ । अब असारको दबदबे हिलोमा पानीका थोपाहरु बर्सिदा उत्पन्न हुने संगितमा सर्जकहरुले सिर्जना खोज्नु पर्दछ । धर्ति पल्टाएर सुन फलाउने किसानहरुको अनुकुल आफ्नो सिर्जनाको विषयवस्तु रोजिनु पर्छ । असारमा कविताहरु र कविताहरुमा किसानका अधिकारहरु कोरिनु पर्दछ । सर्जकहरुले असारे भाका र असारे भाकामा परिवर्तनका आवाजहरु गाईनु पर्छ । असारका कथाहरु र कथामा किसानका भविश्यहरु लेखिनु पर्छ । कृषिलाई आधुनिकिकरण नगरेसम्म र जमिन जोत्नेको नबनाएसम्म राष्ट्रको उन्नती केवल कल्पना मात्र हुने छ । राष्ट्रको हित सोच्ने वास्तवमा सर्जकहरु नै हुन् अब लेखौं परिवर्तनमूखी असारे गीत र गाऔं हरेक असारमा …॥
हो हो रे हो हो हो हो
हो हो रे हो हो हो हो
हली है दाइले हलगोरु सायो खेतको आलीमा
गणतन्त्र ल्यायौं लोकतन्त्र ल्यायौं यसै र पालीमा

पानी है परे रिमी र झिमी लागौंला कतै ओत
जसले खन्छ जसले जोत्छ उसैको हुन्छ पोत

आलीमा मास गोडेर सानु सेउलाले छोपौंला
हरियो बिउमा सुन फलाउने सपना रोपौंला

गह्रामा पानी जलथलै भयो खोलिदेउ निकास
काँधमा काँध मिलाई देशको गरौंला बिकास

हल गोरु सायौं असारे गायौं ढल्कियो हेर दिन
पसिना खेतमा बगाउन अब नमानौ लाज घिन

गहिरी खेतको यो भेट हजुर हुन्दैन हम्मेसी
भविश्य आफ्नै माटोमा खोज्न फर्क है परदेशी ।
हो हो रे हो हो हो
हो हो रे हो हो हो

क्वालालाम्पुरको कविता र अन्तर्राष्ट्रिय झोलको महिमा

दाहिने हातमा रहेको माइक्रोफोनलाई थपक्क टेबलमा राखेर उनले ग्लास समाते । र, सुरुप्प ताने विदेसी वियरको एक घुट्को । अनि सुरु भयो कविताका विम्ब र प्रतिकहरुमा पिउनुको बखान......
रक्सीमा नियाल्दै जवानीको प्रतिविम्ब
वास्तवमा एउटा उदास सनिबार पिउँछु
दिन सनीबारकै हो । झण्डै रित्तो कोतरायका नेपाली होटलहरु माझ 'द गोर्खाज' को सान बेग्लै छ । अरुबेला ग्राहकहरुको खातिर छाति उदाङ्गो पारेर निर्लज्ज यताउता छरिएको देखिने टेबल-कुर्सीहरु सर्लक्कै मिलाइएका छन् । अगाडि मन्च छ र मन्चको पछाडि भित्तामा एउटा ब्यानर टाँगिएको छ । जहाँ लेखिएको छ "मनि राई गोठालेको कथा संग्रह" युध्द समाधिको विमोचन तथा एकल कविता वाचन कार्यक्रम" ।
साहित्यकार देवेन्द्र सुर्केलीले कार्यक्रमको ढोका उघारी सकेपछि प्रमुख अतिथिको रुपमा पीताको साथ देखापर्छिन् एक बर्षिया बालिका निङ्मा नुम्फुवा लिम्बु । खबरहरुमा बेखबर बनेर पीताकै साथ माचमा विराजमान हुन्छिन् निङ्मा । यताउताको चोचोमोचोहरुलाई अन्छाउँदै-पन्छाउँदै उद्घोषकले घोषणा गर्दछन् युध्द समाधिलाई सावर्जनिक गर्ने कार्यक्रमको । फूलबुट्टे कागजले ढाकिएको "युध्द समाधि" को प्रतिहरु निङ्माको हातमा थमाइन्छ र त्यसको जिलीगाँठी खोतल्न उनकै पीताले सहयोग गर्दछन् । पीताकै हातहरुले सहारा दिएपछि निङ्माले उचाल्छिन् युध्द समाधिका प्रतिहरुलाई र दर्शकदिर्घाबाट तालीको फोहरा छुट्छ परपर…र…र…र…॥
मलेसियमा रहेका नेपालीहरु माझ मनि राई 'गोठाले' कुनै नौलो नाम होइन । कविता, कथा, गजल, यात्रा संस्मरण र मलेसियाबाट प्रकाशित हुने नेपाली पत्रिकाहरुमा चोटिलो कार्टुन चित्रको साथ हरेक हप्ता झुल्कने गोठाले कोतरायमा हुने कुनै पनि साहित्यिक कार्यक्रम छुटाउँदैनन् । विभिन्न साहित्यिक संस्थाहरुले प्रकाशन गर्ने साहित्य संगालो वा स्मारिकाहरुमा गोठालेले स्थान पाएकै हुन्छन् । उनै मनि राई "गोठाले" ले तयार पारेको कथा संग्रह "युध्द समाधि" को विमोचन र उनकै एकल कविता वाचन कार्यक्रम एक साथ सनिवार क्वालालम्पुरमा सम्पन्न हुँदाको एक दृश्य हो माथिको बखान । विभिन्न परिवेश र परिस्थितिका सोह्र वटा चोटिला कथाहरु संग्रहित "युध्द समाधि" उनको प्रथम कृति हो । कथाहरुमा भन्दा पनि कविता लेखनमा बढी भिजेका गोठालेलाई बुझेरै होला आयोजकले विमोचन समारोहपछि एकल कविता बाचनको कार्यक्रम आयोजना गरेको । लगभग दुइवर्ष अगाडि कवि दिलिप राई 'सगर' को एकल कविता वाचन कार्यक्रम पछि मलेसियाको भूमिमा गोठालेको एकल कविता वाचन कार्यक्रम दोश्रो चोटी हुँदै थियो । साचारकर्मी संघसंस्थाका पदाधिकारीहरु साहित्यकार एवं साहित्य प्रेमीहरुको धैर्यतालाई चिर्दै एकल कविता वाचन कार्यक्रमको ढोका उघारी सकेपछि उद्घोषक देवेन्द्र सुर्केलीले माइक्रोफोन गोठालेतर्फ बढाउँछन् । परन्तु उनलाई हतार ग्लास उठाउनुको र ग्लासमा छचल्किरहेको अन्तर्राष्ट्रिय झोलको मोलमा झुम्नुको ।
'पारदर्शी अग्राखहरु" शिर्षकबाट गोठाले अगाडि बढ्छन् । 'एउटा सुनामी अनामिका' लाई भेनिल्लाको पातहरुसँग दजाउँदै 'को-अर्डिनेट प्लस डि स्क्वायर' छिचोलेर 'बुथुरीको साडी'सम्म आइपुग्दा श्रोता-दर्शकहरुलाई कविताको भावले सर्लक्कै रुझाई सकेका हुन्छन् । र पहिलो बिश्राम लिनु पूर्व 'स्वायत्तता' शिर्षकमा पीडाहरुलाई यसरी छरपष्ट बनाउन पुग्छन् -
आन्द्राको ब्यारेकमा
अन्नको बुलेट नपरेपछि
ढल्नु-लड्नु आफ्नै सिमानामा…॥
सून्य समयको सून्यतालाई चिर्दै गोठाले प्रति समर्पित केही गजलका शेरहरु तरङ्गित हुन्छ हलमा । दिलदुखी जन्तरे र रुवेन पुन मगर 'रन' को गजल शेरहरुमा केहीबेर थकान मारेपछि अन्तर्राष्ट्रिय झोलका घुट्कीहरु निल्दै दोश्रो चरणमा कविता सुनाउन गोठाले पुनः माइक्रोफोन समात्छन् । र 'फ्यूजन जिलेटिन' मा यसरी पड्किन्छन्…॥
कपोलकल्पित हिमालको शिर बाँधेर
के जुहारी गाउनु सगरमाथा सित…॥
'फ्यूजन जिलेटिन' मा शान्तिप्रति जाहेर गरेको प्रतिवध्तालाई उछिनेर 'माङको अह्वान' मा अस्तित्ववादलाई कविताका विम्बहरुमा उन्छन् मनि र सिमान्तिकृत समुदायको आह्वान बनाउछन् कवितालाई-
मुन्धुमले बाँधेर आफूलाई
ग्रहलाई काट्नु पर्छ च्वाट्टै....

पूर्वको ढोका थुनेर घाम नदिनु
गोडामा ढोगर दाम नदिनु
'माङको आह्वान' गोठालेको अस्तित्ववादी उत्कृष्ट कविताको रुपमा मात्र देखा परेन इतिहास गुमाएका सिमान्तिकृत जातिहरुलाई अस्तित्व रक्षाको लागि उठ्नु पर्ने आह्वान समेत गर्न भ्यायो । कवितासँगै क्रमश बग्दै गएका गोठाले पुनः प्याला उठाएर सुरुप्प अन्तर्राष्ट्रिय झोल पिउँछन् र बाचन गर्दछन् प्रेम-समर्पणका अदितिय नमुनालाई 'अन्तिम प्रतिवध्ता' शिर्षकको कवितामा । कविता पुनः प्रेम प्रसंगमा नै बग्न थाल्छ । यात्राको एउटा अकाट्य सत्यमा पुग्नु अगावै जीवन भोग्न चाहनेहरुको कथालाई हृदयस्पर्शी शब्दहरुमा 'अवोध अपिल' मार्फत बक्त्याएर गोठाले उही अन्तर्राष्ट्रिय झोलको महिमा 'सिटी स्क्यान' शिर्षकमा पोख्न थाल्छन्…॥
रक्सीमा नियाल्दै जवानीका प्रतिविम्ब
वास्तवमा एउटा उदास सनिबार पिउँछु …॥
फेरि अर्को सून्य समयको सून्य पलहरु । तर पुनः गजलका मदहोसी शेरहरुले भरिन थाल्छ । मलेसियाका आशालाग्दा गजलकार श्रीजन श्री प्यूनुकै महिमामा गजलका शेरहरु गोठालेलाई समर्पण गर्दछन्…।
सहनै नसकेपछि अलिकति नशा पिएँ मैले
श्रीजनले माइक्रोफोन बिसाई सकेपछि सन्तोष माबुहाङको पालो आउँछ गजलका शेरहरु बहाउने । राम्रै गजल लेखेर पनि दुरुस्त सुनाउन नसक्ने सन्तोषको क्रमिकता यहाँ पनि दोहोरिन्छ । सायद भीडमा उभिएर बोल्दा उनी अतालिन्छन् । सन्तोषको गजलहरुले सन्तोष दिलाएको आलो क्षणलाई उछिन्दै उद्घोषक सुर्केली पनि पुराना गजलका शेरहरु जोरजाम पारेर पोखाउँछन् गोठालेको अघिल्तिर । ग्लास भित्रको तरलतामा ठोस बन्दै गएका गोठाले सुर्केलीले पोखाएका गजलका शेरहरुमा बग्दै पुनः तेश्रो तथा अन्तिम प्रयासमा जुट्छन् । कविताले चरमविन्दु छुनै लागेझैं ग्लासप्रतिको आशक्तिले पनि उनलाई चरमविन्दुमै पर् याई सकेको हुन्छ । उनले बाचन गरि सिध्याएका दसवटा कविता भन्दा बेग्लै रुपरेखा बोकेर एघारैं कविता देखापर्छ 'तितो विकल्प' । सुनिरहँदा यस्तो लाग्यो यो कविता होइन प्रवासमा रहेका सारा नेपालीहरुको वास्तविकता हो कथा हो । देश छोड्नुको पीडामा जलिरहेका मनहरुको आर्तनाद हो र प्रवासीहरुले भोग्नु परिरहेको दारुण कहरको फेहरिस्त पनि ।
गौरवहिन हिमाल
एकचोक्टा पासपोर्टमा
च्यापेर झुक्नु
इमिग्रेसनको
ग्यारेलपील अगाडि……
'तितो विकल्प' मा हिमालको मान्छेले प्रवासमा हिमाल नभेटे पनि 'एउटा निराकार खोज' गोठालेको मुखारविन्दुबाट प्रवाहित हुन थाल्यो । 'एउटा निराकार खोज' वास्तवमै निराकारनै रहेछ । परन्तु 'पथिक मृत्युन्जय'मा गोठाले ब्यूँझन्छन् र युध्दको विभिषिकाहरुलाई पसिनामा बगाउन चाहान्छन् । छेवैमा बसेर सहयोग गरिरहेका श्रीजनले कविता एउटामात्र रहेको जनाउ दिनसाथ ग्लासमा बाँकी रहेको अन्तर्राष्ट्रिय झोल पदार्थलाई स्वाँट्ट बनाएर कविता वाचनमा जुट्छन् मनि । यस्तो लाग्छ कविताको शिर्षक 'रङ्गविहिन भीरहरु' भए पनि मनिले जताततै शब्दका रङ्गहरु छरिरहेका छन् कुनै रातो कुनै पहेंलो त कुनै निलो र सेतो । त्यसैले त अधिकार विहिन बनाइएकाहरुको कथालाई उन्छन् कवितामा…॥
केही परका चोक र गल्लीहरु
लुकेर अलिकती घाम हेर्न चाहान्छन्…॥
झण्डै तीन घण्टा अगाडिदेखि कविताको भावसँगै अविराम बगिरहेको समयलाई गोठालेको अन्तिम घुट्कोले पूर्ण विराम लगाउन सकेन । गोठाले प्रति समर्पित गजलका शेरहरु बगिनै रहे । एकैक्षणको बसाईमा विनो लामा 'दुखिया' ले दुई शेरको अपुरो गजल तयार पारे र बाचन गरिहाले । रविन्द्र राई 'अधुरो' को गजल शेरहरु पनि गोठाले प्रतिनै समर्पित हुन पुग्यो । मौकामा चौका हान्दै उद्घोषक सुर्केलीले फेरि पुरानो गजलको सुर्को खोली छाडे । र हतारहतार कार्यक्रमका सभापति धनवहादुर देवानलाई कार्यक्रम विस्रजन गर्न अनुरोध गर्दै नेपाल पत्रकार महासंघ सम्पर्क शाखा मलेसियाको बैठक भ्याउन द गोर्खाजको चौघेरबाट फुत्त बाहिरिए ।
कार्यक्रमको समापन भएपछि तितर-वितर भएको श्रोता-दर्शकको भीड केही बेरमा टेबल-टेबल जुट्न थाल्यो । सामान्य गाइँगुइँको बीचमा कतैबाट अलिक प्रष्ट आवाज आयो…'यो अन्तर्राष्ट्रिय झोलको स्वाद मीठो कि मनि दाइको कविता ?"

पैशा र भगवान

तीजको ब्रतको दिन मैले ईन्टरनेट खोलेर उज्यालो नाईन्टी नेटवर्कको लाईभ समाचार लगाएँ र सुन्न थालें । समय मलेसियामा मध्यान्न सवा एक भएको थियो यो समाचार नेपालबाट विहान एघार बजेको आउँदै थियो । हुनसक्छ खबरहरु बासी थिए तर मैले सो दिन पहिलो पटक रेडियो ट्युनिङ गरिरहेको हुनाले सबै ताजा लाग्दै थिए । एकादुई राजनीतिक खबरहरु पछि तिजको खबर फुक्न थाल्यो एफ. एम. ले ।
"…पशुपतिमा दर्शन गर्ने महिलाहरुको भिड, चाँडो दर्शन गर्न चाहने महिलाहरुलाई रु एक हजार तिरे पछि छुट्टै ढोकाबाट दर्शन गर्ने ब्यवस्था…..।" ठ्याक्कै यिनै शब्दहरु त होईनन् तर सत्प्रतिशत यही आशयको समचार बज्यो एफ एममा मलाई लाग्छ यो समाचार काठमाण्डौमा रहेका सबै एफ एम, रेडियो नेपाल, टेलिभिजनहरु र पत्रपत्रिकाहरु समेतले प्रशारित/प्रकाशित गरे होलान् । अझ यही समाचारलाई गणतान्त्रिक नेपाल भरीका एफ. एम. र पत्रपत्रिकाहरुले समेत हाइलाइट गरेरे सुनाए होलान् । परन्तु म उही नाइन्टी नेटवर्कको मात्र श्रोता हुन सकें । समाचार सुन्दा सुन्दै म खुब मज्जाले हाँसे । रुममा म एक्लै थिएँ र समाचार एक्लै सुने तर सुनेको कुरो केही बेरपछि साथीहरुलाई सुनाउँदा अरु साथीहरु पनि त्यसरी नै हाँसे । हाँसो प्रस्तोताको बोली वा एफ. एमको खिल्लि उडाउनु थिएन । घत त्यहाँ पर् यो-"कि आँगनको भगवानलाई पुज्न पनि पैशाको लेखाजोखा लगाउन भारतीय पाण्डाहरु पछि परेन छन् ।"
समाचारले धेरै बेरसम्म पछ्याई र् ह्यो । मैले निराहार ब्रत बसेका ती नेपाली नारीहरुको अनुहारलाई झल्झली देख्न थालें-"जो पशुपतिनाथको दर्शन गर्न मूल ढोकाको अगाडि लाम लागेका छन् । र, हेर्दा सामान्य घरानाका र मनैदेखिका पतिब्रता देखिन्छन् । उनीहरु बिहानैदेखि लाममा छन् । घाम-पानीको पर्वाह नगरी मन्दिर ताकेर उभिएको घण्टौ भईसक्दा पनि भित्र छिर्ने पालो आएको छैन । तर उच्च घरानाका केही नखरमाउलीहरु अर्को ढोकाबाट क्षणभरमा भित्र पसी पूजा गरेर फर्किरहेका छन् ।" हैन यो कहाँको धर्म हो ? म मनमनै आक्रोशित हुन्छु तर आक्रोश पाख्ने कुनै ठाउँ मेरो सामुन्ने हुँदैन ।
उही दिन मलेसियामा साढे दुई हुँदो हो । म समाचारका साइटहरुलाई बन्द गरेर फेसबुक केन्द्रित हुन्छु । फेसबुक पनि तीजमय छन् । फेसबुकको भित्ता मात्र होईन पर्सनल प्रोफाइल समेत तीजका खबर र रचनाहरुले भरिएका छन् । तर म अगाडिकै समाचारमा अल्झिरहेको हुन्छु । म रोकिन सकिन फेसबुकमा । र, पोखें आक्रोशलाई यसरी-"लौ अब भगवानले पनि पैशा हेर्न थालेछन् । आज तिजको ब्रत बसेका दिदी बहिनीहरुले हजार रुपैंया दिन साथ पशुपतिको अर्को ढोकाबाट चाँडो दर्शन र पूजा गर्न सक्ने रहेछन् । हे पशुपतिनाथ ! विचरा गरिब दिदी बहिनीहरुले अब हजार रुपैयाँ कहाँबाट ल्याउन् र तिम्रो दर्शन गर्न सकुन् लौ संहारकर्ता तिमी नै बताई देउ ।"
माथि उल्लेखित शब्दहरु प्रकाशित भएको केही समय पछि नै प्रतिकृयाहरु आउन थाल्यो फेसबुकमा । फेसबुक नियमित सन्चालनकर्ता नेपालीहरु, नेपालमा भन्दा बढी विदेशमै रहेका नेपालीहरु होलान् भन्ने मेरो अनुमान यहाँ पनि सही सावित भयो । विश्वका विभिन्न ठाउँमा रहँदै आएका फेसबुक मित्रहरुको प्रतिकृया मेरो भावनालाई समर्थन गर्ने नै थियो । मलाई लाग्यो मैले सही ठाउँमा झटारो फालेको छु ।
यो आलेख संस्मरण होईन । र, होईन बकम्फुसे गफ । धर्मको नाममा सोझा सिधा जनताहरु कसरी ठगिरहेका छन् भन्ने विषयमामाथिको सानो बहस हो । मार्क्सवादले धर्मलाई अफिमसँग दाँजको छ, नित्सेहरु ईश्वर मरिसकेका घोषणा गर्दछन् तापनि धर्मको अन्धविश्वास विश्वका जुनसुकै ठाउँका जुनसुकै स्तरका मानिसहरुमा कहिँ न कतै छिपी राखेकै छ । अझ विपन्न मुलुकका अशिक्षित जनताहरु धर्मको अन्धविश्वासमा चुर्लुम्म डुबेका छन्-जसको गतिलो उदाहरण हाम्रै देश नेपाल छ ।
दोश्रो जनाआन्दोलन पछि देश धर्मनिरपेक्ष घोषित भयो । तर ब्यवहारमा अझै धर्म निरपेक्षताको मर्म कायम हुन सकेको छैन । तर धर्मभिरुहरु र परिवर्तन पचाउन नसक्ने सिमित मान्छेहरु सोझा सिधा जनताहरुलाई नाजायज तर्कहरु पेश गरेर धर्म निरपेक्षताको बिरुद्धमा उसबेला बाटै उचाल्दै आएका छन् । आज यही धर्म रुपी कथित िसंढीमा टेकेर पूर्व राजा ज्ञानेन्द्र पुनः राजा बन्ने सपना पाली देशाटन गर्दैछन् । युवराज भइन्जेल डान्स पार्टी तर तरुनी मेला धाउने पारस शाह आज मन्दिरहरुमा पुजा अर्चना गर्न देखा पर्दैछन् । कालीप्रसाद दाहाल जस्ता ठगहरु कालीबाबा बनेर धर्म रक्षकको पगरी बाँधी नेपालमा पुनः राजतन्त्र फर्कने सपना बुन्दैछन् र त्यही मोहमा घुस्याहा खुमवहादुर खड्काहरु चुर्लुम्मै डुबेका छन् । देशमा आज सरकार बन्न सकेको छैन । संविधान बनाउने काम त्यतीकै थाँती रहेको छ । यसो हुनुमा दोष राजनीतिक पार्टीहरुको देखिन्छ । तर राजनीतिक पार्टीहरुको अन्तरकथालाई राम्रोसँग केलाउने हो भने परिवर्तन चाहने र नचाहने पक्षबीचको टकरावमा राजनीतिको हलो अहिले अड्केको छ । परिवर्तन नचाहने पक्षहरुलाई आफ्नो ठाउँमा अडिग रहन यस्तै धर्म भिरु र कुित्सत स्वार्थ पालेका तत्वहरुको साथ रहँदै आएको छ । यस्ता तत्वहरु स्वदेशी र बिदेशी दुवै छन् ।
राजनीतिमा मात्र होईन कथित धर्ममा पनि हामी पराधिन छौं भन्ने उदाहरण त्यही पशुपतिलाई लिए पुग्छ । र, नेपालमा कथित उच्च जातका हुँ भन्ने ब्रम्हाण समाजले (सिमित बाहेका अधिकांश परिवर्तनको पक्षमा छैनन्) आफू कति ठूलो रहेछु भन्ने बुझ्न पशुपति पुगे हुन्छ । नेपालको केन्द्र काठमाण्डौ र काठमाण्डौको मुटुमा रहेको पशुपति मन्दिरमा भारतीय पाण्डाहरु मात्र मूल पुजारी बन्ने नियमले के नेपालमाथि को धार्मिक हस्तक्षेप देखाउँदैन ? अनि आफूलाई उच्च जात ठान्ने नेपालका ब्रम्हाणहरु भारतीय पाण्डाहरुको आसेपासे मात्रै हुन् ? हिजो तात्कालिन सरकारले भारतीय पाण्डाहरुलाई हटाएर नेपालकै ब्रम्हाणहरुलाई मूल पुजारी बनाउने निर्णय गर्नु धर्म बिरुद्धको काम थियो कि जातीयता र राष्ट्रिय स्वाधिनताको लागि गतिलो कदम ? सरकारको सो निर्णयमा नेपालका ब्रम्हाणहरुले ठाडो शिर बनाएर जोर मुट्ठी उचाली समर्थन गर्नु पर्नेमा किन चुपचाप बसे ? परिवर्तनसँग डराउने यथास्थितीबादीहरुको विरोध आउँदा किन उनीहरुले आवाज उठाउन सकेनन् ? ब्रम्हाण समाज मात्र होईन धर्मको नाममा दिनदिनै पशुपति पुग्ने मान्छेहरुले समेत पशुपतिनाथको पराधिनताको बिरुद्धमा किन बोल्न सकेनन् ?
हिन्दु सम्प्रदायका आस्थाको केन्द्र पशुपतिनाथको दर्शन गर्न समेत अब धेरै पैशा तिर्नु पर्ने भएको छ । के भगवान धनीहरुको मात्र हो ? हिन्दु सम्प्रदायले सबैभन्दा नरुचाएको मुस्लिम सम्प्रदायमा धनी र गरिब एकैठाउँ बसेर सहभोज गर्दछन् र रोजामा दिनभर निराहार ब्रत बस्दछन् तर हिन्दु सम्प्रदायमा पैशा भएपछि सबथोक प्राप्त हुन्छ भन्ने मान्यताले जरो गाड्दै गईरहेको छ । साँच्चै भन्ने हो भने हिन्दु सम्प्रदायमा धनीहरुको कब्जामा कथित स्वर्ग र भगवान रहेको छ । जातको नाममा धेरै हिन्दु सम्प्रदायका मान्छेहरु हिजैबाट कथित भगवान विहिन् थिए आज पैशा नभएका गरिबहरु पनि भगवान् विहिन हुँदै गईरहेका छन् ।
साँचो अर्थमा मान्छेको मनभन्दा पर अर्को कुनै पुज्य स्थल छैन र परोपकार भन्दा अर्को कुनै धर्म छैन । विश्वका जतिसुकै नाम चलेका कथित धार्मिक स्थलहरुलाई भताभुङ्ग पारे पनि कथित भगवान रिसाएर केही गर्नेवाला छैनन् (तर त्यसमा रहेको साँस्कृतिक सम्पदाहरु त्यस राष्ट्रको मात्र होईन विश्वकै गहना हो ।) यसको गतिलो उदाहरण अफगानिसतानमा तोडिएको विश्वकै अग्लो बुद्धमूर्ति र गुम्बाहरु हुन् । हामीले मान्दै आएको कथित धार्मिक स्थलहरु आस्थाका केन्द्र मात्रहुन् साँचो अर्थमा केही पनि होईनन् । तर त्यही आस्थाको केन्द्रहरुलाई पनि सिमित हुनेखानेहरुको मात्र बनाईन खोज्नु कतिसम्म सहन सकिने बिषय हो ? म यो प्रश्न तीजको ब्रतमा हजार रुपैयाँ तिर्न नसकी पशिपतिको मूलढोका अगाडि घण्टौ लाम लागेर बल्लतल्ल दर्शन गर्न भ्याएका सबै दिदीबहिनीहरुलाई सोध्न चाहान्छु ।

स्मृतिमा कोरिएको एउटा भाइटीका

दिनहरु हजारौं बितेर गएका छन् आँखै अगाडि । दिनको धर्म भनेकै आउनु र जानु न हो । केही लिएर आउनु र स्मृति छोडेर जानु दिनको दिनचर्या भित्र मान्छेको कुनै बेला मन अल्झिएर जाँदो रहेछ । मन साथैमा लिएर जाने दिन नै अविश्मरणीय बन्दो रहेछ मान्छेको लागि । मेरो पनि केही दिनहरु यस्तै छन् पलपल सम्झनै पर्ने । तिनीहरु मध्ये एउटा दिनको सम्झनामा यी हरफहरु कोर्दैछु प्रवासबाट ।
शरद ऋतुको मदहोशीमा मस्त धरतीको आँचल तलार्दै वहने पवनमा पुष्प गन्धको वासले प्रकृति नै पुष्पमय भएको बेला मानव मनहरुमा एक प्रकारको पर्खाईले चिथोरी रहन्छ-प्रत्येक बर्ष । नेपालीहरुको महान पर्व दिपावली अर्थात भाइटीकाको पर्खाई युगौदेखि चलिरहेको छ, यसैगरी । भाइटीका आउँछ-जान्छ तापनि आउने दिनको प्रतिक्षामा मन अधिर हुन्छ नै । यस्तै भईरहेको थियो त्यो बर्ष पनि-माइती हुने चेलीहरु र चेली हुने माइतीहरुको मन । तर माइती नहुने चेली र चेली नहुने माइतीहरु भने भित्र भित्रै साउन बर्षाई रहेका हुँदाहुन् । कस्ले बुझ्ने ती बर्षिने सावनको मनोदशा, यस्तै लाग्थ्यो मलाई । हैन म गलत रहेछु । मेरो कानो आँखाहरुमा रोशनी त्यतिबेला देखा पर्दछ जब मेरै सहकर्मी साथी मुना नजिकै आएर भन्छिन् "ईन्द्र जी यो सालको भाइटीका विषेश ढङ्गले एफ.एम. परिसरमा मनाउनु पर्छ ।" आधा बालापन साथैमा राखेर जवानीको खुट्कीलो उक्ली सकेकी चुलबुली मुनाको मन यति फराक होला भन्ने मलाई ख्यालै थिएन, उनको योजना नसुनिन्जेलसम्म । माइती नहुने चेलीलाई माइती र चेली नहुने माइतीलाई चेली खोजी दिएर एफ.एम. परिसरमै भाइटीकाको आयोजना गर्ने प्रश्तावले मन हरक्कै भएछ, मैले सोच्दै नसोची "हुन्छ म सहयोग गर्छु" भनिदिएछु कुन बेला पत्तै भएन ।
पोखराको एकमात्र सामुदायिक रेडियो हिमचुली एफ.एम. ९३.४ को ध्वनी तरंङ्गमा गुञ्जन थाल्यो, माइती-चेली खोज्ने विज्ञापन । 'आधा आकाश' कि लोकप्रीय सञ्चालिका मुना आफ्नो कार्यक्रमको सन्दर्भ नै मोडेर माइती-चेली खोज्नमा आधा घण्टा ब्यतिथ गर्न थालिन् । 'मेरो रोजाई' मा अञ्जना 'सरगम' मा जुना र भिमको 'गामबेसीका सुसेलीहरु'मा पनि माइती-चेली कै खोजी हुन थाल्यो । 'स्पर्श' मा साथ दिईन् गीताले र मैले पनि हरेक बुलेटिनको बिचमा माइती-चेली खोजीको बिज्ञापन सुटुक्क बजाउन थालें । तिहार मान्न घर जानेहरुको कारण एफ.एम. झण्डै सून्य नै भईसकेको थियो । प्रस्तोताहरुको अनुपस्थितीको फाईदा उठाउँदै धेरै कार्यक्रमहरु सञ्चालनको अभिभारा लिएर माइती-चेलीको खोज अभियानलाई तिब्रता दियौं सबैले । स्टेशन म्यानेजर दिलिप सरको हार्दिकतापूर्ण सदासयताले हामीमा थप हौशला थियो नै त्यो भन्दा बढी अरु एफ.एम.को भन्दा बेग्लै कार्यक्रम सञ्चालन गर्नु पाउँदा राम्रै स्कुप मारेको हामीले ठानी रहेका थियौं । नभन्दै फोनको घण्टी बज्न थाल्यो क्षण-क्षणमा ।
२०६० सालको भाइटीकाको प्रभात पनि बिस्तारै सूर्यको रोषनीमा खुल्न थाल्छ । ६.३० को हिमचुली बुलेटिनको पहिलो समाचारको सारंश म भन्न थाल्छु ९३.४ हिमचुली एफ.एमको ध्वनी तरंङ्गमा "आज नेपालीहरुको दोश्रो ठूलो पर्व तिहारको महत्वपूर्ण दिन भाइटीका हिमचुली एफ.एम. परिसरमा नै भाइटीकाको आयोजना…।" बिहानको दश बज्दा नबज्दै सयपत्री मखमली र गोदावरीका रङ्गिबिरङ्गी माला सप्तरङ्गी टीकाको थाली र माइतीको लागी मिष्ठान्न भोजनको जोहो गरेर माईती बिहीन चेलीहरु हिमचुली एफ.एम. परिसरमा भेला हुन थाल्छन् । केही क्षणको पखाईपछि नै माइतीहरु हातमा चेलीहरुको लागि सौदा बोकेर एफ.एम.को िसंढी उक्लन्छन् । स्टुडियोमा भीम आफै प्राविधिक आफै प्रस्तोता यता हामी बैठक रुम सजाउन ब्यस्त । अञ्जना पनि साथीहरुको साथमा आईपुग्छिन्, नजीकै घर भएकी जुना त हुने नै भईहालिन् । कताबाट पुनम पनि टुप्लुक्क आईपुग्छिन् । सबैको मिलेमतोले बैठक कक्ष भाइ पुज्नको लागि योग्य बनाईन्छ । मुनाकी सहपाठी राजकुमारी र नारायणीको चरीफूरी उस्तै, सहोदर माइतीहरुबाट चेलीको स्नेह नपाएर नयाँ माइतीको पर्खाईमा रहेकी तुलसी र माइतीघर भन्दा धेरै ढाटा रहेकी सरस्वती दुवै खुसीले नाची रहेका देखिन्छन् । स्याङ्गजाबाट करिब ३० किलोमीटर यात्रा पार गरेर आईपुग्नु पर्ने तीन चेलीहरुको आगमन पछि माइती र चेली मिलाउन सबै लागि पर्छौं । सबै माईती र सबै चेलीको प्रश्तावलाई इन्कार गर्दै मुना अगाडि बढेर भाग लगाउन थाल्छिन् । जात, धर्म र दुरीको ख्याल हुन्न कसैलाई । माईती र चेलीको पवित्र बन्धनमा बाँधिएर भाइटीका लगाई दिन चेलीहरुलाई हतारो, माइतीहरुलाई सप्तङ्गी टीका र सयपत्रीको हार पहिरिन उस्तै छट्पट्टी । साईत खुलेको घोषणा गर्छिन् मुना । चेलीहरु आ-आफ्ना माइतीहरुलाई तेलको चौघेराले सुरक्षित पार्न ब्यस्त हुन्छन् । मुना, जुना, नारायणी र राजकुमारी हेर्न मै मस्त । म भने क्यामरा मिलाई-मिलाई फोटो लिन थाल्छु । माइतीहरुको खाली निधारमा सप्तङ्गी टीकाको लर्को कोरिन्छ, सयपत्री मखमली र गोदावरीको मालाले गला भरिन्छ । सौदा दिने र लिनेमा होड्बाजी चल्छ । सबैले आ-आफ्ना माइती पुजी सकेपछि अरुको माइतीहरुलाई पनि फूलमाला परिर्याउन हतारिन्छन् चेलीहरु । फेरी सबै बिचमा ढोकाभेटले वातावरण भावनामय बन्छ । चेलीहरुले दिएको मिष्ठान्न ग्रहण गर्न माइतीहरु हतारिन्छन् चेलीहरु माईतीले दिएका सौदा पोको पार्न थाल्छन् । केही क्षण फोटो खिच्ने क्रम चलेपछि सबै माईती चेलीहरुको नयाँ अनुभवलाई प्रत्यक्ष प्रशारण गर्न स्टुडियोमा भेला पारिन्छ । मुना एकाछेउमा बसेर कार्यक्रम सञ्चालन गर्ने ईसारा गर्छिन् । खुसीले प्रफुल्लित मुद्रामा देखिएका माइती-चेलीहरुलाई पालैपालो प्रश्न सोध्न थाल्छु म । प्रश्न सोध्ने क्रममा म पहिलो पल्ट सरस्वतीलाई तपाई सम्बोधन गर्दछु । तपाई भनेर सम्बोधन गर्दा ऊ एकछिन् अल्मलिन्छे पनि । सम्बन्ध जे भएपनि औपचारिक कार्यक्रमा अनौपचारिक शब्द प्रयोग गर्नु त मिलेन नै । प्रश्नले मुनाको कोमलतालाई पनि छुन्छ । उनी पग्लिन्छिन् र बग्न थाल्छिन् भावनाहरुमा । मित्रताको प्रसंशामा शब्दहरु खर्चन थालेपछि म रोकेर उनैलाई कार्यक्रम सञ्चालनको अभिभारा सुम्पन्छु । फेरी मुनाको कोमल आवाजमा मनै छुने शब्दहरुले एफ.एम.को ध्वनी तरंङ्गमा प्रभाव फैलाउन थाल्छ । करिब एकघण्टा पछि कार्यक्रम टुङ्ग्याउनु पर्ने ईसारा पाएपछि कार्यक्रमको बिटमार्न थाल्छु म । कार्यक्रम समापन पछि मनमा थप नौलो अनुभूति बोकेर माइती चेलीहरु निक्लन थाल्छन् । म भने तीन बजेको हिमचुली बुलेटिनको लागि स्टुडियोमा नै रहन्छु । समाचारको सिग्नेचर ट्युन पछ्याउदै मुख्य समाचार बिधुतीय ध्वनी तरङ्गमा फैलिन थाल्छ "नेपालीहरुको दोश्रो महान पर्व तिहारको अन्तिम दिन भाइटीका मनाईदै, हिमचुली एफ.एम.मा भाइटीका ग्रहण गर्ने कार्यक्रम भरखरै सम्पन्न……"
समाचार भट्याएर बैठक कक्षमा झर्दा सबैले मलाईनै कुरी रहेका रहेछन् । सबै माइतीहरुको निधारमा सप्तरङ्गी टीकाको लर्को र सयपत्रीको हारले भरिएको गला तर म भने रित्तै सबैको नजर बल्ल ममाथि पर्छ । मुना कार्यक्रमको आयोजक थिईन् तर उनले पनि कसैलाई माइती मानेर टीका लगाई दिईनन् । माइती-चेलीहरुको जिज्ञाँसा पूर्ण नजरले हामी दुवैलाई पछ्याउन थाल्छ । मुनाले पनि बुझिन् क्यारे अलिक अप्ठ्यारो मान्दै पछाडि सरेर आफ्नो कुम्लो सुम्सुम्याउन थाल्छिन् । आर्कषक काजगले बेहि्रएको एउटा उपहार झिकेर मेरो हातमा थमाउँछिन् । धन्यवाद ! भन्दै म उनको चञ्चल नयनमा नयन चार बनाउछु । खुसीमा उनको प्रत्येक अवयवहरु झुमी रहेका थिए । उपहार दिने र लिने कि्रयालाई सबैले अनौठो मानिरहेको भान हुन्थ्यो । सरस्वतीको मनमा पनि चिसो पस्योकी क्याहो मलाई सोझो आँखाले हेर्न सकिनन् । मुना र म बिचको सम्बन्धको पोल त्यही बन्द उपहारले खोल्थ्यो तर मैले त्यहाँ फुकाउन ठिक ठानिन र राख्नको लागि सरस्वतीलाई जिम्मा लगाएँ । हतार त सबैलाई थियो तर सबैभन्दा बढी मलाई नै हुनुपर्छ । तीन बर्ष अगाडि देखि मानिआएको मेरी धर्म दिदीको प्रतिक्षा लामो भई सकेको थियो । सबैसँग बिदा भएर म फुलबारी तिर हुईकिएँ । त्यो दिन जति पुरानो बन्दै छ लाग्छ समृतिमा अझै ताजा बन्दै गईरहेको छ । गाँसिएको सम्बन्धहरु कताकता पुगे केही पत्तो छैन तर त्यस दिन मुनाले दिएको उपहार एउटा सुन्दर कार्ड भित्रका हरफहरु अझै पनि सम्झन्छु "सच्चा मित्रको अजम्बरी सम्झनाहरु…॥"

हेलिकोप्टर चढेर रिपोर्टिङ्ग

म्याग्दी जिल्लाका नयाँ अनुहारहरुसँग म जतिबेला साईनो साटिरहेको हुन्छु त्यसबेला अधर अचानक फुस्कने गर्दछ 'म पनि बरम्जामा त पुगेको छु नी ।' एक्कैचोटी बरम्जाको नाम उच्चारण गर्दा नवपरिचत म्याग्देलीहरु झस्कने गर्नुहुन्छ । स्वभाविक हो यर्थातलालाई ओझेलमा राखेर गरिएको कुरोले अल्मल्याउने गर्छ सबैलाई ।
बारीका कान्ला छेल पार्नेगरी हर्लक्कै हुर्किएका मकैको बुटाले सर्लक्कै ढाकिएको भिरालो गाउँ, बाछिटाले कमेरो बगाएर लेघ्रै-लेघ्रा पोतिएको माटाको होचा घरहरु, लिउन नहानेको गारोमा टिनको छानो ओताईएको स्कुलभवन, हरियो सर्ट र निलो पैन्ट तथा फ्रकमा लाज ढाकेर भविश्य खोज्न आएका स्कुले भुराभुरीहरुको छुनुमुनु, आशै आशमा स्कुल प्राङ्गणभरी बिस्कुन लाग्न आईपुगेका गाउँलेहरुको थामिनसक्नुको भिड, काँधमा भिरेको बन्दुकले अन्तरमनलाई छियाँ-छियाँ बनाई बाहिरी घाउमा मलहम लाईटोपल्न तम्सीरहेका सेनाहरुको सानो टुकडी र सहरबाट भरखरै उत्रिएका सुकिला मुकिला मान्छेहरुको चुरीफुरी यही हो मैले त्यस दिन देखेको बरम्जा गाउँको सचित्र ।
माओवादी र सरकारबिच दोश्रो पटक युद्धबिराम भई तीन चरणको बार्ता सकिसकेको थियो । युद्धबिरामको फाईदा उठाउदै स्वास्थ्य शिविर लिएर माओवादी प्रभावित गाउँहरु पुग्न सेनालाई असारको पन्ध्र थियो । सेनाको तात्कालिन मध्यपृतना (हाल पश्चिमपृतना) पोखराको पहलमा पश्मिााचल र मध्यमााचलको धादिङ जिल्लाका केही गाउँहरुमा शिविर सम्पन्न भईसेको थियो । दाङ्को हापुरेमा सम्पन्न हुने चौथो चरणको वार्ताको दिन जति नजिकिन्दै थियो उति नै स्वास्थ्य शिविर जोडतोडले चलिरहेको थियो । सरकारलाई सूचना प्रतिको मोहको कारण हो वा तात्कालिन मध्यपृतनापति चित्रबहादुर गुरुङको सञ्चारकर्मीसँगको हेलमेलको कारणले हो हरेक स्वाथ्य शिविरमा पोखराका सञ्चारकर्मी हरुलाई हेलिकोप्टरमा राखेर शिविर सञ्चालन भएको ठाउँमा लगिने गरिदै थियो । म त्यसबेला 'सञ्चार दर्पण' साप्ताहिकमा आबद्ध थिएँ । प्रधान सम्पादक, कार्यकारी सम्पादक र अन्य केही सम्बाददाता साथीहरुले हेलिकोप्टरको यात्रा तयगरी सेनाको नौटंकीलाई नियाल्ने अवसर पाईसक्नु भएको थियो तर म बाँकी नै थिएँ । मध्यपृतनाको पहलमा सम्पन्न भईरहेको स्वास्थ्य शिविरको समापन म्याग्दीको बरम्जाबाट हुँदैरहेछ । स्वास्थ्य शिविरमा जान बाँकी रहेका सबै पत्रकारहरुलाई बरम्जा जानको लागि उर्दी आयो । म कार्यलयमा बसेर भोली पल्ट निस्कने पत्रिकाको लागि समाचारहरु कोरिरहेको थिएँ । फोनको घण्टी बज्यो फोन मैले नै उठाए । हेल्लो भन्न नपाउदै उताबाट आवाज आयो "म डिआईजी कार्यालयबाट ईन्सपेक्टर प्रताप गुरुङ्, ईन्द्र जीलाई तुरुन्त एयरपोर्ट जान भनिदिनु होला ।" "म नै हुँ ईन्द्र किन होला " । "ए स्वास्थ्य शिविरमा जानको लागि हजुर पनि छुट्नु भएको रहेछ त्यसैले । मलाई चिन्नु भएन म प्रताप गणेश सरको छोरा ।" म अक्सर तात्कालिन राजसभा स्थायी समितिका सदस्य गणेशवहादुर गुरुङको घरमा पत्रिकाको काम लिएर गईरहन्थे प्रताप जीले त्यतिबेलै मलाई चिन्नु भएको रहेछ । उहाँले फोन राखिसकेपछि प्रधान सम्पादक नारायण सरसँग सल्लाह गरेर म एयरपोर्ट पुगे । केही पत्रकार साथीहरु अगाडिनै पुगिसक्नु भएको रहेछ । तर अन्य साथीहरु आईपुग्न बाँकी रहेकोले उडान केही ढीला हुनगयो ।
एयरपोर्टबाट करिब बाह्र जना पत्रकार, बीस-बाईस जनाको हाराहारीमा सुरक्षाकर्मीहरु र केही शिविर सञ्चालनको लागि सहयोगी स्वास्थ्यकर्मीहरुलाई लिएर सेनाको एउटा हेलीकोप्टर बिस्तारै उत्तर पश्चिम दिशा समातेर उड्न थाल्यो । म लगायत धेरै पत्रकार साथीहरुको पहिलो आकाशे यात्रा भएकोले एकापसमा बोल्नु भन्दा पनि नयाँ अनुभूतिलाई मनमा कुम्लो कस्न मै मस्त भईरहेका थियौं । फेवातालको निलोपानीमा छाँया पार्दै हेलीकोप्टर लुम्लेको डाँडो नाघेपछि सिधै पश्चिम तिर मोडियो । पर्वत जील्लाको पहाडे कुईनेटाहरुमा नागवेली पर्दै हेलिकोप्टरले कालीगण्डकीको तीर पहिल्याउन थालेपछि कुस्मा र बाग्लुङ बजारमा असरल्ल छरिएको घरहरुले नयनलाई केहीबेर तानिरह्यो । कालीगण्डकीको किनारमा नाईलनको सेतो धागो टाँगेको जस्तै देखिने कच्चीबाटो पहिल्याउँदै जाँदा खोला र नदीको बिचमा चेप्पिएर गुज्मुटिएको बेनी बजार देखापर्छ । लोकगितका शब्दहरुमा प्रख्याती पाएको बेनी बजारलाई मैले ओझेल नपरुञ्जेल चिहाई रहें । हेलिकोप्टरले बिस्तारै उचाई लिदै एउटा डाँडो फुत्त नाघेर पहाडको छाती चिरी बग्ने एउटा खोलालाई पछ्याउन थाल्छ । केही बेरको आकाशे यात्रालाई बिटमार्दै हेलिकोप्टर मकैबारीमा चारपाउ टेक्न पुग्छ । नयाँ अनुभूतिले मन चञ्चल बनिरहेको थियो । सुरक्षाकर्मी र स्वास्थ्य कर्मीहरुको पाईला खप्ट्याउँदै हामी हेलिकोप्टरको पेट चिरेर बनाईएको सानो प्वालबाट हुतुतु निस्कन थाल्छौं ।
शिविर सञ्चालन भईरहेको ठाउँ अलिक माथि डाँडामा रहेछ । एकहुल बिध्यार्थीहरु हामीलाई गाईड गर्न आईपुग्छन् । अरुभन्दा औसत मोटो पत्रकार बिनोद धौलागिरी र एमवि आस्था उकालोमा चारपाउ गर्न थाल्छन् । अन्नपूर्ण एफ.एम.का स्टेशन ईन्चार्ज दिपेन्द्र श्रेष्ठ भुराभुरीहरुलाई एफ.एम. सेट निकालेर आफ्नो प्रोगाम सुनाउन हतारिरहेका हुन्छन् । मान्छे साथमा भएपनि आवाज एफ.एम.बाट आईरहेको सुनेर नै होला ती भुराहरुको अनुहारमा आश्चर्य पोतिएको म ठम्याउछु । हिड्न सिपालु सुरक्षाकर्मीहरु कोही फटाफट निस्किसकेका छन् त कोही हामीसँगै ताते गरिहेका हुन्छन् । म पहाडमा जन्मी हुर्केको मान्छे भएपनि सहर पसेपछि गाउँको गोरेटोहरु बिरानै भए जस्तो लाग्यो । अलिकती उकालो चढ्न पनि निक्कै हम्मे परेको देख्दा मैले बिगतलाई नियाले जतिबेला ढाकरभरी सुन्तोला भारी हालेर चार दिनको बाटो काटी म र मेरा दामलीहरु उदयपुरको बेल्टार बजार झर्दथ्यौं । ती दिनहरुमा उकाली ओह्राली हिड्नु सामान्य नै लाग्थ्यो ।
हामी पुग्दा शिविर शुरु भईसकेको थियो । शिविरमा पोखराका बरिष्ठ सुरक्षाकर्मीहरु पृतनापति अतिरथी चित्रवहादुर गुरुङ, जनपद तर्फका डिआईजी ज्ञानॆन्द्रबिक्रम महत, शसस्त्र तर्फका डिआईजी अमरविक्रम नेम्वाङ लगाएतको उपस्थिती रहेछ । केहीबेर पत्रकारहरुलाई कार्यक्रमको बारेमा जानकारी दिने कामपछि सुरक्षा अधिकारीहरु फर्किए । हामी भने चारकुना घुमीघुमी समाचार बटुल्न थाल्यौं । स्कुलका कोठाहरुलाई शिविर सञ्चालनको लागि उपयोग गरिएको थियो । सामान्य विमारी देखी नागरिक्ता बनाउने र राहत थाप्नेहरुको भिड अचाक्ली थियो । अपाङ्ग बृद्ध-बृद्धा, बालबालीकाहरुको अनुपातमा युवाहरुको संख्या साह्रै न्यून लाग्थ्यो । सुरक्षाकर्मीहरु सबैसँग नम्रता साँध्ने प्रयत्न गरिरहेका थिए । स्वास्थ्यकर्मीहरुको समुह बिमारीहरुको जाँचमा तल्लिन थिए । प्रशासनिक निकायका मान्छेहरु पनि उस्तै ब्यस्त । तर साथी आस्था र म भिडबाट केहीबेर ओझेलिन्दै कान्ला माथि उक्लियौं । गतिलो समाचार त कान्ला माथि थियो । खिसा च्यापी सकेको मकैको हलहलाउँदो बुटालाई सोतर बनाएर काटिएको देख्दा मन कुँडिएर आयो । हेलिकोप्टर ल्याण्ड गर्न मकै त्यसरी ढालिएको रहेछ । कुरो बुझ्दा क्षतीपूर्ति दिने सर्त भएको रहेछ । त्यतिबेलै एकजनाले हेलिकोप्टरले घरको धुरी उडाएको जानकारी टिपाए । धुरी उडाएको क्षतिपूर्ति दिन्छु भनेपनि नपाएको गुनासो थियो घरधनीको । कान्लामा चढेर समाचार मात्र खोजिएन प्रकृतिसँग मितेरीलाउने असीम चाहनालाई पनि धित मरुञ्जेल पुरागर्न पाईयो । खोलापारीको घना जङ्गल, पहाडको टुप्पोमा बिश्रान्ती लिन ओर्लिएका बादलको लपेटो, बारीको भित्तोमा झ्याम्म लत्रिएको बन्सो घाँस र घरको करेसामा राताम्य हुँदैगरेका आलुबखडाका दानाहरुमा मन अल्झाउँदै मैले मेरो गाउँलाई सम्झिरहें । र, शिविरमा आशाहरु बिटो कसेर लाम लागेका गाउँले मनहरुमा मेरो आफन्तहरु पनि छन् कि जस्तै लाग्यो ।
करिब चार घण्टाको भिडभाड पछि शिविर पातलिदै जान थाल्यो । सहरबाट हेलिकोप्टरले बोकेर ल्याएको चामल राहत स्वरुप पाउनेहरुको मुहारमा छाएको चमक हेर्दा उनिहरुले संसारै जितेको पो हुन् कि जस्तै लाग्थ्यो । एकैक्षण स्वाथ्यकर्मीले सुमसुम्याईिदंदा बिमारै निको भएको धेरैले महशुस गरिरेका थिए । घरकै करेसोमा नागरिक्ता बनाउन पाउँदा खुसीले फुल्नेहरु निक्कै थिए । भुराभुरीहरु हेलिकोप्टर हेर्न पाउँदा कम्ती रमाईरहेका थिएनन् । खुसीको लहर सुरक्षाकर्मीहरुमा पनि थियो । तर पत्रकारहरु भ्रम बेचेर सस्तो लोकपि्रयता बटुल्ने सरकारी चालबाजीबाट सन्तुष्ट थिएनन् । समस्या मुटुमा छ तर हातमा सुम्सुम्याएर उपचार गर्न खोज्नुको कुनै तुक नभएको निश्कर्ष थियो पत्रकारहरुको । यो भिषण युद्धको तयारी हो, सबैको मनले यही बोल्दै थियो । हेलिकोप्टर आईपुगेको जानकारी पाईयो । अघी चारपाउ टेकेर निस्किएको उकालोमा समाचारको बोझ बोक्दै हामी हामफाल्न थाल्यौं । डाँडामा लाईनबद्ध भएर भुराभुरीहरु हात हल्लाई रहेका थिए । हेलिकोप्टरको ढोका उघ्रीयो । पालैपालो पसेर आसन जमायौं । हावामा पङ्खाले गति बढाउन थाल्यो । केहीबेरमा जुरुक्क उचालियो हेलिकोप्टर र बिहानको बाटो पहिलाउन थाल्यो । करिब पौतिस मिनेटपछि पोखरा एयरपोर्टमा थुपि्रन हामी आईपुग्यौं ।
अर्कोदिन बिहान पोखराका सबै दैनिक र साप्ताहिक पत्रिकामा अघिल्लो दिनको समाचार महत्वका साथ छापिएको थियो । पत्रकारको भित्री अनुभूति त समाचारमा थिएनन् नै तर बाहिरी दृष्टिपनि सुरक्षाकर्मीले हेलिकोप्टर चढाएको गुणको पैंचो तिर्न मात्रै लेखिए जस्तो लाग्यो । मैले बनाएको मूल समाचारको भावपनि उस्तै थियो तर सँगैको 'ब्रेकर'ले निक्कै हल्ला पिट्यो । "हेलिकोप्टरले घरको घुरी उडायो" शिर्षकको त्यो ब्रेकर सुरक्षाकर्मीको बिचमा पनि चर्चाको बिषय बनेको कुरा पछि थाहा पाँए ।
हेलिकोप्टरमा त चढियो तर सुरक्षाकर्मीहरुको अप्रत्यक्ष मानसिक दवावमा परिएको भने हेक्का नै भएन उसदिन । हाम्रो साथमा पोखराबाट प्रकाशित हुने माओवादी निकट "हाम्रो स्वाभिमान" साप्ताहिकका सम्पादक कोमल बराल (हाल जनादेश साप्ताहिकका सम्पादक) पनि हुनुहुन्थ्यो । सुरक्षा निकायको माथिल्लो तहबाट पत्रकारहरुको पिछा गर्न निर्देशन नै दिईएको रहेछ । कोमल बराललाई माओवादीको ठूलै नेता हो भन्ने भ्रम सुरक्षा निकायमा परेको कारणले नै त्यस्तो उर्दी गरिएको हुनसक्छ । जे होस् सरकारी खर्चमा हेलिकोप्टर चढेर पत्रकार हुनुको फाईदा लुटियो त्यस दिन तर बरम्जाबासीहरुको न्यानो स्नेहले अझैपनि कहिले काँही मन पग्लिन्छ । साथी आस्था निक्कै पछिसम्म फेटो खिच्न कर गर्ने पुन थरी एक बहिनीको नाम कण्ठै पारेर सम्झना गरिरहन्थे तर मैले सेनाको पोशाकमा सजिएकी एक षोडसीको प्रतिविम्ब मनमा सजाई रहे केही समय ……