Monday, September 15, 2014

Gajal

मात्र म एक श्रमिक भएँ तिम्रो पूँजिवादमा
श्रमजिवीको नजिक भएँ तिम्रो पूँजिवादमा

तिमी गुड्यौ गुडी रह्यौ मेरै छातिमाथी
तिमी रेल यो म लिक भएँ तिम्रो पूँजिवादमा

लुटी रह्यौ मलाई नै मेरै श्रममा बाँची
अाजानैमा रसिक भएँ तिम्रो पूँजिबादमा

आफै भित्र मरेको त्यो मान्छे जागे पिछ
आन्दोलनमा सरिक भएँ तिम्रो पूँजिवादमा

मान्छे माथि मान्छे कै त्यो अत्याचार यो तोड्न
समाजवादको पथिक भएँ तिम्रो पूँजिवादमा

Muktak

हेर्दा हेर्दै मलेसियामा अग्ला अग्ला घर बन्यो र सयौं आकाशे पुल बन्यो
हाँगामा च्यापिएर बसेका कलिला कोपिलाहरु लोभ लाग्दा फूल बन्यो
खै के भनौं ? भनौ कि नभनौ ? भन्न पनि गाह्रो, नभन्न पनि गाह्रो
आफ्नो लागि त फगत यति, यो ज्यान बुढो विल्कुल बन्यो

घरदेशबाट

 
दाइ,
राम्रैसँग आइपुगें म,
हजुरले भने झैं
बाटामा देउराली र चौतारीहरु
भञ्ज्याङ र नागीहरु
नदि र खोलाहरु
सबै–सबै भेटियो
जहाँ एक छिन रोकिएर
एक छिन उभिएर
अन्तरालको एक मुठी पाती चढाएँ
र,
पूर्वि छितिजमा
विस्तारै उकालिन्दै गरेको घामलाई हेरी
अलिकति मुस्कुराएँ
साँच्चै दाइ
यतिबेला म सम्झिरहेको छु
हजुरका ती शब्दोपहार
जहाँ ममताका एकखात अक्षरहरु
बाटैभरि मग्मगाई रहेछन्
अजम्बरी र बाबरीको बोटहरुमा ।

दाइ जब म,
आकाश मार्गको यात्रालाई
पूर्णविराम लगाएर
त्रिभुवन विमानस्थलको
वर्हिगमन कक्षमा ओर्लन्छु
तब एक झोंक्का बतास
मलाई सुम्सुम्याउन आइपुग्छ
जहाँ, सडकमा अलपत्र फ्याँकिएको
फोहोरको कुहिएको गन्ध छ
र, छ धुलोको मसिना कणहरु
सायद मन परदेशी भइदिएको हुन्थ्यो भने
म नाक र मुख थुनेर
सराप थें होला देशलाई
धिक्कार्थें होला माटोलाई
तर दाइ
ज्यान परदेशी भए पनि
घरदेशको ममताले पग्लिएको मन
पग्लियो हावाको स्पर्शमा
र, विस्तारै सुम्सुम्याएँ
अनुहारभरि लुटपुटिन आइपुगेको धुलोलाई
त्यसपछि
केएल सिसीको तिर्सना मेटाउन
धरहरालाई नियाले
यहिबेला ग्यान्टिङ हाइल्याण्डको स्वरुप बोकेर
आँखै सामुन्ने ठडियो नागार्जुन डाँडो ।

दाइ
हजुरले भने जस्तै
घर पुग्नु अगावै मैले
दाँवलीहरुको एक लस्कर
र,
मायालुहरुको एक हुल भेटाँए
शरदीय पवनको हल्का हल्का झोक्कामा
बयली खेलिरहेको सालिमोको एक बुच्को हातमा लिएर
टोलाई रहे उनीहरु
मलाई देखेपछि उनीहरुले यस्तो ठने–
“सायद घाम, पश्चिमबाट उदाउँदैछ”
तर दाइ ज्यान परदेशी भए पनि
मन घरदेश मै छोडेर हिंडेको म
कत्ति पनि परिर्वन भएको थिइनँ
त्यसैले त
पशिनाको तितो गन्ध
उनिहरुको ज्यानबाट आइरहे पनि
घ्वाम्लाङ्ग अँगालो हाले
र,
असमय मै खोविल्टो परेको गालामा
सुमसुमयाई रहें धेरै बेर ।

दाइ,
आज पनि म सम्झदैछु
खुट्टै चिप्लेला जस्तो ती चिल्ला सडकहरु,
सगरमाथा झैं
ठडिएका ती गगनचुम्बी भवनहरु
र,
हिउँ जस्तै गोरी सायाङका
लोभलाग्दा बदन
तर दाइ
ती त सबै भ्रम रहेछन्
फगत सपना जस्तै
यर्थात त यही रहेछ
सातपत्र टालेको सडक
सडक किनारामा फालेको फोहोरको दुर्गन्ध
र,
निशुःल्क पाइने धुले पाउडर
त्यसैले त दाइ
ती नागीहरु, भञ्ज्याङ र देउराली–चौतारीहरु
खोला र नदिहरु
हजुरको आगमनको प्रतिक्षामा
बसी रहेका छन् उसैगरी
हिजै मात्र मदेशबाट
पहाड उक्लिएकी सिम्मालाई
सबैले एकै स्वरमा सोधेछन्
दाइ कहिले आउनु हुन्छ ?
दाइ कहिले आउनु हुन्छ ?

मलेसियाबाट फर्कने क्रममा आदरणीय दाइ मनि राई ‘गोठाले’ ले मलाई उपहार स्वरुप दिनु भएको कविताको भावमा बहकिन्दै लेखिएको कविता ।

गजल

 तिमीलाई देखेपछि आज होस हराएँ
तिम्रो बानी, बोली, बचन सबै मन पराएँ

के भो के भो भन्नै गाह्रो सपनाको कुरा
तिम्रै नाम लिई लिई रातभर बरबराएँ


तिमी थियौ किनारामा म नदिको माझ
कतै डुब्दै छु कि भनी अहो ! म डराएँ

बाढी आयो उर्लिएर छल्को उतै सर्यो
भाग–भाग प्रिय भन्दै जोड्ले म कराएँ

ढिलो हुनु हानी थियो, यस्तै यस्तै सम्झी
प्रेमको तमसुकमा आजै सही छाप गराएँ

Gajal

किन किन आँखा तानियो उतै तिर
घरी घरी छड्के हानियो उतै तिर

धेरै धेरै थिए बास दिने मान्छेहरु
तर पनि ठाउँ छानियो उतै तिर

सारा कुरा भुली अहिले यस्तो भयो
सर्वश्व नै आफ्नो मानियो उतै तिर

भूलै भो कि कतै या सही भो मेरो
जिन्दगीको आधार ठानियो उतै तिर

हेर्दा हेर्दै आज यो अञ्जान नारथुङेको
आखिरिमा हात धानियो उतै तिर

सिम्माको नाममा नयाँ चिट्ठी–३

जेठ चौध पछि
अन्यौलताको तुँवालोले
जताततै ढाकेर
दिउँसै अन्धकार छाएको बेला
चेतनाको सानो सलेदो सल्काएर
त्यसैको रिमरिम आभामा
तिम्रो नाममा अर्को नयाँ चिट्ठी
कोरिरहेको छु, सिम्मा
स्वीकार गर है ।

बोलिएका शब्दहरु माथि
बोल्नेले नै विश्वास गर्न गाह्रो भइरहेको बेला
धर्कै धर्का कोरिएको
घुर्मैलो पानामाथि
असरल्ल छरिएका
ख¥ल्याङ्गखुट्टी अक्षरहरुलाई
तिमी कसरी विश्वास गरौली सिम्मा ?
हो, विश्वास गर्ने आधारहरु
मेरा शब्दहरुमा नहुन सक्छन्
मेरा अक्षरहरुमा नपर्न सक्छन्
तर सिम्मा,
यो धर्म संकटको बेला
तिमीलाई म विगत तिर फर्काउँदैछु
फर्क सिम्मा फर्क
यी अक्षरहरु बोकेर
पुराना पत्रहरुलाई भेट्न ।
जुन बेला म,
असंख्य कृतिम सीमाहरुले अलग्याइएको
परदेश,
अर्थात
कथित आफ्नो नभएको देशमा बसेर
तिम्रो नाममा चिट्ठी कोरिरहेको थिएँ
त्यसबेला,

तिमी जस्तै सहृदयी, सविनयी
एक मलेसियन ठिटी ‘लिजा’ को निम्तोमा
हरिराय (रमजान) मनाइरहेको थिएँ
सुन्छौ सिम्मा ?
मैले उसको आतित्थ्यतालाई स्वीकार गर्दै
उसको सुकोमल हातले पस्किएको
के परिकार खाँए ?
सिम्मा यदि मैले सत्य कुरा भने, भने
थुक्ने छौ मलाई तिमीले
र,
थुक्ने छन् यो ढोगीं दुनियाले
जहाँ जात र धर्म नामको
प्वालै प्वाल परेको
थोत्रो खास्टो ओढेर
अझै पनि ढमरढुस्स बसिरहेको छ दुनियाँ
हो,
मैले त्यही बेला तिमीलाई चिट्ठीमा लेखेको थिएँ
‘एक दिन त्यस्तो समय आउने छ,
जहाँ हामी खोजेर पनि भेट्ने छैनौं
धर्म र जातका यी कुरुप सीमाहरुलाई
र, अन्ध राष्ट्रियताले ठडिएका
जङ्गे पिलरहरु’ ।
सिम्मा,
म फेरि पनि दोहो¥याउँदै छु,
‘एक दिन त्यस्तो समय आउने छ
जहाँ हामी खोजेर पनि भेट्ने छैनौं
धर्म र जातका यी कुरुप सीमाहरुलाई
र, अन्ध राष्ट्रियताले ठडिएका
जङ्गे पिलरहरु’ ।
हो,
त्यसैले
जेठ चौध अगाडि
मैले खोजें सडकमा
मैले खोजें सदनमा
टायर बाल्नेहरुको बीचमा
ढुङ्गा फाल्नेहरुको बीचमा
बन्द गराउनेहरुको बीचमा
बन्द खुलाउनेहरुको बीचमा
तर
कतै भेटिएनन् सँगसँगै
कथित मंगोल र आर्यहरु
कथित पहाडे र मदिसेहरु
कथित तागाधारी र मतवालीहरु
कथित नाक चुच्चे र नाक थेप्चेहरु
अनि
कथित दलित र उच्च भनाउँदा जातहरु
अनि कसरी बन्छ संविधान ?
अनि कसरी रहन्छ संविधान सभा ?
हो सिम्मा
गल्ती एउटाको मात्र छैन
र,
गल्ती कसैको पनि छैन
गल्ती त्यो हरामको छ,
जसलाई हामीले
युगौंदेखि जोगाएर
काँधमा चढाएर, खोकिलामा च्यापेर
शिरमा पाइला राख्न दिएर, आँखामा पट्टी बाँध्न अह्राएर
नाना उपमाहरु भिराउँदै
नाना नामहरु जुराउँदै
जोगाउँदै आएका छौं
बचाउँदै आएका छौं
सिम्मा,
मन्दिर वा मस्जिद
चर्च वा गुम्बा
अथवा
तिमी र मैले पुज्ने दयलुङ र मोछामा
वेद र उपनिषद्हरु
त्रिपिटक र बाइबलहरु
कुरान र हाम्रो मुन्धुम
जबसम्म हामी फ्याँक्न सक्दैनौ
जबसम्म हामी उखेल्न सक्दैनौ
जबसम्म हामी जलाउन सक्दैनौ
तबसम्म मैले खोजे जस्तो
तिमीले खोजे जस्तो
संविधान बन्न सक्दैन
देश बन्न सक्दैन
र,
पृथ्वी बन्न सक्दैन
त्यसैले सिम्मा
अन्यौलताको तुँवालोमा अल्मलिएर
बाटो हराउन लाग्यौ भने
च्यात कथित धर्मग्रन्थ नामका
पुराना खोस्टाहरुलाई
र, जात, वर्ण र वर्ग नामका
गुइँठाहरुलाई सल्काउँदै
दसगजामा, पनामामा, युरालमा आइपुग
अनि सँगसँगै भत्काउँला
अहंकार र अन्धराष्ट्रियताले ठडिएका जंगे पिलरहरु ।

असफल राष्ट्र



ब्यूँझदा न ब्यूँझदै
छिमेकीको बाँस झ्याँङमा
घुर्न थाल्यो एक जोडि ढुकुर
ढुकुर...कुर...ढुकुर...कुर.....
र,
गञ्जकमा भएको परेवाले पनि भाका टिप्यो
माक...माक...घुर...माक...माक...घुर.....
खोरमा थुनिएको बैसालु भाले के कम
बास्न थाल्यो टोलै थर्काउँदै
कुखुरी...काँ.....।
हैन ?
यो असफल राष्ट्रमा
ढुकुर कसरी करायो ?
परेवा कसरी घु¥यो ?
र,
भाले कसरी बास्यो ?
म छक्कै परे
तीन छक्क ।

उठे र आङ तन्काएँ
खै के हो
चसक्कै चस्कियो देब्रे छाति भित्र
र, हतारोमा
खोलें बन्द ढोका
एक झोंक्का चिसो बतास काखैमा लुट्पुटियो
सुम्सुम्यो उसैगरि बतासले
मेरो हृदयका अन्तर कुन्तरहरु
विल्कुल पहिले जस्तै
कुनै परिवर्तन नपाउँदा बतासमा
म हैरान भएँ
कसरी राष्ट्र असफल भयो ?

पुगें ढुङ्गे धारोमा
झरें भस्मे कुवामा
पसें तुवा खोलाको होंछापुर्मा दहमा
पानी उही छ
फेरिएको छैन रंग
रोकिएको छैन कतै
धाराको अविरल धरर.....
कुवाको अविचल आकृति
र, खोलाको कुलुलु
विल्कुल पहिलाको जस्तै
यहि बेला
जिऊ भरि अविर पोतेर
धोवी चरा
देखियो खोलाको ढुङ्गोमा
उसैगरि पुच्छर फट्कार्दै नाच्यो
र, हानियो ओह्रालै
असफल राष्ट्रलाई नाप्न निस्किएको म
एक पटक फेरि हैरान भएँ ।

कि हिमाल भत्कियो ?
कि छाति भरि सभ्यताको बुकी फूल उमारेर
सधैं शिर ठडाई रहने पहाड लड्यो ?
यस्तै यस्तै तर्कनामा हेलिन्दै
निस्किएँ सिकारी थुम्कोमा
र, हेरें सिधैं उत्तरपट्टि
जहाँ युगौं देखि अविश्रान्त
उभिरहेका छन् सगरमाथा र कुम्भकर्णहरु
लोहोत्से र चोयूँहरु
ट्याम्के र मैंयूहरु
सेल्मे र मूलडाँडाहरु
बिल्कुल उसैगरि
शिरभरि हिउँको खास्टो ओढेर
अविचल उभिरहेकाछन् हिमालहरु
छातिभरि बुकी फूल उमारेर
सभ्यताको परिचय दिइरहेकाछन् पहाडहरु
र, यहि बेला
चिसापानी डाँडोलाई उधिन्दै
झुल्कियो घाम
रक्तिम आभाहरु बोकेर
अहँ असफलताको कुनै हरक, कुनै छनक
सुँघिएन यहाँ पनि, देखिएन यहाँ पनि ।

दिनभर बतास चलि¥ह्यो सिर...सिर......
घाम लागि रह्यो उसैगरि
खोलो बगि रह्यो निरन्तर...निरन्तर.....
चराहरुको चिरबिर
पुतलीको फुर्र...फुर्र.....
र, मान्छेको ताहुर माहुर रोकिएन
दिब्यहाङले जोतिरह्यो मकै बारी
सिम्माले लगाई रहि मकैको बिऊ सियोमा
सिस्नेम्पामा कुलो खन्नेहरु
गैह्री खेतमा धानको ब्याड राख्नेहरु
सबै सबै
ब्यस्त रहे दिनभर
फगत म,
असफल राष्ट्र खोज्दै
भौतारी रहें अनायासै ।

दिनभरको
क्लान्त तन र मनलाई अल्मल्याउन
खोलें ल्यापटप र जोडें मोडियम
अल्छि मान्दै खुल्यो वेभ पेजहरु
साइन इन गरें फेसबुक, ट्विटर र जि मेलमा
देखियो भित्ताहरु रंगी बिरंगी
कसैले के लेखेका, कसैले के लेखेका
कतै लाली गुँरासको थुँगा
कतै फेवाको कञ्चन पानीमा हेलिरहेका डुँगा
जन्म दिनको शुभकामना दिनेहरु पनि छन्
गाली गरेर आनन्द लिनेहरु पनि छन्
उही ढुँगे धारो जस्तै, भस्मे कुवा र तुवा खोला जस्तै
अविरल, अविचल र अपरिवर्तनीय छन् वेभ पेजहरु पनि
कुनै गन्ध छैन असफलताको ।

निक्कै बेर घोरिएँ
सायद,
हराँए सपनाहरुमा
डुबे कल्पनाहरुमा
पौंडिए तरङ्गहरुमा
यहि बेला
फेस बुकको भित्तोमा लेख्यो कसैले
देश असफल भएको छैन
पार्टीहरु पनि असफल भएका छैनन्
असफल भएका तिनै मात्र हुन्
जो ठूला पार्टीका निर्णायक ठाउँमा छन्
यसो हेरें,
धेरैले लाइक गरेका रहेछन्
तर मैले कमेन्ट नै लेखें
हन्ड्रेड पर्सेन्ट ठीक ।