Monday, September 15, 2014

असफल राष्ट्र



ब्यूँझदा न ब्यूँझदै
छिमेकीको बाँस झ्याँङमा
घुर्न थाल्यो एक जोडि ढुकुर
ढुकुर...कुर...ढुकुर...कुर.....
र,
गञ्जकमा भएको परेवाले पनि भाका टिप्यो
माक...माक...घुर...माक...माक...घुर.....
खोरमा थुनिएको बैसालु भाले के कम
बास्न थाल्यो टोलै थर्काउँदै
कुखुरी...काँ.....।
हैन ?
यो असफल राष्ट्रमा
ढुकुर कसरी करायो ?
परेवा कसरी घु¥यो ?
र,
भाले कसरी बास्यो ?
म छक्कै परे
तीन छक्क ।

उठे र आङ तन्काएँ
खै के हो
चसक्कै चस्कियो देब्रे छाति भित्र
र, हतारोमा
खोलें बन्द ढोका
एक झोंक्का चिसो बतास काखैमा लुट्पुटियो
सुम्सुम्यो उसैगरि बतासले
मेरो हृदयका अन्तर कुन्तरहरु
विल्कुल पहिले जस्तै
कुनै परिवर्तन नपाउँदा बतासमा
म हैरान भएँ
कसरी राष्ट्र असफल भयो ?

पुगें ढुङ्गे धारोमा
झरें भस्मे कुवामा
पसें तुवा खोलाको होंछापुर्मा दहमा
पानी उही छ
फेरिएको छैन रंग
रोकिएको छैन कतै
धाराको अविरल धरर.....
कुवाको अविचल आकृति
र, खोलाको कुलुलु
विल्कुल पहिलाको जस्तै
यहि बेला
जिऊ भरि अविर पोतेर
धोवी चरा
देखियो खोलाको ढुङ्गोमा
उसैगरि पुच्छर फट्कार्दै नाच्यो
र, हानियो ओह्रालै
असफल राष्ट्रलाई नाप्न निस्किएको म
एक पटक फेरि हैरान भएँ ।

कि हिमाल भत्कियो ?
कि छाति भरि सभ्यताको बुकी फूल उमारेर
सधैं शिर ठडाई रहने पहाड लड्यो ?
यस्तै यस्तै तर्कनामा हेलिन्दै
निस्किएँ सिकारी थुम्कोमा
र, हेरें सिधैं उत्तरपट्टि
जहाँ युगौं देखि अविश्रान्त
उभिरहेका छन् सगरमाथा र कुम्भकर्णहरु
लोहोत्से र चोयूँहरु
ट्याम्के र मैंयूहरु
सेल्मे र मूलडाँडाहरु
बिल्कुल उसैगरि
शिरभरि हिउँको खास्टो ओढेर
अविचल उभिरहेकाछन् हिमालहरु
छातिभरि बुकी फूल उमारेर
सभ्यताको परिचय दिइरहेकाछन् पहाडहरु
र, यहि बेला
चिसापानी डाँडोलाई उधिन्दै
झुल्कियो घाम
रक्तिम आभाहरु बोकेर
अहँ असफलताको कुनै हरक, कुनै छनक
सुँघिएन यहाँ पनि, देखिएन यहाँ पनि ।

दिनभर बतास चलि¥ह्यो सिर...सिर......
घाम लागि रह्यो उसैगरि
खोलो बगि रह्यो निरन्तर...निरन्तर.....
चराहरुको चिरबिर
पुतलीको फुर्र...फुर्र.....
र, मान्छेको ताहुर माहुर रोकिएन
दिब्यहाङले जोतिरह्यो मकै बारी
सिम्माले लगाई रहि मकैको बिऊ सियोमा
सिस्नेम्पामा कुलो खन्नेहरु
गैह्री खेतमा धानको ब्याड राख्नेहरु
सबै सबै
ब्यस्त रहे दिनभर
फगत म,
असफल राष्ट्र खोज्दै
भौतारी रहें अनायासै ।

दिनभरको
क्लान्त तन र मनलाई अल्मल्याउन
खोलें ल्यापटप र जोडें मोडियम
अल्छि मान्दै खुल्यो वेभ पेजहरु
साइन इन गरें फेसबुक, ट्विटर र जि मेलमा
देखियो भित्ताहरु रंगी बिरंगी
कसैले के लेखेका, कसैले के लेखेका
कतै लाली गुँरासको थुँगा
कतै फेवाको कञ्चन पानीमा हेलिरहेका डुँगा
जन्म दिनको शुभकामना दिनेहरु पनि छन्
गाली गरेर आनन्द लिनेहरु पनि छन्
उही ढुँगे धारो जस्तै, भस्मे कुवा र तुवा खोला जस्तै
अविरल, अविचल र अपरिवर्तनीय छन् वेभ पेजहरु पनि
कुनै गन्ध छैन असफलताको ।

निक्कै बेर घोरिएँ
सायद,
हराँए सपनाहरुमा
डुबे कल्पनाहरुमा
पौंडिए तरङ्गहरुमा
यहि बेला
फेस बुकको भित्तोमा लेख्यो कसैले
देश असफल भएको छैन
पार्टीहरु पनि असफल भएका छैनन्
असफल भएका तिनै मात्र हुन्
जो ठूला पार्टीका निर्णायक ठाउँमा छन्
यसो हेरें,
धेरैले लाइक गरेका रहेछन्
तर मैले कमेन्ट नै लेखें
हन्ड्रेड पर्सेन्ट ठीक ।

Song

खै के दिन सकें र मैले मेरो देशलाई
न एक थोपा रगत न एक मुठी पसिना ।

जहाँ जन्मे हुर्के टेकी उनको छाती
काँध, शिर छाम्दै पुगे माथी–माथी
तिनै काँध गल्दा, तिनै छाती दुख्दा
स्वाभिमानी शिर उनको अपमानले झुक्दा
खै के दिन सकें र मैले मेरो देशलाई
न अञ्जुलीभर सहास न मुठ्ठीभर सान्त्वना
न एक थोपा रगत न एक मुठी पसिना ।


हजार चोटी लड्दा उठें समाई हात
अघी बढ्दा एक्लै पाएँ उनकै साथ
तिनै हात भरी चोटै चोट लाग्दा
तिनै गोडाहरु धेरै–धेरै थाक्दा
खै के दिन सकें र मैले मेरो देशलाई
न शुभ प्रभात न मिठो सपना
न एक थोपा रगत न एक मुठी पसिना ।

गजल


अहिलेसम्म हराएको मेरो सान खोजिरहेछु
चिम्सो आँखा र थेप्चो नाकको पहिचान खोजिरहेछु

थेप्चो नाक झैं थेप्चिएको, थेप्चो भूगोल भित्र
भाषा, धर्म र संस्कृतिको सम्मान खोजिरहेछु 


बन र खोरिया जस्ले फाँडे खने गोरेटोहरु
तिनै पिता–पूर्खाहरुको गुणगान खोजिरहेछु

एक्लै तिमीले राज गरेको त्यो सिंहदरबारमा
आज फेरि एलम्बरको सन्तान खोजिरहेछु

अस्वीकृत वर्तमान

छेप्पाहरुले बेहोरेको वर्तमान
कोक्पाहरुको जवानीसम्म आइपुग्दा
विगत बनिसकेको थियो
र त, त्यसैको विरुद्घमा
उठाए कोक्पाहरुले
बर्माको घनघोर जङ्गलमा
पड्काएका बन्दुकहरु
राणाको छाति ताकेर ।
परन्तु सम्झौताको नाममा
धोका बेहोरेका कोक्पाहरुको बर्तमान
आपाहरुलाई चित्त नबुझे पछि
कहिले पिस्करमा
कहिले सुखानीमा
कहिले इभाङमा
कहिले छिन्ताङमा
बगाई रहे आपाहरुले
थोपा थोपा जम्मा पारेका
रगतका अमूल्य फाल्साहरु
तिनै रगतका फाल्साहरुमा
कोरिएका मुक्तिको गाथाभित्र
आज पनाति पुस्ताले
आफ्नै पहिचान नभेटेपछि
तयार भइरहेका छन्
इतिहास दोहो¥याउन ।
त्यसैले त यो कवि मन अचेल
विह्वल भएको छ,
कतै देश भित्र अर्कै देश खोज्न
कविताहरुले बारुद बन्नु प¥यो भने
सुरुवात हुने छ गृह युद्घ
जसले निम्त्याउने छ विनास सबैको
त्यसैले प्रतिपक्षको बेञ्चबाट उठेर
रोष्ट्रमको सामुन्ने पुगि
नियमापत्ति जनाई रहेको छु
र, सँगै नारा घन्किरहेछ
पहिचान मास्न पाइँदैन ।

Gajal

धर्तिको भार छु म खै के गर्नु, आकाशको कुरा
कसरी म सुनाउँ फूललाई, सुवासको कुरा

सानो ठूलो हुँदैन भन्छन् सबै, माया पिरतीमा
सूर्य सामु हुने पो होकी कतै, विभासको कुरा

दुखैमा जन्मी हुर्किएको मान्छे, म दुखी नै छु
सोध्ने हुन् कि फेरि कतै मलाई, बिलासको कुरा

कसरी फुल्छ फूल भनी प्रश्न, सोधिदिईन् भने ?
कहाँ भन्न सक्छु र सहजै त्यो, बतासको कुरा ।

म र वास्तविकता


म मर्दा मुर्दा सँगै
जे—जे लिएर जान्छु
हो त्यही हो मेरो सम्पत्ति
न कसैले खोस्न सक्छ
न मट्टीले शोस्न सक्छ

म सर्वाङ्ग नाङ्गो हुँदा
जे देखिन्छ छोपिएको
कथित गोप्य अङ्ग
हो, त्यही मेरो जात
न कसैले बदलदिन सक्छ
न कसैले खोसेर लिन सक्छ ।
म एक्लै हुँदा जे गर्छु
गर्न हुने/गर्न नहुने,
म मनमा जे सोच्छु
सोच्न हुने/सोच्न नहुने,
हो त्यही मेरो धर्म हो
कसैसँग मिल्न पनि सक्छ
सबैसँग नमिल्न पनि सक्छ ।
म जहाँ जन्मिएँ
कसैको कोखमा
चाहेर पनि/ नचाहेर पनि
तब खान सिकें, लाउन सिकें
नाच्न, गाउँन, हाँस्न सिकें
उठ्न, हिंड्न, लाउन सिकें
त्यो मेरो संस्कृति
परिवर्तनशिल छ समयानुुकुल
जन्मेदेखि अहिलेसम्म
यहि अनुभव गरिरहेछु ।
र, आज म सँग
जे-जे जोडिएका छन् आवरणमा
ती जम्मै पाखण्डी समाजले बनाएको
भ्रष्ट संस्कारहरु हुन्
जो सँग मृत्यु पर्यन्त
मेरो लडाँई जारी रहने छ ।

पहिचान

एउटा गोलो टाउको/टाउकोमा केश
दुई आँखा/कान
एक नाक, दुई पोरा
मुख, दाँत, जिब्रो
दुइ हात/खुट्टा, दश–दश औंला
अनि जनेन्द्रीय
भित्र पनि उस्तै,
टाउकामा एक कचौरा गिदी
मुटु, कलेजो, फोक्सो, फियो, पित्त, मृगौला
ठूलो/सानो आन्द्रा
हाड र स्नायूहरु
बाहिर जम्मै छालाले छोपिएको ।
दिशा, पिसाब, पशिना, आँशु
रगत, खकार, र्याल, सिगान
के फरक छ तिमी र ममा ?
फगत नाक थोरै थेप्चो मेरो/चुच्चो तिम्रो
आँखा चिम्सो मेरो/गुरिलो ठूलो तिम्रो
अनुहार अलिक डल्लो मेरो/लाम्चो तिम्रो
दाह्री–जुङा तिम्रो धेरै/सिमित मेरो
हेर्दा फरक यति नै त हो ।
परन्तु,
फरक छ हामी बाँचेको परिवेश
कि, म जन्मिएँ र हतार–हतार कोकुले (बजुले)
चर्दै गरेको माऊपोथी छेप्ताएर (फकाएर)
चाखुङ (ढिंडो) मस्काउने लाम्बे (काठको पन्यू) झिकी
प्वाक्क हिर्काएर ढाडमा
हियाफेम्मा गरेपछि
म सुरक्षित भएँ
र, तेश्रो दिनमा
कोकुबाटै पाएँ नाम...लोखाजिते (पैंचो तिर्ने) ।
तर तिमी जन्मियौ
अनि हेरियो घडि, पला, बार, गते र महिना
लेखियो सुतिका
र, छैटौं दिनमा बनाईयो चिना
राखिदियो पुरेतले नाम
बताइयो तिम्रो भाग्य
राम्रै राम्रो....।
जन्मिएकै दिनदेखि
आमाको स्तनबाट
चुस्न थालें मैले अल्कोहल
र, मातेर निदाएँ लट्ठ
भने सबैले—साह्रै सन्तोषी बालक ।
तिमीले पनि चुसेको त त्यही लाम्टो नै हो
तर त्यहाँबाट आएन अल्कोहल
आयो मात्र सेतो दुध...गुलियो...मीठो...
पल्कियौ स्वादमा
र, क्षण–क्षणमा चिच्याउँदै
खोजिरह्यौ आमाको न्यानो काख
त्यसबेला सबैले भने
केटो टाठो छ ।
पाँचौं बर्षहरु कटाइसकेपछि
एक दिन
मैलो रुमालले छोपियो मेरो आँखा
झुण्ड्याईयो दुवै कानमा सेलरोटी
मामै (मामा) ले खौरीदियो केश
कोक्पा (बाजे) ले दिए उपहार हलो–जुवा
आपा (बाबु) ले पहिराईदिए दौरा सुरुवाल र ढाका टोपी
लगाई दिए निधारभरि सेतो अक्षता
र, सबैले भने गरिखानु- बाऊ बाजेको थातथलोमा ।
उसैगरि तिमी पनि
बाल्यकालका खुट्किलोहरु उक्लदै
चढेपछि किशोरवयमा
एक दिन,
आँगनको बीचमा बनाएर चौघेरा
ठडाएर लिङ्गो, बाँधेर डोरी
वरिपरी बसेर पुरेतहरु
पढे शास्त्रका श्लोक
केश खौरियो/टुपी राखियो
बेह्र्यौ सेतो धोती तिमीले
फूलपाती चढायौ, दान–दक्षीणा गर्यौ
पायौ एउटा झोली
अनि भिक्षा माग्यौ सबैसँग
हो त्यही दिन भिर्यौ जनाई
र, कण्ठ गर्यौ मन्त्र
आज पर्यन्त
हरेक विहान मुख धुँदा
जपिरहेछौ त्यही वाणी
लगाई रहेछौ अप्सनी खानु अगाडि ।
हरेक दशैंमा मालश्री (दुर्गा भजन) घन्कियो तिम्रो आँगनमा
हानियो मार
र, दशमीको दिन लगायौ निधारमा विजयको टीको
पायौ आर्शिवाद
आयुद्र्रोणसुते श्रियो दशरथे......।
हरेक तिहारमा
पुज्यौ गाई/गर्यौ दिपावली
माग्यौ लक्ष्मीसँग श्री/सम्पत्ति
जनाई फेर्यौ सालिन्ने
रोप्यौ मठमा तुलसी
टाँस्यौ नागका चित्रहरु/भुण्ड्यायौ कुश
मनायौ शिवरात्री/गायौ भजन किर्तन ।
यता मैले
हरेक बैसाकेपूर्णे छेक
नाचे सिली (नाच) साकेलामा
गाएँ सोइ सोइला र स्यामुना भाका
पुजें दायलुङ (अगेना, चुल्हा)
मनाएँ मोछामा, साम्खा, तोरेम्पा र आप्तिर्बो (सिकारी) लाई
चढाएँ वासिम (जाँड), बेछु (अदुवा) र वापा (भाले)
अनि ग्रहण गरें हुम्मासा (पोलेको मासु) र सायरेम्मा (शिर उभ्याउनी)
सायद मातिएँ म फेरि एक पटक ।
तिमी स्कूल गयौ
पछ्याएँ मैले पनि
पल्टायौं हामीले किताब
तिमीले बुझ्यौ सजिलै
किनकी किताबका पानाभरि
थियो तिम्रै भाषा, संस्कृति, संस्कार र मान्यताहरु
भगवानहरु, भूतहरु, दैंत्य र परीका कथाहरु
अहँ भेटिन मैले कतै मेरो रोदुङ इला (राई भाषा)
मुन्धुम (किराती धर्म वाणी) र नछुङका (धामी) रिसिया (मन्त्र)
तिमी प्रथम हुँदै गयौ
मैले पुच्छर समाती रहें
पार गर्यौ फलामे ढोका
म अल्झिएँ र हाम्रो सहयात्रा टुट्यो ।
सुने तिमीले पास गरेछौं आई.ए., बि.ए.
र, भिडेछौ लोकसेवा आयोग
आखिर प्रश्नहरु तिनै त थिए
जोसँग तिमी जन्मैदेखि जोडिएका छौ
सजिलै छिचोल्यौ त्यो जङ्घार पनि
अनि भयौ सरकारी अधिकृत
यता म,
नाङ्गो छाति फुलाएर गल्लामा नापिंदा
ठग्यो उचाईले
फालिएँ र भएँ अरबको लाहुरे
अर्थात अर्पे ।
र, अब पनि
बाटो अलग छ साथी तिम्रो र मेरो
तिमी चाहान्छौ राजधानीको मूल सडकमा
ठडाएर गगनचुम्बी महल
टल्काएर प्राडो–पजेरो
थपेर बैंक ब्यालेन्स
बाँच्नु रवाफपूर्ण जिन्दगी
र, मर्दा
आर्यघाटको स्पेशल चितामा
सजिएर फूलै फूलले
खाएर तोपको सलामी
रक्तचन्दनको शोलामाथि जलेर
बग्दै पुग्नु काँशी
तर म चाहान्छु,
छेप्पाले उभ्याएको त्यही घुमाउने घरमा
धुवाउँदै दायलुङ
घुसारेर हरेक साँझ सितिमी (अगुल्ठो)
बचाई रहुँ आगो
र, मर्दा
त्यही आगो अगाडि लाएर
पुगौं रेम्मातुङमा (चिहानघारी)
आपा–आमाको घर नजिकै
खनियोस् एउटा खाल्डो
जहाँ विश्राम गरौं युग...युगान्तर ।
साथी... यतिबेला
उहिल्यै स्वीकारी सकेको तिम्रो पहिचानलाई
बोकेर एउटा काँधमा
यी तिम्रै भाषा/तिम्रै लिपीहरुमा
कोपी रहेछु कविता
र,
तिमीले नै दिएको नाम
अर्थात ‘इन्द्र’ को पछाडि
झुण्ड्याई रहेको छु ‘नारथुङे’
पक्कै यसमा तिम्रो असहमति हुने छैन
किनकी,
मेरो पहिचान पनि राष्ट्रको गहना हो
यसले फुल्न पाउनु पर्छ
राष्ट्रियताले बाँधिएको चौघेरा भित्र ।
शब्दार्थ : हियाफेम्मा (सुत्केरी अवस्थामा मरेकाहरुबाट बचाउन गरिने कार्य)
साकेला : प्रकृतिको संकेत
स्यामुना र सोइसोइला : साकेलामा सिली नाच्दा गाइने गीतको भाका (गीत सम्बन्धि छुट्टै मिथक छ)
मोछामा : किरात चाम्लिङहरुको मूल पित्री
साम्खा : किरात चाम्लिङहरुको दायलुङ अर्थात अगेनामा बस्ने पित्री
तोरेम्पा : अकालमा ज्यान गुमाएका एक किरात चाम्लिङका सन्तानहरु
अर्पे :अरब गएर फर्केकाहरुलाई अर्बे अर्थात अर्पे भन्ने चलन छ, गाउँघरमा